काठमाडौं । आइतबार बिहान पूर्वी नाका काँकभिट्टामा उपत्यकाका दुई युवा देखा परे । बा६च ७०१९ नम्बरको कारमा सवार उनीहरु आफूलाई चिकित्सकका रुपमा परिचित गराउँथे । काँकभिट्टामा स्वास्थ्य शिविरका लागि आएको उनीहरुले वयान दिएका थिए ।
इलाका प्रहरी कार्यालय, काँकरभिट्टाका अधिकृतहरुका अनुसार झट्ट हेर्दा उनीहरुको हुलिया स्वास्थ्यकर्मीजस्तो भने थिएन । परिचयपत्र पनि खुइलिसकेको थियो ।
काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजेन्द्र पोखरेललाई पनि उनीहरुमाथि शंका लाग्यो ।
‘नभन्दै स्वास्थ्यसम्बन्धी कार्यक्रमबारे विस्तृतमा सोधपुछ गर्न थालेपछि उहाँहरुको कुरा अमिल्दो देखियो’, पोखरेलले अनलाइनखबरसँग भने, ‘वास्तविकता खोतल्न अर्का एकजना चिकित्सक नै बोलाउनुपर्यो ।’
डीएसपी पोखरेलका अनुसार स्थानीय चिकित्सकले आएर मेडिकल काउन्सिलले दिने नम्बर सोधे ।
तर, ललितपुरका ३३ वर्षीय दिलकुमार श्रेष्ठ र काठमाडौंका २८ वर्षीय गणेश अधिकारीले आफ्नो नम्बर बताउन सकेनन् । काउन्सिलको नम्बरलाई वेवसाइटमा राख्दा डाक्टरहरुको पूर्ण विवरण हेर्न सकिन्छ ।
त्यही नम्बर नदिएपछि उनीहरुको झुठ छिप्न सकेन । दुवैले गल्ती स्वीकार गरे ।
‘अन्ततः अनुसन्धानका क्रममा दुवैजना चिकित्सक नभएर लागूऔषध दुर्व्यसनी भएको खुल्यो, अनुसन्धानमा संलग्न अधिकृतहरु भन्छन्, ‘गाडीबाट एक लाख २५ हजार रुपैयाँ पनि बरामद भएको छ ।
काठमाडौंमा लागूऔषध नपाइएपछि सीमामा केही उपाय हुन सक्छ कि भनेर उनीहरु आएको जस्तो देखिएको छ ।’ प्रहरीले अहिले दुवैलाई मेचीनगरको क्वारेन्टाइनमा राखेको छ ।
भारतसँगको सीमा क्षेत्रका गाउँमा अहिले स्थानीय बाहेकका मानिसहरुको केही चहल-पहलदेखि पनि तर, सुरक्षा सक्रियताका कारण उनीहरु खुलारुपमा हिँड्न नसकेको प्रहरीको भनाइ छ ।
काँकरभिट्टाका एकजना स्थानीयले भने, ‘पारि जाने ठाउँमा बाक्लो रुपमा प्रहरी बसेपछि उनीहरु समस्यामा छन् ।’
लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरका निमित्त प्रमुख वसन्त लामाका अनुसार लागूऔषध एउटा आदत हो, जसलाई जस्तोसुकै अवस्थामा पनि दुर्व्यसनीले प्रयोग गर्न चाहन्छन् । ‘त्यसैले लकडाउन भए पनि दुर्व्यसनीहरु चलमलाउन खाजेका छन्’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लामाले अनलाइनखरसँग भने, ‘तर, छिमेकी मुलुकमा पनि लकडाउन भएकाले अहिलेको अवस्थामा लागूऔषधको आपूर्ति असम्भव प्रायःजस्तै छ ।’
त्यति हुँदाहुँदै पहिले स्टक राखिएका सामग्रीको किनबेच हुन सक्नेतर्फ ब्युरो सचेत रहेको लामाले बताए ।
