बारा | बाराको कलैया उपमहानगरपालिकाले राहत भन्दै वितरण गरेको चामल कुहिएको भेटिएको छ । जिरा मसिनो चामल लेखिएको नयाँ बोराभित्र कुहिएको चामल भेटिएको राहत लिएर फर्किएका एक स्थानीयले बताए ।
सो उपमहानगरपालिकाको वडा नं. २२ ले राहत भन्दै गत २४ गते वितरण गरेको चामल कुहिएको भेटिएको हो । राहत लिन वडा कार्यालय पुगेका सबैले राहतको चामल कुहिएको पाएको स्थानीयको भनाई छ ।
वडाको मटेरिया, धोदाटोल र मधीलुवा गाउँका प्रभावित ६ सय १५ परिवारलाई प्रतिपरिवार १५ किलो चामलसहितको राहत वडाले वितरण गरेको थियो ।
यसैबीच, चामल कुहिएको पाएपछि हिजो गुनासो लिएर पुग्दा वडाअध्यक्षले गाली गर्दै उल्टै प्रहरी लगाएर लखेटिएको गुनासो स्थानीयले गरेका छन् । त्यस्तै, चामलबारे प्रश्न गर्दा वडाअध्यक्ष पक्षधरका मानिसहरुले नै आक्रमण गर्न थालेको स्थानीय गुनासो छ ।
यता, वडाअध्यक्ष लालबाबु यादवले राहत वितरण गरिएको चामलका केही पोका कम गुणस्तरको पाइएको स्वीकार गरे । उनले विपक्षी केही व्यक्तिहरुले केही स्थानीयलाई उचालेको बताए ।