राजविराज | सालाको कान काटेको आरोपमा पक्राउ परेका एक आरोपितलाई जचाउँदा कोरोना सङ्क्रमणको लक्षण देखिएको छ । थुनामा राख्नु अघि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा आरडिटी परीक्षण गराउँदा ४८ वर्षीय व्यक्तिको रिपोर्ट पोजिटिभ आएको अस्पतालका वरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन डा. रणजित झाले बताए ।
कदमको रुख काटने विषयमा विवाद हुँदा घरज्वाई बसेका आरोपितले डाकनेश्वरी नगरपालिका ४ भुतहीका ४० वर्षीय सोगबिर रामको कान छिनाएका हुन् । आमा सियावती रामको नाममा रहेको जमिनमा फलेको कदमको रुख आ-आफ्नो भागमा परेको दाबी गर्दै भिनाजु र सालाबीच विवाद चल्दै आएको छ । रुख काटन गएका भिनाजुलाई रोक्न खोज्दा धारिलो हतियारले प्रहार गरेर कान नै अलग पारी दिएको घाइतेले बताए ।
घाँटी छिनाउने गरी प्रहार गरेकोमा जोगिन खोज्दा धारले लागेर दायाँ कान छिनिएको घाइतेका दाजु रघुबीर रामले बताए । घाइतेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
सप्तरीको चनही मल्हनिया घर भएका आरोपित बेहेपछि ससुरालीमा घरज्वाई बस्दै आएका छन् । सासूआमाको मृत्यु पछि भिनाजु र सालाबीच जमिनका विषयमा विवाद छ । कान छिनाएको आरोपमा पक्राउ परेका आरोपितमा संक्रमणको लक्षण देखिएपछि उनलाई थुनामा नराखी राजविराजस्थित अस्पतालको आइसोलेसनमा राखिएको छ ।
उनको बुधबार पीसीआर विधिबाट परीक्षणका लागि स्वाब निकालेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउन लागिएको राजविराज अस्पतालले जनाएको छ । उनलाई पक्राउ गरी ल्याउने प्रहरीलाई होम क्वारेन्टाइनमा बस्न भनिएको छ ।