लकडाउनको मौका छोपेर हत्या, घाटमै पुग्यो प्रहरी
लकडाउनका कारण पर्साको बहुदरमाई नगरपालिका-८, रामनगरीमा रहेको उर्मिलादेवी पण्डितको परिवार घरमै थियो । मुलुक पूरै ठप्प भएका बेला शुक्रबार राति अन्तिम श्वास फेर्नुपर्ला भन्ने कुरा उर्मिलाको कल्पना बाहिर थियो ।
तर, छरछिमेक पनि घरमै बन्द भएका बेला ६० वर्षीय सुसरा सुरेश पण्डित, ५५ वर्षीय सासू फूलकुमारी देवी र ५५ वर्षीया देउरानी माल्बी देवीले २५ वर्षीया उर्मिलाको हत्या गरेको भेटिएको पर्सा प्रहरी प्रमुख गंगा पन्त बताउँछिन् ।
यो पनि पढ्नुहोसपर्सामा जलाउँदै गरेको शव नियन्त्रणमा, हत्या आशंकामा सासूससुरा पक्राउ
प्रहरीका अनुसार लकडाउनकै मौका छोपेर परिवारले शनिबार उनको शव जलाएर प्रमाण नष्ट गर्ने प्रयास गरेको थियो । तर, प्रहरीले शव पूर्ण जल्न नपाउँदै घाटमा घेरा हाल्यो र नियन्त्रणमा लियो ।
प्रारम्भमा परिवारले उर्मिलादेवीले आत्महत्या गरेको दाबी गरे पनि त्यो अवस्थामा कानूनतः प्रहरीलाई जानकारी नगरी शव जलाउनु नै कानून विपरीत थियो ।
‘अनुसन्धानका क्रममा उनीहरुले छोरा विदेशमा भएका बेला अर्कैसँग लागेको भन्दै घटना गराएको पाइएको छ’, प्रहरी उपरीक्षक (एसपी) पन्तले अनलाइनखबरसँग भनिन्, ‘कर्तव्य ज्यानसम्बन्धी कसूरमा म्याद लिएर विस्तृत अनुसन्धान गरिरहेका छौं ।’
‘ठूला माछा’ समातिए !
कोरोना भाइरसको महामारी रोकथामका लागि आवश्यक थर्मल गन (थर्ममिटर) कालोबजारी गरेको आरोपमा मंगलबार दिउँसो व्यवसायी सुलभ अग्रवाल पक्राउ परे । शंकर ग्रुपका मालिक अर्बपति अग्रवालले ३ हजारदेखि ५ हजार रुपैयाँसम्म पर्ने थर्ममिटर १५ हजार रुपैयाँमा बिक्री गर्न खोजेका थिए ।
महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रमुख सहकुलबहादुर थापाका अनुसार विशेष सूचनाका आधारमा चलाइएको कोभर्ट अपरेशनका क्रममा अग्रवाल पक्राउ परेका हुन् । उनका साथबाट ३८ वटा थर्मल गन बरामद भएको छ ।
अग्रवाल नेपालका लागि कीर्गिस्तानका अवैतानिक वाणिज्य दूत पनि थिए । उनले कूटनीतिक नियोगलाई दिइने नीलो नम्बर प्लेटको गाडीको आवरणमा कालोबजारी गरेको प्रहरी अधिकृतहरुको दाबी छ ।
यसअघि मेडिकल मास्क र स्यानिटाइजर कालोबजारी गर्नेविरुद्ध पनि प्रहरीले यस्तै प्रकृतिको अपरेशन चलाएको थियो ।
कतै चोरी, कतै महिला हिंसाका उजुरी
लकडाउनका बेला उपत्यकामा चोरीका घटना पनि देखिएका छन् । दुई दिनअघि बसुन्धारा चोकबाट दुई सय मिटरभित्र घरको साँचो फुटाएर एक लाख रुपैयाँ चोरी भयो ।
घरमा कोही नभएका बेला चोरी भएको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटी बताउँछन् । उनका अनुसार घर छाडेर अन्यत्र गएका बेला यो घटना भएको हो ।
