दैनिक मजदुरी गरेर परिवार पालिरहेका उनलाई त्यो साँझ के खाने-के खुवाउने चिन्ता थियो। त्यही बेला तिलोत्तमाका मेयर वासुदेव घिमिरे र उपप्रमुख जगेश्वरी देवी चौधरी उनको घरनजिकै आएर रासन दिए।
तिलोत्तमाले इन्द्रको जस्तै दैनिक ज्यालादारीबाट जीविका गर्ने परिवार खोजेर उनीहरूको भोक मेटाउन थालेको छ। दस किलो चामल, दुई किलो दाल र एक प्याकेट नुनको बोरा समाउँदा सपनाजस्तो लागेको इन्द्र बताउँछन्।
यो पनि पढ्नुस्ः मेयर दाल-चामल बोकेर आए, उनलाई सपनाजस्तो लाग्यो
पोखरा, नयाँबजारका ३२ वर्षीय रमेश उपरकोटीले भने यो सपना देख्न पनि पाएका छैनन्। मजदुरी गरेर पोखरामा पालिएका रमेशलाई कसैले केही दिनु त पर, उल्टो उनीसँग भएको अलिकति पैसा पनि लुटियो।
शुक्रबार उनी टोलमै अन्न–उपज र तरकारी किन्न निस्किएका थिए। मास्क लगाएका तीन जना युवाले पछाडिबाट रमेशलाई समाते। मोबाइल र गोजीमा भएको १६०० रूपैयाँ लुटे।
उनले प्रतिकार गर्न सकेनन्। प्रहरीलाई खबर पनि गरेनन्। मोबाइल दुई हजारजति पर्ने थियो। रमेशसँग कुनै बचत पनि छैन।
‘म सँग अब कत्ति पनि पैसा छैन। काम छैन, घर जाम भने गाडी चल्दैन। घरभाडा तिर्नुपर्यो। बालबच्चा पाल्नै गाह्रो भयो। घरमा भएको दाल–चामल सकिँदैछ। अब के गर्ने?,’ उनले अहिलेसम्म कुनै उपाय खुट्याउन सकेका छैनन्।
रमेश तनहुँको जामुनेमा ब्रिज सिमेन्टको पेन्टिङ गर्दै थिए। अचानक लक-डाउन भयो, काम रोकियो। काम नसकिँदा पैसा पाएनन्।
तनहुँ, दमौलीका उनी कामको खोजीमा पोखरा बस्न थालेको १९ वर्ष भयो। यसरी गर्दा–गर्दैको काम छाडेर बस्नुपर्ने अवस्था यसअघि आएकै थिएन। नयाँबजारको भित्री गल्लीमा सानो टिनको छानामुनि श्रीमती र दुई छोरासहित बस्ने रमेशलाई अहिले खानकै समस्याले पिरोल्दैछ।
कोठा भाडा मासिक ३५०० रूपैयाँ तिर्छन्। एउटा कोठामा चार जना बसेका छन्। लक-डाउन अझै कति लम्बिने हो, उनलाई थाहा छैन। एसइई दिनुपर्ने जेठो छोराको परीक्षा रोकिएको छ। कान्छो छोरा ५ कक्षा पढ्छन्।
कामविहीन रमेश अब मामविहीन बन्दैछन्। नयाँ बजारमा भेटिएका रमेशले शनिबार सेतोपाटीसँग भने, ‘मेरो कुरा सरकारलाई पुर्याइदिनुपर्यो। हामी कसरी बस्ने हो भनिदिनुपर्यो।’
उनीजस्तै मजदुरी गर्ने पोखराकै सुकुम्बासी टोलका श्रेष्ठ दम्पतीको पनि बिचल्ली छ। परिवार पाल्नै गाह्रो भएपछि लक-डाउनमा पनि भित्रभित्रै कामको खोजीमा छन्, ३९ वर्षीय प्रेमनारायण र ३६ वर्षीया कुमारी।
पैसा र अन्न–उपज दुवै बचत नभएकाले कुमारी डोको बोकेर साग लिन पोखराकै मालेपाटनस्थित सब्जीमण्डी जाँदैछन्। मण्डीबाट एक डोको साग किन्छिन् र लुकिछिपी घरघरमा बेचेर आम्दानीको जोहो गर्छिन्। शुक्रबार २५ मुठा साग बेचेर आएको तीन सय रूपैयाँ नाफाले कुमारीले परिवारको छाक टारिन्।
लक-डाउनको दुई दिनसम्म त उनीहरू घरै बसेका थिए। खानको जोहो नहुने भएपछि भित्री गल्ली भएर यस्तो उपाय अपनाएको कुमारीले बताइन्।
