दिल्ली । भारतमा थप दुई साता लकडाउन बढाउने विषयमा छलफल भइरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार मुख्यमन्त्रीहरुसँग गरेको भिडियो कन्फरेन्समार्फत दुई साता लकडाउन बढाउने विषयमा छलफल भएको हो ।
कोरोना संक्रमणको दर तीव्ररुपमा वृद्धि भइरहेको भन्दै थप दुई साता लकडाउन बढाउन मुख्यमन्त्रीहरुले प्रधानमन्त्री मोदीलाई आग्रह गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मुख्यमन्त्रीहरुले दुई साता लकडाउन बढाउन गरेको आग्रहप्रति केन्द्र सरकार सकारात्मक भएको भारतको प्रेस इन्फरमेसन ब्युरोका महानिर्देशक केएस डाटवालियाले बताएका छन् ।
पञ्जाब र ओडिशा र महाराष्ट्रले भने ३० अप्रिलसम्म लकडाउन बढाउने घोषणा गरेका छन् । दिल्लीका मुख्यमन्त्री अरिबन्द केजरिवालले प्रधानमन्त्री मोदीले ३० अप्रिलसम्म देशभर लकडाउन गर्नुपर्ने सुझाव दिएका छन् । भारतमा २१ दिनको लकडाउन घोषणा गरेका थिए । जुन १४ अप्रिलमा अन्त्य हुँदैछ ।
भारतमा हालसम्म ७ हजार ४४७ जनामा कोरोना संक्रमण देखिएको छ भने २३९ जनाको ज्यान गइसकेको छ ।