कोरोना संक्रमणमुक्त भएका ६ जनालाई कोशी अस्पतालबाट डिस्चार्ज गरिदै
वीरगंज संजाल
२४ बैशाख २०७७, बुधबार ०६:४७
४३४९
वीरगन्ज | विराटनगरस्थित कोशी अस्पतालमा उपचारारत ३१ जनामध्ये ६ जना कोरोना संक्रमितको तेस्रो परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।मंगलबार गरिएको तेस्रो पटकको स्वाब परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि आजै डिस्चार्जको तयारी भएको छ ।प्रदेश एकको सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार आज विहान ८ बजे डिस्चार्ज गर्न लागिएका भारतीय नागरिकलाई विराटनगरको रानीस्थित एक मस्जिदमा बस्ने व्यवस्था मिलाइएको छ ।
भारतमा पनि कोरोना भाइरसको संक्रमणले लकडाउन गरिएकाले उनीहरुलाई विराटनगरस्थित रानीमा रहेको मस्जिदमा क्वारेन्टाइनमै बस्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।वैशाख ५ र ६ गते उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केको एक मस्जिद बसेका १२ जना भारतीयमध्ये ६ जनाको तेस्रो पटकको रिपोर्ट पनि नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो ।
मन्त्री घिमिरेका अनुसार डिस्चार्ज हुनेहरुमा ३४ वर्षीय मोहम्मद अजिरवान, ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २६ वर्षीय मोहम्मद राशिद र २१ वर्षीय मोहम्मद अहमद साहेव रहेका छन् ।