नारायणी अस्पतालबाट तीन जनाको स्वाब पुनः परीक्षणका लागि काठमाडौंमा पठाइयो
वीरगंज संजाल
२९ चैत्र २०७६, शनिबार १७:०१
४७९१
वीरगन्ज | वीरगन्जको नारायणी अस्पतालको आइसोलेसनमा राखिएका तीन भारतीयको स्वाब पुनः परीक्षणका लागि काठमाडौं पठाइएको छ ।
नारायणी अस्पतालको आकस्मिक कक्षमा गत बिहीबार आएका २४ जनामा कोरोनासँग मिल्दोजुल्दो लक्ष्ण देखिएपछि अस्पतालले उनीहरुको स्वाब संकलन गरेर हेटौडास्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा पठाएको थियो ।
हेटौडामा पठाइएका मध्ये तीन जनाको रिपोर्ट शंकास्पद देखिएपछि प्रहरीले तीनजनालाई शुक्रबार साँझ नियन्त्रणमा लिएर नारायणी अस्पतालको आइसोलेसनमा राखेको छ । उनीहरु तीनैजना मुस्लिम धर्मका प्रचारक धार्मिक गुरु हुन् ।
भारत उत्तर प्रदेश घर भएका उनीहरु करिब १० दिनदखि वीरगन्ज २ छपकैयाको मस्जिदमा बस्दै आएका थिए । प्रहरीले उनीहरुलाई मस्जिदबाटै नियन्त्रणमा लिएर आइसोलेसनमा राखेको हो ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले आइसोलेसनमा राखिएका तीन जनाको पुनः परीक्षण रिपोर्ट शनिबार दिउँसोसम्ममा आइपुग्ने जानकारी दिए।
बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले तीनजनाको स्वाब पुनः परिक्षणको लागि काठमाडौंस्थित टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको जनाएको छ।
अस्पतालका एक चिकित्सकले भने हेटौंडाको प्रयोगशालाबाट तीनैजना भारतीयको स्वाबको पहिलो परीक्षणको रिपोर्ट पोजेटिभ आएको बताएका छन् ।रासस