कसरी हुन्छ कोभिड १९ संक्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’ ?
वीरगंज संजाल
३ बैशाख २०७७, बुधबार १८:५१
३२९३
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर वासुदेव पाण्डेले कोभिड १९ संक्रमितको कन्ट्याक्ट ट्रेसिङका लागि ४ देखि ५ जनासम्मको टीम खटिने जानकारी दिएका छन् ।
बुधवार स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा बोल्दै डाक्टर पाण्डेले कन्ट्याक्ट ट्रेसिङ कसरी हुन्छ भन्ने विषयमा स्पष्ट पारेका हुन् ।
‘कन्ट्याक्ट ट्रेसिङ टीममा एकजना चिकित्सक, एकजना इपिडीमियोलोजिस्ट, ल्याब स्टाफ र पब्लिक हेल्थ एक्स्पर्ट हुन्छन्,’ उनले भने, ‘कुनै व्यक्तिमा संक्रमण पुष्टि हुनासाथ उक्त टीमले संक्रमित व्यक्तिबाट सबै जानकारी लिन्छ । त्यसपछि कहाँ कसरी परिचालित हुने हो, निर्णयअनुसार अघि बढ्छ ।’
संक्रमण भएको पुष्टि हुनासाथ बिरामीलाई तत्काल आइसोलेसनमा ल्याइने र त्यहींबाट कन्ट्याक्ट ट्रेसिङ शुरू हुने डाक्टर पाण्डेले बताए ।
‘संक्रमित व्यक्ति पत्ता लाग्नेबित्तिकै उसलाई आइसोलेसनमा ल्याइन्छ, अनि हाम्रो टीम परिचालन हुन्छ,’ उनले भने, ‘संक्रमित व्यक्तिले दिएको जानकारीका आधारमा टीम तत्काल परिचालन परिचालन हुन्छ ।’
उनले जहाजमा कोही संक्रमित आएको छ भने संक्रमित बसेको सीटको अगाडि र पछाडिको दुवै लाइनमा बसेका यात्रुलाई तत्काल कन्ट्याक्ट ट्रेसिङको दायरामा ल्याइने बताए ।
‘प्लेनको स्ट्याण्डर्ड अपरेटिभ प्रसिजर छ, अगाडीको २ वटा र पछाडिको २ वटा रो र बीचमा गरेर रहेका व्यक्तिलाई कन्ट्याक्ट ट्रेसिङको दायरामा ल्याइन्छ । त्यसपछि संक्रमित व्यक्ति एयरपोर्टबाट कसरी घर गयो भन्ने खोजिन्छ,’ उनले भने ।
उनले ट्याक्सीका घर वा होटेलमा गएको भए ट्याक्सीलाई पनि ट्रेसिङको दायरामा ल्याइने बताए । घर जाने क्रममा संक्रमित कहीं बसेको या कसैसँग भेटेको छ भने पनि उक्त व्यक्ति दायरामा आउँछ ।
‘संक्रमित व्यक्ति कसरी घर गयो, घरमा को कति व्यक्तिहरू छन्, कसरी सम्पर्कमा आए भनेर जाँच पड्तालको दायरा अघि बढाउँछौं,’ उनले भने, ‘त्यसपछि सबैलाई परीक्षणको दायरामा ल्याइन्छ ।’
डाक्टर पाण्डेले सनसिटी अपार्टमेन्टमा आएर बसेका २ जनामा कोभिड १९ पुष्टि हुनेबित्तिकै पाटन अस्पतालको आइसोलेसनमा लगेर राखिएको बताए । अस्पतालबाट नै उनीहरूका बारेमा आवश्यक जानकारी संकलन गरिएको र त्यही अनुसार टीमलाई परिचालन गरिएको उनको भनाइ थियो ।
‘उहाँहरूसँगै एकदम नजिकका व्यक्तिहरूको अथवा पारिवारिक सदस्यहरूको हामीले थ्रोट स्वाब संकलन गरेर परीक्षण गर्यौं भने त्यति धेरै सम्पर्कमा नआएका, तलमाथिको फ्लोरमा बसेकाहरूलाई हामीले द्रुत गतिमा परीक्षण गर्ने किट (आरडीटी)मार्फत परीक्षण गरिरहेका छौं,’ डाक्टर पाण्डेले भने ।
उनले प्रत्येक प्रदेशमा केस इन्भेस्टिगेसन टीम रहेको बताए । ‘प्रत्येक प्रदेशमा टीम छ,’ उनले भने, ‘आवश्यकता हेरी केन्द्रबाट पनि जान्छौं । धनगढीमा शुरूमा हामी गएर हेरेका थियौं । अहिले त्यहींको टीमले काम गरिरहेको छ । बीरगंजमा भने अहिले केन्द्रबाट गएको टीमले काम गरिरहेको छ । त्यहाँ अलि जटिल प्रकारको सोधखोज गर्नुपर्ने भएकाले केन्द्रबाट टीम पठाइएको हो ।’
डाक्टर पाण्डेले अहिलेसम्म पुष्टि भएको संक्रमणको १६ वटा केसमा यही विधिबाट कन्ट्याक्ट ट्रेसिङ गरिएको बताए ।
उनले महाशाखासँग ‘गो डाटा’ भन्ने सफ्टवेयर रहेको र त्यही सफ्टवेयरबाट एसएमएस पठाएर कन्ट्याक्ट ट्रेसिङ गरिएकालाई निरन्तर ट्रयाकिङ गरिने बताए ।
‘कन्ट्याक्ट ट्रेसिङको काम सकिएपछि हामीले गो डाटा भन्ने सफ्टवेयरमार्फत ट्रयाकिङ गर्छौं । उनीहरू क्वारेन्टाइनमा बसे नबसेको यकिन गर्छौं । आवश्यक परे स्थानीय प्रशासनको सहयोगमा उनीहरूलाई क्वारेन्टाइनमा राख्ने र रेगुलर ट्रयाकिङ गर्ने काम गर्छौं,’ उनले भने ।
त्यसपछि कन्ट्याक्ट ट्रेसिङ गरिएकाहरूको परीक्षण गर्न शुरू गरिन्छ । ‘कसैको पोजिटिभ आयो भने थप कन्ट्याक्ट ट्रेसिङको काम अघि बढाउनुपर्ने हुन्छ,’ डाक्टर पाण्डेले भने, ‘हाम्रो काम यसरी अघि बढ्छ ।’
उनले धनगढीमा पुष्टि भएको एक बिरामी बिरगंजमा चिया पकाएर बस्ने गरेको र घर जाँदा प्रयोग गरेको बस पत्ता लागेको त त्यसमा रहेका यात्रुहरू पत्ता लगाउन गाह्रो भएको बताए । ‘केही गाह्रो भएको छ, यस्तो अवस्थामा हामीले प्रशासन, स्थानीय निकायहरूको सहयोग लिएका छौ,’ उनले भने ।
डाक्टर पाण्डेले कन्ट्याक्ट ट्रेसिङका लागि अहिले १५ वटा टीम स्ट्याण्डबाइ रहेको खुलासा गरे ।
‘हामीसँग अहिले १५ वटा टीम स्ट्याण्डबाई छ,’ उनले भने, ‘विभिन्न संघ संस्थाहरूले पनि जनशक्ति सहयोग गर्छु भनेका छन् । हामीले ती सहयोग पनि लिइरहेका छौं ।’