जनकपुरधाम | नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण सबै क्षेत्र ठप्प छ। तर महोत्तरीस्थित औरही नगरपालिका अन्तर्गत औरही बजार निर्वाध रुपमा खुलिरहेको छ। गत सोमवार सर्वदलीय सर्वपक्षीय भेलाबाट कम्तिमा तीन फिटको दुरी कायम गरी खाद्यान्न सामग्री र तरकारी विक्रि वितरण गर्ने निर्णय गरिएपनि उल्लघन गर्दै बजार खुल्लाइएको छ।
प्रदेश २ का अन्य क्षेत्रका बजार व्यवसायहरु बन्द भएपनि महोत्तरीको औरही बजार निर्वाध रुपमा खुलाइएको छ। राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रिय सदस्य रामदरेश यादवले जवरजस्ती खाद्यान्न सहित अन्य पसलहरु समेत सञ्चालन गर्न लगाएको औरही–२ का वडा अध्यक्ष विनोद पजियारले आरोप लगाए।
औरही नगरपालिका–१ का वडा अध्यक्ष राजकिशार चौधरीले गत सोमबार इलाका प्रहरी कार्यालयमा कम्तिमा तीन फिटको दूरी कायम गरी बजार खुलाउने निर्णय भएको जानकारी दिए। उनले भने, ‘हामीले तीन फिटको दुरीमा बजार खुलाउने भनेका थियौं, तर हाम्रो कुरा चल्न दिइएन, प्रहरीले नै हाम्रो कुरा मानेन्।’
औरही नगरपालिकाका नगरप्रमुख सुनिल कुमार यादवले जनचेतनाको अभावमा लकडाउन पालनामा कठिनाई भएको बताए। उनले भने, ‘मैले पूर्ण रुपमा लकडाउन गरौं भनेर भनेको हुँ, तर प्रहरी प्रशासनले नै हामीलाई सहयोग गरेन् अतिआवश्यक वस्तुको नाममा धेरैलाई छुट दियो, एउटालाई चल्न दिने हामीलाई हिड्न नदिने भनेर स्थानीयबासी सडकमा आए, अब हामी कतिसँग झगडा गर्न जानु ?’
मेयर यादवले औरही बजारमा खाद्यान्न पसल देखि कपडा, फैन्सी, तरकारी जस्ता अन्य सम्पूर्ण पसलहरु खुलेको र तत्काल बन्द गराउन आवश्यक पहल थालेको जानकारी दिए।