वीरगन्ज | बारा प्रहरीले विभिन्न स्थानमा रहेको कोल्ड स्टोर र राइस मिलमा शनिबार शिलबन्दी गरेको छ ।
प्रहरीले कलैया उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको यादव कोल्ड स्टोर र जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १७ जैतापुरमा रहेको प्रदिप राईस मिलमा प्रहरीले अनुगमन तथा छापामारी गरेर शिलबन्दी गरेको हो ।
लकडाउनले प्रभावित अतिविपन्न परिवारलाई राहत वितरणको लागि वडाअध्यक्षले शुक्रबार कलैया उपमहानगरपालिका वडा नं. २० बसतपुरमा वितरण गरेको राहत गुणस्तहीन भेटिएको थियो ।
वितरण गरिएको राहतको दालमा किरा लागेको तथा सडेको र खान योग्य नरहेको भेटिएको थियो । गुणस्तरहिन खाद्यन्न भेटेपछि स्थानियले तत्काल जिल्ला प्रशासन कार्यालयमा खबर गरेका थिए । स्थानिय प्रशासनले तत्कालै वितरण गर्न राखिएको राहत सामाग्री आफनो नियन्त्रणमा लिएको थियो ।
बसतपुरमा लकडाउनले समस्यामा परेकालाई उपमहानगरपालिकाले वितरण गर्न लगेको २५ बोरा दाल नियन्त्रणमा लिएर वडाध्यक्ष महम्मद इमामुदिन ठकुराइसँग सोधपुछ गर्दा वडा अध्यक्ष ठकुराइले यादव कोल्ड स्टोरबाट दाल खरिद गरेको बताएका थिए ।
जिल्ला प्रशासन कार्यालय बाराबाट खटेको प्रहरी टोलीले बसतपुर स्थित राहत वितरण गरिएको स्थलबाट वितरण गर्न राखिएको २५ केजिको दरले २५ बोरा रहरको दाल नियन्त्रणमा लिई प्रहरी चौकी बसतपुरको जिम्मामा लगाईएको थियो । र त्यसबाट परिक्षणको लागि नमुना समेत संकलन गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालयको आदेशमा शनिबार प्रहरी टोलीले राहत वितरण गर्नको लागि दाल खरीद गरिएको यादव कोल्ड स्टोर र प्रदीप राईस मिलमा अनुगमन तथा खानतलासी गरी यादव कोल्डबाट प्रति बोरा २५ किलोको दरले ३८० बोरा रहरदाल र राईस मिलबाट प्रति बोरा ३० किलोको दरले ३२ बोरा चालम नियन्त्रणमा लिई शिलबन्दी गरिएको बाराका प्रहरी प्रवक्ता गौत्तम मिश्राले बताए ।
कोल्ड स्टोर र राईल मिलमा दाल र चालम फेला परेकोले रितपूर्वक मुचुल्का गरी परिक्षणको लागि नमुना समेत लिई रोक्का राखि शिलबन्दी गरिएको उनले बताए । संकलन गरिएको दाल तथा चामलका नमुना परीक्षणका लागी नेपाल खाद्य तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा पठाइएको जानकारी दिँदै उनले भने, ‘प्रयोगशालाबाट रिपोर्ट आएपछि त्यसकै आधारमा खाद्य ऐन २०२३ बमोजिम प्रचलित कानुन बमोजिक कारवाहीको प्रकृया अगाडी बढाउँछौ ।
कलैया उपमहानगरपालिका वडा नम्बर २२ मा करिब ६१५ जना परिवारलाई राहत खाद्य सामाग्रीहरु मध्ये वितरण गरिएको ५० परिवारको चामलको नमुना हेर्दा केही पुरानो एवं गन्हाएको देखेपछि तत्काल राहत वितरण राखिएको थियो । राहत वितरणको लागि प्रदीप राईस मिलबाट नै चामल खरीद गरिएको थियो ।
प्रहरीले शनिबार छापा मारेको यादव कोल्ड स्टोर रविन्द्रप्रसाद यादवको नाममा दर्ता छ । कोल्ड स्टोरका संचालक यादवले कोल्ड स्टोरमा रहेको दाल वीरगन्जको धनलक्ष्मी दाल मिलका संचालक तेजकरण शर्माले कोल्ड स्टोर भाडामा लिएर ताज महल ब्रान्डको अरवा दाल कोल्ड स्टोरमा राखेर बिक्री गर्दै आएको बताए ।