डोटीमा भारतबाट फर्केका झण्डै चार सय जना क्वारेण्टाइनमा
वीरगंज संजाल
१७ चैत्र २०७६, सोमबार २३:२२
३३०९
डोटी । भारतका विभिन्न शहरबाट फर्केका तीन सय ९४ जनालाई डोटीको क्वारेण्टाइनमा राखिएको छ ।
भारतबाट आएकाहरुलाई क्वारेण्टाइमा राख्न नेपाल सरकारले दिएको निर्देशनअनुसार डोटीका नौ वटै स्थानीय तहमा तीन सय ९४ लाई क्वारेण्टाइनमा राखिएको हो ।
हालसम्म जिल्लाका विभिन्न स्थानीय तहका २४ स्थानमा क्वारेण्टाइन स्थापना गरिएको स्वास्थ्य कार्यालय डोटीका कोरोनासम्बन्धी सम्पर्क व्यक्ति सूर्य विष्टले जानकारी दिए । विष्टका अनुसार हालसम्म स्थापना भएका क्वारेण्टाइनको कुल क्षमता पाँच सय १७ शय्या रहेको छ ।
सबैभन्दा बढी क्षमता बोगटान फुड्सिल गाउँपालिकाको क्वारेण्टाइनमा रहेको छ । गाउँपालिकाले पाँच स्थानमा स्थापना गरेको क्वारेण्टाइनमा एक सय १५ जना रहेका छन् ।
यस्तै, आदर्श गाउँपालिकामा ८१ जना क्वारेण्टाइनमा रहेका छन् । बडीकेदार गाउँपालिकामा ३६, जोरायल र पूर्वीचौकी गाउँपालिकामा दुई/दुई, केआईसिंह गाउँपालिकामा १३, सायल गाउँपालिकामा ३६, शिखर नगरपालिकामा ७६ र दीपायल सिलगढी नगरपालिकामा ३३ जना रहेका छन् ।
क्वारेण्टाइनमा बसेकाहरु सबै भारतका विभिन्न शहरबाट आएको विष्टले बताए । भारत तथा तेस्रो मुलुकबाट नेपाल आएर घरमै बसेकाहरुको सम्बन्धित स्थानीय तहले खोजी गरिरहेको समेत बिष्टले बताए । उनले भने ‘स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मीले घरमै लुकेर बसेकाहरुलाई सम्झाउँदै क्वारेण्टाइनमा राख्ने काम गरिरहेका छन् ।’
क्वारेण्टाइनमा रहेका व्यक्तिहरुको खाना र खाजाको व्यवस्था सम्बन्धित स्थानीय तहहरुले नै गरिरहेको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।