महानगरीय प्रहरी वृत्त, कालिमाटीका प्रमुख डीएसपी रुँगम कुँवरका अनुसार उनको क्षेत्रमा पनि लकडाउनका बेला एउटा चोरीको घटना देखिएको छ । जसको अनुसन्धान जारी छ ।
लकडाउनको अवधिमा महिला तथा बालबालिका सेल, कालिमाटीमा पनि थुप्रै मौखिक उजुरी दर्ता भएका छन् । लकडाउनको अवधि बढ्दै जाँदा घरभित्र हुने हिंसा बढ्दै गएको हुन सक्ने सेलकी एक कर्मचारी बताउँछिन् ।
‘यो अवधिमा लिखित उजुरी त आएको छैन । तर, दर्जन बढी मौखिक उजुरी आएका छन्’, उनले भनिन्, ‘लकडाउनका कारण पनि धेरैजनालाई उजुरी दिन अप्ठ्यारो भएको छ ।’
महिला हिंसा भइरहे पनि प्रहरीमा उजुरी गर्ने क्रम एकदमै न्यून हुने भएकाले पनि तथ्यांकमा धेरै नदेखिने उनले बताइन् ।
‘शिक्षित परिवारको हिंसा बाहिर आइहाल्छ । धेरै समस्या हुने भनेको अशिक्षित वर्गमा हो’, उनले थपिन्, ‘जुन वर्ग धेरै पीडित हुने अवस्थामा छ, त्यही वर्गचाहिँ प्रहरीमा आउन चाहँदैन ।’
काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदी भने कुनै पनि किसिमको हिंसामा परेको भए, प्रहरी कन्ट्रोल १०० मा तुरुन्त फोन गर्न सुझाउँछन् ।
‘अथवा, नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्नुस्, प्रहरी तुरुन्त तपाईँको घरमै आइपुग्छ’, वरिष्ठ उपरीक्षक (एसएसपी) सुवेदीले अनलाइनखबरसँग भने ।
लकडाउन बढ्दै जाँदा एउटा विन्दुमा पुगेर नागरिकमा भोक वा रोगमध्ये एउटा छान्नुपर्ने अवस्था आउन सक्छ । त्यसपछि नै अपराधिक क्रियाकलाप बढेर जान्छ – देवेन्द्र सुवेदी, अवकाश प्राप्त अतिरिक्त महानिरीक्षक
जघन्य अपराध घट्यो, साइबर अपराध बढ्यो
महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका अनुसार लकडाउनको १३ औं दिनसम्ममा उपत्यकामा सबैभन्दा बढी साइबर अपराधसम्बन्धी उजुरी दर्ता भएका छन् । काठमाडौंमा मात्रै तीनवटा घटना विद्युतीय अपराधका दर्ता भएका छन् ।
केन्द्रीय साइबर ब्युरोका सह-निर्देशक नविन्द्र अर्यालका अनुसार साइबर ब्युरोमा ३७ वटा उजुरी प्राप्त भएका छन् । उनका अनुसार अधिकांश निवेदन सामाजिक सञ्जालका प्रोफाइल ब्लक र फेक आईडी बनाइएका विषयमा छन् ।
‘लकडाउनको समयमा अधिकांश मानिस घरमै बसेर कम्प्युटर र इन्टरनेटमा व्यस्त हुने भएकाले विद्युतीय अपराध बढी देखिएका छन्’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अर्यालले अनलाइनखबरसँग भने, ‘हामीले थुप्रै घटनामा फेसबुक कार्यालयलाई अनुसन्धानमा सहयोग गरिदिन पत्राचार पनि गरेका छौं । तर, कोरोनाका कारण जवाफ आइसकेका छैनन् ।’
