कोरोना संक्रमणको पहिचान गर्न स्थानीय तहलाई मुख्यमन्त्रीको आग्रह
वीरगंज संजाल
१९ चैत्र २०७६, बुधबार ०७:४७
२२१३
विराटनगर। प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले आफ्नो प्रदेशमा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नागरिकको पहिचानमा जुट्न स्थानीय तहहरूलाई निर्देशन दिएका छन्।
कोरोना भाइसरको रोकथाम तथा प्रतिरक्षाका लागि गठित स्थानीय तह सम्पर्क, समन्वय, प्रचार प्रसार तथा जनचेतना समितिको मंगलबारको बैठकमा मुख्यमन्त्री राईले त्यस्तो निर्देशन दिएका हुन्।
विदेशबाट आएका, होम क्वारेन्टाइनमा रहेका र क्वारेन्टाइनमा राख्नुपर्नेको तथ्यांक संकलन गर्न उनले आग्रह गरे।
प्रदेश-१ कोरोना रोकथाम, प्रतिरक्षा र उपचार निर्देशन समितिको अध्यक्ष समेत रहेका राईले विशेष हेरचाह गर्नुपर्ने सुत्केरी, गर्भवती, अपांगता भएकाहरू र दैनिक ज्यालादारीमा काम गर्नेहरूको विवरण पनि संकलन गर्न आग्रह गरे।
विपन्न र दैनिक ज्यालादारीमा जीविका चलाउनुपर्नेहरूलाई स्थानीय तहबाटै राहत उपलब्ध गराउन र सम्भव नभए प्रदेश सरकारले व्यवस्था मिलाउने पनि बताए।
बैठकले कोरोना भइरसको संक्रमणविरुद्ध पालिकाहरूको नेतृत्वमा स्थानीय तहमा विभिन्न समिति गठन गर्ने, राहत वितरणमा एकद्वार प्रणाली अपनाउनेलगायत निर्णय गरेको छ।
लकडाउनको अवधिमा कृत्रिम अभाव हुन नदिन र नागरिकलाई पर्ने समस्याका विषयमा अनुगमन गर्न आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्वोको संयोजकत्वमा १० सदस्यीय अनुगमन समिति पनि गठन गरेको छ। समितिका सदस्यमा राज्यमन्त्रीहरू, विपक्षीदलका नेता, समाजवादी पार्टी, लिम्बुवान पार्टी र राप्रपाका नेता, प्रदेश योजना आयोगका उपाध्यक्ष, प्रमुख न्यायाधिवक्ता र मुख्यमन्त्रीका आर्थिक सल्लाहाकार छन्।
तत्काल राहत, उद्धार, उजुरी, गुनासो र सुझाव भए प्रदेश सरकारको कोरोेना सूचना डेस्क र मोबाइल एपमार्फत जानकारी दिनसमेत बैठकले सबैलाई अपिल गरेको छ।