नववर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना ! आजको दिनबाट हामी एउटा फरक वर्षमा प्रवेश गर्दैछौं र यो नव वर्ष अन्य नव वर्षहरु भन्दा फरक अवश्य छ। यसपाली नव वर्षमा हामी एक अर्कासँग अङ्कमाल गरेर हैन, सामाजिक दूरी कायम राख्दै एक अर्कालाई शुभकामना व्यक्त गर्दैछौं। यो नव वर्षको उत्साहलाई हामी घुमफिर गरेर हैन, घरकै आँगनसम्म सिमित राख्दैछौं। विश्वभर फैलिएको कोरोना महामारीको रोकथामको निमित्त सरकारले गरेको लकडाउनको ससम्मान पालना गर्दै सम्पूर्ण नेपाली मनहरु घरमै सतर्क अनि सुरक्षित बसेर यो नयाँ वर्षमा एउटा नयाँ उदाहरण बन्ने छौं। हाम्रो समाजमा एउटा भनाइ निक्कै चर्चित छ “नयाँ वर्षको दिन जे गरिन्छ, वर्षभरी त्यहि चलीरहन्छ” । यस अर्थमा हामीले बुझ्न सक्छौं आजको दिन सुरक्षित भएर आआफ्नै घरमा बसे सायद हामी वर्षभरी नै यो महामारीबाट सुरक्षित रहनेछौं।
आउनुहोस् नेपालीहरुको नव वर्षको यो दिनमा सम्पूर्ण नेपाली मनहरुलाई मात्र नभई विश्वभर कै मानव जातीको सुस्वास्थ्यको कामना गरौं। हामीले कोरोना विरुद्ध यो लडाई छिट्टै जित्नेछौ। यो नेपाली नव वर्ष विश्वको लागि नै सुरक्षित अनि स्वस्थ्य साबित होस्। नववर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना! हर पाइलाले सफलता चुमी रहोस् । हरेक बर्ष पुरानो क्यालेन्डर च्यातेर नयाँ पाना पल्टाँउदा नयाँ पानाहरु संगै नयाँ अवसर र आशाहरु पनि देखा पर्दछन् । यी बर्षहरु भनेका किताबका नयाँ अध्यायहरु झैं हुन् जसको आँउदा अध्यायहरु पनि पढ्न अनि पल्टाउन बाँकी उत्साहजनक पानाहरु जस्ता हुन् । लेखिन बाँकी कापीका सादा पानाहरु जस्ता जहाँ दिनहरुले अनि महिनाहरुले बाँच्दै जाँदा अनि हाँस्दै रुदै जाँदा अनुभवका अक्षरहरु भर्दै जान्छन् ।
अर्कोतर्फ गत वर्ष मा हामीले मारेको फन्को पनि उत्तिकै उल्लेख्य छ । गएका वर्षहरुका राम्रा नराम्रा अनुभव, याद अनि कदमहरु संगाल्दै स्वागत छ वर्षको यो नयाँ सस्करणमा । शुभकामनाका खातहरु अनि शुभेच्छाका मालाहरु चढाउन चाहन्छ हाम्रो पात्रो, नव बर्ष २०७७ को । सिरुवाको शुभकामना ! जुटशितलको शुभकामना !! बैशाखीको शुभकामना !!! विद्यालय जीवनमा फिल्मी हिरो अनि हिरोईनका तस्विरमा लेखिएका शायरी तथा शुभकामना सन्देश प्रेषण गरिने कार्डहरु देखि हिजोआज फेसबुक अनि ट्वीटरका भित्ताहरुमा लेखिने शुभेच्छा सम्म, नयाँ वर्षमा आमाले पकाउनुभएको सेलरोटी र काक्राको अचार विविध परीकारहरु देखि , विदेश अनि खाडीका मरुभूमीमा घर फर्कन क्यालेण्डरमा रातो धर्का कोर्दै बस्नुभएका औंलाहरुसम्म यो नयाँ वर्षको उत्साह अनि उत्सर्गको कमी नरहोस्… तराईको न्यानो रापले हिमाल गलेर बनेको कञ्चन पानी जनजनमा मिठो मुस्कान बनेर शितलता प्रदान गरोस्, सामाजिक अनि नवयूगको फरक चेतले उर्जावान बनेर अब देश माया, प्रेम, सद्भाव, समभाव अनि विश्वासले अघि बढोस्, स्वागत छ यो नयाँ वर्षलाई ।