यद्यपि, ब्युरो तहबाट हुन सक्ने घटनामा आश्वयक विश्लेषण र अनुसन्धान भइरहेको आर्यालले बताए ।
महानगरीय प्रहरी प्रमुख विश्वराज पोखरेलका अनुसार चैत २४ गतेसम्मको अवधिमा उपत्यकाभर विभिन्न कसूरमा ७८ वटा शीर्षकमा मुद्दा दर्ता भएका छन् ।
जब कि, २०७५ सालको चैत पहिलो सातामात्रै काठमाडौं, भक्तपुर र ललितपुरमा विभिन्न कसूरमा २९६ वटा मुद्दा दर्ता गरिएका थिए ।
लकडाउन अवधिमा सबैभन्दा बढी ४० वटा भवितव्य ज्यानका मुद्दा दर्ता भएका छन् । चोरीसम्बन्धी कसूरमा एउटा मात्र मुद्दा दर्ता भएको देखिए पनि १० भन्दा बढी घटना सार्वजनिक भएका छन् ।
यो अवधिमा जबरजस्तीकरण सम्बन्धी कसूरमा पनि तीन वटा मुद्दा दर्ता भएको देखिएको छ ।
लागूऔषधसम्बन्धी कसूरमा पनि उपत्यकामा केही मुद्दा दर्ता भएका छन् । मुलुकको विवरण जम्मा हुने प्रहरी प्रधान कार्यालयले भने अहिलेसम्म लकडाउनको अवधिमा भएको अपराधको तथ्यांक जम्मा गरेको छैन ।
केन्द्रीय प्रवक्तासमेत रहेका प्रहरी महानिरीक्षकको सचिवालयका वरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशी तथ्यांक तयार भइनसके पनि समग्रमा मुलुकभर मानिसको ‘मुभमेन्ट’ घटेकाले अपराध पनि नगन्य मात्र रहेको बताउँछन् ।
यो पनि पढ्नुहोससमाजमा बढ्दै छ अपराधिक मनोवृत्ति
महामारीमा अन्तर्राष्ट्रिय ट्रेण्ड र नेपालका चुनौती
कोरोना भाइरसको महामारी फैलिएका २११ वटै मुलुकमा विभिन्न अपराधहरु देखिए पनि अभियुक्त पक्राउको संख्या भने घटेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् । टाइम म्यागेजिनको अनलाइन संस्करणका अनुसार अमेरिकामा महामारी फैलिँदै जाँदा चोरी र लुटपाटका घटना बढेका छन् ।
क्लिनिकहरुबाट सर्जिकल मास्कसहितका स्वास्थ्य सामग्री चोरी भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हालसम्म लकडाउन नगर्ने पक्षमा छन् । यस्तो अवस्थामा अमेरिकामा गाडी चोरीका घटना पनि विभिन्न राज्यमा देखिएका छन् ।
अमेरिकामा चिनियाँ नागरिक कुटिएका विवरणहरु पनि बाहिर आएका छन् । विभिन्न मुलुकमा ठगीका घटना पनि बढेका छन् ।
अमेरिकासहित अन्य कोरोना प्रभावित मुलुकमा पनि गम्भीर प्रकृतिका अपराधहरु भइरहेका विवरण सार्वजनिक भएका छन् । केही मुलुकमा सर्वसाधारणले कसैलाई ज्वरो आएको थाहा पाउनेवित्तिकै दुर्व्यहार गर्ने गरेको भेटिएको छ ।
कतिपय मुलुकमा आफूलाई रीस उठेको व्यक्तिको छेऊमा गएर खोक्नेसहित अन्य प्रकारका दुर्व्यहार गर्ने गरिएका पनि पाइएका छन् ।
लामो समय काम ठप्प हुँदा जीविका चलाउन मजदुरहरूसँग वैकल्पिक उपाय हुँदैन । त्यसले समाजलाई गलत बाटोतर्फ डोर्याउन सक्छ – समाजशास्त्री
