काठमाडौं । कोरोना भाइरस (कोभिड १९ )को भ्याक्सिन पत्ता नलागेसम्म विश्वभर भइरहेको ‘लकडाउन’ पूर्ण खुला गर्न नमिल्ने एक अध्ययनले जनाएको छ ।
चीनको महामारीलाई आधार मानेर गरिएको उक्त अध्ययनको नतिजा मेडिकल जर्नल द लान्सेटमा प्रकाशित छ । दैनिक जीवनमा चीनले गरेको कडाइकै कारण कोभिड–१९ को पहिलो लहर देशमा धेरै भूभागमा फैलन पाएन ।
तर अनुसन्धानकर्ताहरुले अपरिपक्व रुपमा ‘लकडाउन’ खुला गर्दा दोस्रो लहरको संक्रमण निम्तनसक्ने सम्भावना औंल्याएका छन् । अहिले विश्वभर फैलिएको कोरोनाको उद्गम मानिएको उहान शहरमा गत साता (अप्रिल)मा अधिकारीहरुले ७६ दिने लकडाउन खुला गरेका थिए ।
यद्यपि, रेल र पर्यटकीय क्षेत्रमा भीड जम्मा हुने जोखिम देखेका अधिकारीहरुले केही न केही रुपमा कडाई अझै कायम राख्नेछन् । ‘नियन्त्रणका नियमले संक्रमितको संख्यालाई धेरै तल्लो तहमा झारेका छन् । तर कोभिड–१९ विरुद्ध हर्ड इम्युनिटी (सामूहिक रोग प्रतिरोधी क्षमता) नभएको अहिलेको अवस्थामा संक्रमण फेरि बढ्न सक्छ ।
व्यापार, कारखाना सञ्चालन, विद्यालय फेरि खुल्दा र सामाजिक गतिविधि बढ्दा कोभिड–१९ को संक्रमण फेरि फैलनेछ र विशेषगरी विदेशबाट रोग आयात हुने जोखिम बढ्नेछ ।’
यस अनुसन्धानमा संलग्न लेखकमध्ये एक हङकङ विश्वविद्यालयका प्रोफेसर जोसेफ टी उले भनेका छन् । सरकारले कडाई विस्तारै खुकुलो गर्ने र संक्रमणलाई नजिकबाट निगरानी गर्ने कार्य नगरे संक्रमणको गति बढ्ने चेतावनी उनले दिएका छन् । -एजेन्सी