बारा । बारा जिल्लामा रहेको नेपाल भारतको ६० कि.मी. सीमा क्षेत्रमा सशस्त्र प्रहरीले थप जनशक्तिसहित गस्ती एवं सुरक्षा निगरानी बढाएको छ ।
विभिन्न जिल्लाबाट थप २०० जना सशस्त्र प्रहरी बारा आएपछि सुरक्षा सशस्त्र प्रहरी बलले एक व्यक्तिले अर्को व्यक्ति देख्ने गरी दूरी कायम गरेर सीमामा थप कडाई गरिएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गणका गणपति दिगविजय सुवेदीले बताउनुभयो ।
नेपाली सशस्त्र प्रहरी बलसँगै भारतीय सीमा सुरक्षा बल एसएसबीसँगको सहकार्यमा हाल दुवै तर्फबाट हुने आवतजावत एवं अन्य आपराधिक गतिविधिहरु पूर्ण रुपमा नियन्त्रणमा रहेको सुवेदीले जानकारी दिनुभयो ।
विशेष गरी नेपाली भूभागमा मजदुरी गरी आफ्नो मुलुक फर्किन लागेका भारतीय कामदारहरु रातको समयमा लुकिछिपी खेतको बाटो भारत प्रवेश गर्ने क्रम बढेपछि सशस्त्रले सीमा क्षेत्रमा आई कन्ट्याक्ट हुने गरी २४ सै घण्टा सुरक्षाकर्मी तैनाथ गरेको हो । यसका साथै, सशस्त्र प्रहरीले साइकल, मोटरसाइकल र गाडीबाट समेत गस्ती गरिरहेको जनाएको छ ।
बस्ती र भूगोल हेरी सशस्त्रले १०० मीटर देखि ५०० मीटरसम्मको दूरीमा एक एक जना सशस्त्र प्रहरी खटाई सीमाबाट हुने आवतजावतमा पूर्ण प्रतिबन्ध लगाएको छ ।
यद्यपि नेपालमा कार्यरत भारतीय मजदुर तथा भारतमा कार्यरत नेपाली मजदुरहरु लुकिछिपी आआफ्नो देश प्रवेश गर्नेलाई नियन्त्रणमा लिई नजिकैको क्वारेन्टाइनमा पठाउने गरिएको समेत गणपति सुवेदीले बताउनुभयो ।
अहिलेसम्म बारा जम्मा १३० जना क्यारेन्टाइनमा रहेका छन् । जसमध्ये ११ जना महिला छन् भने बाँकी ११९ जना पुरुष रहेका छन् ।
जितपुरसिमरा उपमहानगरपालिकाले सञ्चालन गरेको अस्थायी अस्पतालको क्वारेन्टाइनमा रहेका दुई जनालाई उच्च ज्वरो देखिएपछि उनीहरुलाई आइसोलेशनमा सारिएको जिल्ला प्रशासन कार्यालय, बाराका प्रवक्ता ओम खड्काले जानकारी दिनुभयो ।
जिल्लामा प्रदेश सरकार मार्फत १०० थान र्यापिड टेस्टकिट उपलव्ध भएपनि हालसम्म दुई जना व्यक्तिमा मात्र परीक्षण गरिएको समेत प्रशासन कार्यालयले जनाएको छ ।