बिहीबार रातिबाट यस वर्षको उल्का वर्षा सक्रिय हुँदै
वीरगंज संजाल
४ बैशाख २०७७, बिहीबार २३:५९
८४११
बिरगंज | बिहीबार रातिबाट उल्का वर्षा सक्रिय हुने भएको छ । उल्का वर्षा आजबाट सक्रिय भए पनि यसको उत्कर्ष रूप भने वैशाख ९ र १० गते देख्न सकिनेछ ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बिहीबार रातिबाट उल्का वर्षा सक्रिय हुन लागेकाे जानकारी दिए । भट्टराईका अनुसार, याे यस वर्षको पहिलो उल्का वर्षा हाे ।
बिहीबार रातिबाट सुरु हुने वर्षको पहिलो उल्का वर्षा यही महिनाको १८ गतेसम्म सक्रिय रहनेछ । ९ र १० गते राति भने यसकाे उत्कर्ष रूप देख्न सकिने सोसाइटीको प्रक्षेपण छ ।
यसरी हुने उल्का वर्षा दृश्यावलोकन गर्ने गरिन्छ । सोसाइटीका अनुसार, दृश्यावलोकनका लागि भने ९ र १० गतेको राति ८ः३० बजेकाे समय उपयुक्त देखिएकाे छ ।
वैशाख १० पछि यस वर्षको पहिलो उल्का वर्षाकाे प्रभाव विस्तारै कम हुँदै जाने र १८ पछि यो पूर्णतः निष्क्रिय हुने सोसाइटीका अध्यक्ष भट्टराई बताउँछन् ।
के हो उल्का वर्षा ?
कहिलेकाहीँ राति आकाशमा तारा खसेको देखिन्छ । पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा पुच्छ्रेतारानजिक पुग्दा त्यसको कक्ष वरपर धुलोका कण र चट्टान ठोक्किएर जल्दछन् ।
खसोलविदहरूका अनुसार, १० पटकभन्दा बढी पटक हुने यस्ता घटनालाई उल्का वर्षा भनिन्छ । यसका विभिन्न रूप हुन्छन् । वर्षको पहिलोपटक हुने वर्षाको नाम भने वीणा हो ।