नेपाल प्रहरीका अवकाशप्राप्त अतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदी लकडाउनको समय बढ्दै जाँदा समाजमा त्यसका बाई-प्रोडक्टहरु देखिँदै जानु स्वाभाविक भएको बताउँछन् ।
‘हुनत यो सबैका लागि नयाँ अनुभव हो । तर, लकडाउन बढ्दै जाँदा एउटा विन्दुमा पुगेर नागरिकमा भोक वा रोगमध्ये एउटा छान्नुपर्ने अवस्था आउन सक्छ’, सुवेदीले अनलाइनखबरसँग भने, ‘त्यसपछि नै अपराधिक क्रियाकलाप बढेर जान्छ ।’
यो विषय सर्वसाधारणमा कति धैर्यता छ भन्ने कुराले पनि निर्क्यौल गर्ने सुवेदी बताउँछन् । यद्यपि, नेपाल अहिले भयावह स्थितिमा पुगिनसकेको उनी बताउँछन् ।
समाजशास्त्री कैलाशनाथ प्याकुरेलका अनुसार लकडाउन र होम क्वारेन्टाइनको अवधि बढ्दै जाँदा मानिसमा आक्रोश, कुण्ठा र निराशा पनि सिर्जना हुन सक्छ । परिणामतः विभिन्न किसिमका अपराधले स्थान पाउने उनले बताए ।
‘मध्यमवर्गीय परिवार र मजदुरले सानो व्यवसाय गरेर जीविका चलाइरहेको हुन्छ’, प्याकुरेलले अनलाइनखबरसँग भने, ‘लामो समय काम ठप्प हुँदा जीविका चलाउन उनीहरुसँग वैकल्पिक उपाय हुँदैन । त्यसले समाजलाई गलत बाटोतर्फ डोर्याउन सक्छ ।’
यसमा सरकारसहित समाजका विभिन्न अंगहरु सचेत हुनु आवश्यक रहेको प्याकुरेल बताउँछन् ।
‘मजदुर वर्गलाई अहिलेसम्म स्थानीय तह वा अन्य संघसंस्थाबाट सहयोग भइरहेको छ । तर, स्थिति भयावह हुँदै जाँदा सहयोग गर्न पनि डराउने स्थिति आउन सक्छ’, नेपाल प्रहरीका अवकाशप्राप्त नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी भन्छन्, ‘त्यस्तो अवस्था आइपर्यो भने भोकै रहने मजदूर वर्ग पनि थ्रेट बन्न सक्छ ।’
मल्लका अनुसार त्यस्तो अवस्थामा समाजमा चोरी, लुटपाटसँगै भौतिक आक्रमणका विषय पनि बाहिर आउन सक्छन् । प्रहरी सर्वसाधारणको आवत-जावत रोक्न व्यस्त भएका बेला अन्य प्रकृतिका अपराधले प्रश्रय पाउन सक्छन् ।
यसतर्फ समयमै प्रहरी अधिकृतहरु सचेत हुनुपर्नेमा मल्लको जोड छ ।
यो पनि पढ्नुहोसकपडाको मास्ककै भरमा खटिन्छन् सुरक्षाकर्मी
विश्लेषण : लकडाउनमा बढ्न सक्छ महिला हिंसा – गोपाल ढकाल, मनोविद्
कोरोना (कोभिड-१९) भाइरसको महामारीले अहिले विश्वका धेरै मानिसहरु घरभित्रै एकान्तवासमा छन् । विपदका बेला परिवारका सदस्यहरु एकै ठाउँमा हुँदा मानसिकरुपमा पनि आफू सुरक्षित भएको महसुस हुन्छ । व्यक्तिले आफ्नो घरलाई सबैभन्दा सुरक्षित ठाउँको रुपमा लिने गर्छ ।