जे भयो भयो, नराम्रोले सिकाएर गयो, जे भयो राम्रो त्यसले सजाएर गयो कि कसो ? अबको वर्ष शुभ हुन्छ, सही हुन्छ अनि स्वस्थ्य र कल्याण्कारी हुन्छ, हाम्रो विश्वाश छ है । आराध्यदेव, राष्ट्रदेव महादेव झै समय पनि शून्य अनि निराकार, अन्त्यहिन अनि बलवान पनि । समयलाई रोक्न, नियन्त्रण गर्न मानिसको वसको कुरो हैन, तथापि मानिसले झिनो साहस गरीरहन्छन् समयलाई आफ्नो प्रकारले गणना गरिरहने । हात या भित्तामा भएको घडी अनि क्यालेण्डरहरुले यस्ता समयको मापन गर्ने गर्दछन्, दिन, घडी, पला, नक्षत्र, पक्ष, मास अनि वर्षहरु फेरिरहन्छन्, सँगै फेरिन्छन् मानिसहरूका पेरिफेरिहरु ।
फूलेका आँप, लिच्ची, दाना बसेका नासपातीका हाँगाहरु, लहलहाँउदा गहुँका बालाहरुसंगै बसन्त आगमनको सूचक स्वरूप कुहु-कुहु गरेका सुन्दर काली कोइलीका सुमधूर गीतले पनि सबैलाई नव वर्षको शुभकामना सन्देश प्रवाह गरेझै लाग्छ । गत वर्षको तिता-मिठा यादहररूलाई याद मात्रै बनाउँदै भित्ताका क्यालेण्डरहरु पुराना भए, हात-हातमा भएका मोबाइलले डिजिटल क्यालेण्डरका रूपमा अपडेटेड ‘हाम्रो पात्रो’ यहाँहरूकालागि बि.सं. २०७७ का विशेष पारम्परीक चाडवाड, वैदिक कर्मकाण्डि, सामाजिक, राजनीतिक तथा सरकारी सम्पूर्ण आधिकारीक जानकारीका साथ उपलब्ध छ । यहाँहरूले एप्लिकेशनका लागि देखाउनुभएको हाैसलापूर्ण संलग्नता र सल्लाह सुझावले हामी हाम्रा तमाम प्रयोगकर्ताहरूप्रति कृतज्ञ छाैं । बि.सं. २०७७ ले गज्जबसँग सम्पूर्ण नेपालीजनका असल सोंचहरूलाई सफलताका सगरसम्म डोर्याओस्, फलोस फुलोस अनि फक्रिओस् ।
संसारभरिका मान्छेहरुले विभिन्न प्रकारका आ-आफ्नै सम्बतहरु चलनमा ल्याएका छन् तर बिक्रम सम्वतलाई भने एउटा पुरानो अनि एतिहासिक सम्वतकारुपमा विशेषतः पूर्वीय दर्शन अनि पाैराणीक वैदिक सनातन संस्कारमा ब्याख्या गरिएको छ । बिक्रम सम्वत् अङ्ग्रेजी सम्वत् अर्थात् AD भन्दा ५६ दशमलव ७ वर्षले अगाडी छ । यसबाटै प्रमाणित हुन्छ यसको महत्व अनि मानव सभ्यतामा वैदिक सनातन हिन्दू धर्मको प्रभाव र उमेर । बिक्रम सम्बत् समग्र तिथी मितीहरु पृथ्वी र चन्द्रबिचको कोण अनि अवस्थितीमा फरक पर्दछन्, शायद त्यसैले पनि यसलाई चन्द्रमास भनिएको हुनपर्दछ ।