कोरोनालाई जितेर घर फर्किएका नेपाली भन्छन्,- रोग लाग्दैमा मरिदैन, उच्च मनोबल बनाउनुहोस्
वीरगंज संजाल
१९ चैत्र २०७६, बुधबार १२:४१
३१४१
अमेरिका | अमेरिकामा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित दुईजना गैरआवासीय नेपाली सफल उपचारपछि घर फर्किएका छन् । स्थानीय व्यवसायी भिडियोग्राफर शम्भु मोक्क्तान र जीवन बम केही दिनको अस्पतालको बसाइपछि घर फर्किका हुन्।
‘सुरुमा म मर्छुकी जस्तो लागेको थियो, चिकित्सकले उपचार गर्दै गए, मेरो आत्म बल थपिँदै गयो, हिजोमात्रै घर फर्किएका मोक्क्तानले भने, ‘नडराउनुस् यो कोरोना लाग्दैमा मरिदैन।’ उनले सबैजनालाई घरमै सुरक्षित बस्न र यो रोगबाट जोगिन आग्रह गरेका छन्। यस्तै अर्का मोक्क्तानले रोग लागिहालेमा नलुकाउन र तुरुन्तै अस्पताल जानु सुझाव दिएका छन्।
यस्तै मंगलबार साँझ जीवन बम स्थानीय माउण्ट सनाई अस्पतालमा कोरोनाको उपचारपछि घर फर्किका छन् । उनको परिवार निकटले दिएको जानकारी अनुसार उनको स्वास्थ्य अवस्था अहिले धेरै राम्रो भएको छ । केही दिन घरमा सेल्फ क्वारेन्टाइनमा बसेका बमलाई उच्च ज्वरो आएपछि अस्पताल पुराएको थियो । अस्पताल पुगेपछि बमलाई चिकित्सकले कोरोना पोजेटिभ रहेको पुष्टि गरेका थिए ।
यसैगरी न्यूयोर्कको उडसाइड बस्दै आएका ४४ वर्षीय निमा शेर्पा र ४७ वर्षीय सोम गुरुङले पनि कोरोना भाइरसको संक्रमण पराजित गरेका छन् । मार्चको दोश्रो साता कोरोना भाइरसको चपेटामा परेको यो परिवारले घरमै घरेलु विधिबाट भाइरस मार्न सफल भएको हो । निमाले भनिन्, ‘हामीले जित्यौं, कोरोनाले हार्यो । उनको परिवारमा पहिले नर्स पेशामा संलग्न निमालाई उच्च ज्वरो आएको थियो। त्यसपछि उनका श्रीमानलाई कोरोना पोजेटिभ देखिएको थियो ।
यसैगरी घरमा रहेका १६ र १० वर्षका दुई छोरालाई समेत उच्च ज्वरो आएको थियो। उनीहरु सबैले घरमै सेल्फ आइसोलेसनमा बसेर उपचार गरेका हुन्। ‘जुनसुकै रोगसँग लडन पनि उच्च मनोबल चाहिन्छ, निमाले भनिन्, ‘घरेलु औषधि, स्वस्थ जीवनशैलीले कोरोनालाई जित्न सफल भयौं ।’
उनले नियमित तातो पानी पिउने, सुप, झोलिलो पदार्थलगायत अन्य घरेलु खानेकुरा खाएर आफूहरु निको भएको बताइन्।चिकित्सकले १४ दिनको आइसोलेसनको बसाइपछि ज्वरो नभए र अन्य कुनै लक्षण नदेखिएमा कोरोना भाइरस आफै मर्ने जनाएका छन् ।