नयाँ दिल्ली | मे १ देखि भारतले श्रमिक स्पेसल रेल सेवा सुरु गरे यता ६ लाख ८० हजार आप्रवासी मजदुरलाई उनीहरुको गन्तब्यमा पुर्याएको छ। अहिलेसम्म ४ सय ६३ वटा रेल गन्तव्यमा पुगिसक्दा १ सय १२ वटा भने यात्रु बोकेर गुडिरहेका छन्।
कोरोना भाइरसका कारण अलपत्र परेकाहरुलाई भारतले रेल मार्फत् उनीहरुको स्थायी ठेगानातिर पठाइरहेको छ। त्यसबाहेक भारतले अनलाइनबाट आंशिक रेल सेवा गरेको छ। मंगलवार आठ एयर कन्डिसनर रेलबाट ८ हजार १ सय २१ जनाले यात्रा गरेका छन्। यसरी यात्रा गर्नेहरु भारतको विभिन्न राज्यमा पुगेका छन्। नेपालसँग जोडिएका पश्चिम वंगाल र बिहारसम्म पनि यी रेलहरु जोडिएका छन्।
श्रमिक रेल बिहारमा चार लट आइसकेको छ। अरु आउनेक्रम जारी पनि छ।
भारतले अनलाइनबाट रेलको टिकेट खुला गरेको २४ घन्टामा १ लाख ६९ हजार ३९ यात्रुले टिकेट बुक गरेका छन्। रेलवेले सात दिनसम्मका लागि अनलाइन बुकिङ खुला गरेको थियो।
भारतका ठूला शहरहरुमा कोरोनाको संक्रमण अत्याधिक बढेपछि त्यहाँ रहेका आप्रवासी कामदारलाई उनीहरुकै ठाउँमा फिर्ता पठाउने अभियान जारी छ। यसरी फिर्ता पठाइनेहरुमा नेपाली पनि छन्।