काठमाडौं |वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ७० फर्मलाई कारवाहि गरेको छ ।
चैत १ गतेदेखि यही वैशाख १८ गतेसम्म विभागले गरेको नियमित बजार अनुगमनका क्रममा मूल्य वृद्धि गर्ने, गुणस्तरहीन सामग्री उत्पादन एवं बिक्री वितरण गर्ने, मूल्यसूची नराख्ने लगायत फर्मलाई कारवाहि गरेको हो ।
कारबाही पर्नेमा २३ खाद्यान्न पसल रहेका छन् । त्यसैगरी नौ सर्जिकल हाउसबाट १७ लाख ४० हजार, २३ खाद्य पसल १४ लाख २५ हजार, पाँच औषधि पसलबाट पाँच लाख ५० हजार, ६ खाद्यान्न र ग्यास पसलबाट चार लाख ५५ हजार, पाँच ग्यास पसलबाट ५५ हजार, ६ मासु पसलबाट रु सात लाख, पाँच शृङ्गार पसलबाट चार लाख १५ हजार, दुई मार्टबाट सात लाख र अन्य पसलबाट ७० लाख ६५ हजार रुपैयाँ राजश्व संकलन गरिएको छ ।
विभागले डेढ महिना अवधिमा २४५ फर्मको अनुगमन गर्दा १०९ फर्म सामान्य अवस्थामा रहेको, ६० फर्मलाई सामान्य कैफियतमा तत्काल नै सुधार गराइएको तथा सुधार गर्न निर्देशन दिइएको, ७० फर्मलाई जरिबाना गरिएको, दुई फर्मबाट परीक्षणका लागि वस्तुको नमूना लिइएको र चार फर्मलाई आवश्यक कागजात वा स्पष्टीकरण पेश गर्न बोलाएको बताइएको छ।
विभागले लकडाउनका कारण खाद्य तथा सर्जिकल सामग्रीलाई बढी मूल्यमा बिक्री गर्ने गरेको जनाउँदै बजार अनुगमनलाई तीव्र बनाएको छ ।