बीरगन्ज | बीरगन्जमा अहिलेसम्म गरिएका सबै आरडिटीको नतिजा नेगेटिभ आएको छ । बीरगन्जमा भेटिएका तीन भारतीय संक्रमित बसेको बीरगन्जमा महानगरपालिका वडा नं. १ र २ स्थित छपकैयामा भएको सो आरडिटीको नतिजा सबै नेगेटिभ आएको हो ।
विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालय, जिल्ला जनस्वास्थ्य कार्यालयको टोलीले त्यस क्षेत्रमा आरडिटी टेस्ट गरिरहेको छ । हिजो र आज गरी ६०० जनाको टेस्ट गरिएकोमा सबै नतिजा नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत कामेश्वर चौरसियाले जानकारी दिए । हिजो २९० र आज ३१० आरडिटी भएको चौरसियाले जानकारी दिए ।
“टोलीले संत्रमितहरु गएका स्थानमा भेटेका व्यक्तिको पहिचान गरी आरडिटी गरिरहेका छौं” चौरसियाले भने । त्यस्तै, स्वास्थ्य टोलीले संक्रमित गएको बीरगन्जको वडा नं. २६ सुगौली पनि र्यापिड टेस्ट गर्ने चौरसियाले बताए ।
यसैबीच, जिल्लास्थित सिद्धार्थ मावि लगायतका क्वारेन्टाइनमा बसेर १४ दिन कटाएका व्यक्तिहरुलाई आरडिटीको नतिजा नेगेटिभ आए घर पठाइने भएको छ । “भारत लगायतका अन्य देशबाट जिल्ला भित्रिएका उनीहरुको आरडिटी टेस्ट गरिन्छ,” सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले भने “तर अनिवार्य रुपमा होम क्वारेन्टाइनमा बस्ने शर्तमा उनीहरुलाई आफन्तको जिम्मा लगाउने निर्णय भएको छ ।
”
यस्तै, कन्ट्याक्ट ट्रेसिङ्गको आधारमा भारतीय तीन संक्रमितको सम्पर्कमा आएको पुष्टि भएर क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुलाई भने पिसीआर टेस्ट पश्चात मात्र छोडिने भएको छ । “संक्रमितको सम्पर्कमा आएका व्यक्तिको हकमा भने पिसिआर टेस्टको नतिजा नेगेटिभ आएपछि मात्र होम क्वारेन्टाइनमा बस्ने शर्तमा उनीहरुलाई आफन्तको जिम्मा लगाउछौं” सप्रजिअ बस्नेतल भने “जमातीहरुलाई भने अहिले छोडिन्न ।