घरपरिवारका सदस्य एकै ठाउँमा हुँदा एक अर्कालाई ढाडस तथा हौसला मिल्ने, माया ममता पाउने, एकअर्काको भावना बुझ्ने, सहयोग पाउने जस्ता कुराले कोरोनाको डर, त्रास, भय पनि कम भएर जान्छ ।
शारीरिक तथा मानसिक स्वास्थ्यका हिसाबले कोरोनाको जोखिमबाट बच्न गुप्तबास बस्नु राम्रो हो । मानसिकरुपमा स्वस्थ हुनका लागि परिवारका सबै सदस्यसँगै बस्नु महत्वपूर्ण मानिन्छ । रोगब्याधिको संक्रमण तथा प्राकृतिक बिपतिका बेला मानिसले घर परिवार नै सम्झन्छन् । घर परिवारसँग बस्न चाहन्छन् ।
लकडाउन परिवारिक सम्बन्ध राम्रो बनाउने अवसर पनि हो । व्यस्त जीवनशैलीका कारण चाहेर पनि अहिले कुनै पनि व्यक्तिले आˆनो घर परिवारलाई समय दिन सकिरहेका थिएनन् । लकडाउनले यो अवसर दिएको छ । त्यसैले यो एकले अर्काको भावना बुझेर सम्बन्धलाई मजबुत बनाउने सुनौलो अवसर पनि हो ।
सम्बन्धलाई नविकरण गर्ने मौका पनि हो । एकअर्का बीच मनमुटाव हुनु तथा सम्बन्ध बिग्रनुको कारण एकले अर्कोलाई बुझ्न नसक्नु नै हो । एकले अर्कोलाई बुझ्ने माध्यम भनेकै एकआपसमा सँगै रहनु तथा धेरैभन्दा धेरै समयसँगै बिताउनु हो ।
तर, यति हुँदाहुँदै पनि कोरोनाको प्रकोपपछि लकडाउनको अवस्थामा परिवारिक कलह, मनमुटाव, घरेलु हिंसा, महिला हिंसा, सम्बन्ध विच्छेद जस्ता घटनाहरु बढ्न सक्छन् । अन्तर्राष्ट्रिय परिवेशमा देखिएको अवस्थाले यही देखाउँछ ।
यसो हुनुका पछाडि केही मनोवैज्ञानिक पाटाहरुले काम गरेका छन् ।
कुनै परिस्थितिमा ब्यक्तिले कस्तो व्यवहार देखाउँछ भन्ने कुरा स्वयं व्यक्तिको ज्ञान, सीप, अनुभव आदि कुरामा भर पर्छ । आपत-विपतमा व्यक्तिले कि सकारात्मक व्यवहार देखाउँछ, कि नकारात्मक । नकरात्मक क्रियाकलाप र व्यवहारले नै समस्या नै निम्त्याउँछ ।
लकडाउनलाई व्यक्तिले कसरी उपयोग गरिरहेको छ भन्ने कुरा पनि व्यक्तिअनुसार नै फरक पर्छ । कसैका लागि लकडाउन उपयोगी सावित भइरहेको छ भने कतिका लागि बोझिलो तथा झन् संकट पनि बढेको छ ।
घरपरिवारका सदस्य एकै ठाउँमा हुँदा एकले अर्कोको भवना बुझ्न सकेनन्, सहयोग आदान-प्रदान भएन, एकले अर्कालाई आदर सम्मान गर्न जानेनन् भने कलह बढेर जान्छ ।
भनिन्छ, आपत विपतमा नै मान्छे चिनिन्छ । अन्तर वैयक्तिक सम्बन्ध राम्रो बनाउने सीप सबैमा नहुन सक्छ । यस्तो सीपको अभावमा पनि पारिवारिक कलह बढ्न सक्छ । जुन परिवारिक हिंसाको कारण बन्न सक्छ ।
अहिले कोरोनाको त्रास, भयको कारण मानिसहरु तनावमा छन् । तनाव भएका बेला सानो-सानो कुरामा पनि झनक्क रीस उठ्ने, आवेशमा आउने, जिद्दीपन, चिटचिटाहटपन, छट्पटी बढ्ने, निर्णय लिन गाह्रो पर्ने, जाँडरक्सी तथा लागू प्रदार्थको सेवन बढ्ने, शंका लाग्ने आदिजस्ता लक्षण देखा पर्न सक्छन् । यस्तो भएमा परिवारिक कलह तथा हिंसाको घटना हुन सक्छ । धेरैजसो घरेलु हिंसा तथा महिला हिंसा जाँडरक्सी तथा लागू पदार्थको सेवनका कारणले भएको देखिन्छ ।
