वीरगन्ज | पर्सा जिल्लामा अतिविपन्न परिवारको लागि सरकारले उपलब्ध गराएको राहत वितरणमा स्थानिय सरकारको मनोमानी भेटिएको छ ।
लकडाउनबाट प्रभावित विभिन्न गाउँपालिकामा राहत वितरण गर्दा जनप्रतिनिधिहरुले आफ्ना आफन्तलाई राहत वितरण गरेको र भोटरहरुलाई आफूतिर पार्न सम्पन्न व्यक्तिलाईसमेत राहत वितरण गरेको पाएपछि जनआक्रोश बढेको हो ।
पर्साको छिपहरमाई गाउँपालिकामा राहत वितरण गर्ने क्रममा जनप्रतिनिधि समूह र अतिविपन्न समूहबीच झडप भएको हो । गाउँपालिकाको वडा नं.३ झलमहियामा शुक्रबार राहत वितरण सम्बन्धी भएको झडपमा गाउँपालिकाका प्रहरीसहित २ जना घाईते भएका छन् ।
झडपमा प्रहरी बिनोद साह कानु र स्थानिय चन्द्रिका साह कानु घाइते भएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । घाइतेमध्ये चन्द्रिकाको टाउकोेमा र प्रहरी बिनोदको घाँटीमा चोट लागेको छ ।
घाइते प्रहरीको छिपहरमाई गाउँपालिकाको वडा नं.५ भिस्वामा र चन्द्रिकाको स्थानिय स्वास्थ्य चौकीमा उपचार पछि दुबै जना घर फर्केका छन् ।
झडपको क्रममा ढुंगामुढा हानाहान भएको थियो । स्थानियका अनुसार राहत वितरण गर्न सर्बदलिय समितिले २ सय २५ जनाको नामावली तयार पारेको थियो । तर वितरण गर्ने क्रममा १ सय २५ जनाको नमावली मात्र लिएर गाउँपालिकाको टोली राहत वितरण गर्न पुगेपछि ति परिवारले बिरोध गर्दा विवाद भएको थियो ।
गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ता पक्षधरसँग विवाद हुँदा झडप भएको थियो । योभन्दा पहिले छिपहरमाई गाउँपालिकाको वडा नं.४ बन्जारीमा बुधबार राहत वितरण गर्ने क्रममा पनि स्थानियहरुले विरोध प्रदर्शन गरेका थिए ।