कोभिड-१९: भारतमा ३०० बढीको मृत्यु, करीब १० हजार संक्रमित
वीरगंज संजाल
२ बैशाख २०७७, मंगलवार ०६:२०
३८६५
काठमाडौं। कोभिड-१९ को संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या तीन सय नाघेको छ। भारतमा पछिल्लो एकै दिनमा ३५ जनाको मृत्यु भएपछि मृतकको संख्या ३०८ पुगेको समाचार द वायरले छापेको छ। संक्रमितको संख्या ९ हजार १५२ पुगेको छ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार संक्रमितमध्ये ७२ जना विदेशी नागरिक हुन भन् ८५६ जना उपचारपछि निको भएर घर फर्किएका छन्। जसमध्ये एक जना त विदेश गइसकेका छन्। ३० चैत रातिदेखि १ वैशाख दिउँसोसम्म ३५ जनाको मृत्यु भएको छ। महाराष्ट्रमा २२, दिल्लीमा पाँच, गुजरातमा तीन, पश्चिम बंगालमा दुई र तमिल नाडु, झारखण्ड र आन्द्र प्रदेशमा एक-एक जनाको मृत्यु भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार मृतकमध्ये सबैभन्दा बढी महाराष्ट्रका छन्। त्यहाँ १४९ जनाको मृत्यु भएको छ भने मध्ये प्रदेशमा ३६, गुजरातमा २५ र दिल्लीमा २४ जनाको मृत्यु भइसकेको छ। पन्जाव र तमिल नाडुमा ११-११ जनाको मृत्यु भएको छ। पश्चिम बंगाल र आन्द्र प्रदेशमा सात-सात, कर्नाटकमा ६, उत्तर प्रदेशमा पाँच, जम्मू कश्मीरमा चार, हरियाणा र राजस्थानमा तीन-तीन, केरला र झारखण्डमा दुई-दुई तथा विहार, हिमाञ्चल प्रदेश, ओडिसा तथा असममा एक-एक जनाको कोभिड-१९ को संक्रमणबाट मृत्यु भएको छ।
यो सबै तथ्यांक केन्द्रीय स्वास्थ्य मन्त्रालयको हो। विभिन्न राज्यले जारी गरेका तथ्यांक भने केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकसँग मेल खाँदैनन्। सबै राज्यहरूले जारी गरेका तथ्यांक एकै ठाउँमा राख्दा ३२७ जनाको मृत्यु भएको देखिन्छ।
विश्वभर अहिलेसम्म एक लाख १४ हजार २५१ जनाको मृत्यु भएको छ।