कोरोनाको प्रकोपले शारीरिक स्वास्थ्यलाई मात्र होइन, मानसिक स्वास्थ्यलाई पनि असर पारेको त छँदैछ
विपत्तिले पुरुषभन्दा महिलालाई बढी मानसिक असर पुर्याउँछ । साथै, अहिलेको लकडाउनले महिलाहरुमा घरायसी कामको बोझ पनि बढेको अनुमान गर्न सकिन्छ । जसले महिलामा तनाब र निराशा पैदा गर्न सक्छ । यस्तो अवस्थामा महिलाको समस्यालाई बुझ्न नसक्दा परिवारमा असमझदारी तथा झै-झगडा हुन पुग्छ ।
लकडाउनको समयलाई सिर्जनशीलरुपमा बिताउन नजान्दा फुर्सदका बेला हाम्रो सोच जतिबेला पनि यौनतिर जान सक्छ । यौन जोडी यसमा तयार नहुँदा यौन हिंसासमेत हुन पुग्छ ।
हाम्रो समाजमा यौनको मामलामा श्रीमतीको राय नबुझिकन यौन कार्यमा संलग्न हुने, जोरजबर्जस्ती गर्ने गरिन्छ, जुन व्यवहार अहिलेको समयमा घातक सावित हुन सक्छ । तनाव, डर, चिन्ताका बेलामा यौनको रुचि कम भएर जान्छ, यस्तो अवस्थामा यौन जोडीको सहमतिबिना जोरजबरजस्ती गर्नु हुँदैन । तर, अरु बेला सोझो श्रीमानले पनि तनावका कारण जाँड रक्सी सेवन गरी उच्छृंखल व्यवहार देखाउन सक्छ ।
स-साना कुरामा पनि कचकच गर्ने बानी छ भने पनि लकडाउनको समयमा पारिवारिक कलह निम्त्याउन आगोमा घिउको काम गर्न सक्छ ।
तनावको अवस्थामा अनावश्यक ठट्टा गर्नु पनि राम्रो होइन । तनाव र चिन्ताको अवस्थामा ब्यक्तिले कुन सही हो, कुन ठट्टा गरेको हो, छुट्टाउन नसक्ने हुन सक्छ ।
कोरोनाको प्रकोपले शारीरिक स्वास्थ्यलाई मात्र होइन, मानसिक स्वास्थ्यलाई पनि असर पारेको त छँदैछ । साथै, आर्थिक जटिलता पनि थोपर्दै लगेको छ । लकडाउनको अवस्थामा आफ्ना आधारभूत आवश्यकताका वस्तु पूरा नहुँदा तथा आर्थिक रुपमा आफूले भनेका कुराहरु पूरा नहुँदा परिवारिक कलह बढ्न सक्छ ।
कोरोनाको डर त्रास तथा लकडाउनको समयमा बुद्धिमानीपूर्वक समयको सही सदुपयोग गर्न सकेको खण्डमा शारीरिक, मानसिक, पारिवारिक सबै हिसाबले उत्पादनमूलक हुन्छ । तर, सकारात्मक रुपमा व्यवहार गर्न नजान्दा भने समस्या झन् बढ्न सक्छ ।
विपदले पार्न सक्ने यस्ता मानसिक, पारिवारिक, अन्तर वैयक्तिक, आर्थिक, सामाजिक आदि जस्ता असरलाई बुझी शारीरिक रुपमा सरसफाइमा ध्यान दिँदै गुप्तबासमा बस्नु र मानसिक रुपमा आत्मवल उच्च बनाइ राख्नु अहिलेको आवश्यकता हो ।
(ढकाल नेपाल मनोवैज्ञानिक संघका संस्थापक महासचिव हुन् । उनी अहिले मनोसेवा केन्द्रसँग आवद्ध छन्)