प्रेमनारायण लक-डाउनअघि पोखराकै डेभिजफलमा घर बनाउने मजदुरी गर्थे। ठेकेदारमार्फत् काम गर्दा दिनको ८०० रूपैयाँ र साहुले लगाएको काम गर्दा ९०० रुपैयाँ कमाइ हुन्थ्यो। कुमारी भने सडकमा मकै पोलेर बेच्थिन्।
उनीहरूका एक छोरा र एक छोरी छन्। छोरा कक्षा ११ मा पढ्छन् भने छोरी ५ कक्षा। सुकुम्बासी टोलको एउटै कोठामा अटाएका यी चार जनाको परिवारलाई अहिले बिहान–बेलुकीको छाक टार्न मुश्किल छ।
लक-डाउनको तेस्रो दिन बाहिर निस्किँदा प्रेमनारायणले प्रहरीको खप्की खानुपर्यो।
‘एक महिना लगेर हाल्दिम् कि लाठी लगाइदिम्?’ प्रहरीले भनेको सम्झँदै प्रेमनारायणले भने, ‘काममा जान लाको हजुर भन्दा पनि जान दिएनन्।’
लुकिछिपी तेस्रो दिन प्रहरीको आँखा छलेर ढुंगा फुटाउने काम गरे। चौथो दिनदेखि भने श्रीमतीसँग तरकारी बेच्न घरघरै जान थालेका छन्।
काठमाडौंको साँखु–सालीनदीबाट १९ वर्षअघि कामको खोजीमा पोखरा झरेका थिए, प्रेमनारायण। पोखरामा त्यति बेला होटलमा काम पाएका थिए। गोरखाका साथीकी बहिनी कुमारीसँग चिनजान भयो, पोखरा आएको वर्षदिनमै बिहे गरे।
पोखरा बसाइँमा उनले धेरैथरि काम गरे। अहिले पनि गर्दैछन्। लक-डाउन भएपछि केही ठाउँमा घरभाडा छुट दिएको उनले पनि सुनेछन्। मासिक पाँच हजार भाडा तिर्ने प्रेमनारायणले यस्तो व्यवस्था सबैतिर हुनुपर्ने बताए।
‘हाम्रो त एक दिन पनि ढिलो हुनु हुँदैन, घरबेटीले कराइहाल्छन्,’ उनले भने, सरकारले सबैतिर नियम बराबर गरिदिए राहत हुन्थ्यो।’
लक-डाउनको शून्यतामा डोको बोकेर हिँड्न उनीहरूलाई पनि मन छैन। तर के गर्नु, काम नगरी खान नपाइने कुमारीले बताइन्।
दिनभर कमाएर बेलुका खानुपर्ने मजदुरका लागि लक-डाउन कठोर बनेको छ। उनीहरूको समस्या फुकाउन पोखरा महानगरसँग कुनै योजना छैन।
पोखरा महानगरले चैत ११ गते कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि उपमेयर मञ्जुदेवी गुरुङको संयोजकत्वमा समिति गठन गर्यो। समितिले पोखराको सिर्जनाचोक र नदीपुरमा १५० बेडको क्वारेन्टाइन बनायो।
चैत १३ मा महानगरका ३३ वटै वडामा समन्वय समिति गठन गर्यो। वडा सचिव र वडा तहका स्वास्थ्य संस्था प्रमुख रहेको यो समितिले विदेशबाट आएका नागरिकलाई निगरानी गर्ने, क्वारेन्टाइनमा राख्ने, विवरण अद्यावधिक गर्ने, भिडभाड हुन नदिने लगायत कार्यादेश दिएको महानगरका मेयर मानबहादुर जिसीले बताए। यसनिम्ति महानगरले सबै वडालाई ५०-५० हजार रुपैयाँ व्यवस्था गरेको छ।
महानगरले विभिन्न भेग समेटेर ५ वटा अर्को समिति पनि गठन गरेको छ। विभिन्न वडाका अध्यक्ष संयोजक, त्यस भेगका अर्का वडाध्यक्ष सदस्य रहने गरी गठन गरेको यो समितिले खाद्यान्न ढुवानी तथा वितरण सहजीकरण गर्ने जनाएको छ।
दैनिक मजदुरी गरेर खानुपर्ने मजदुरका लागि भने अहिलेसम्म महानगरले कुनै निर्णय नगरेको मेयर जिसीले बताए।
‘हामीले निःशुल्क खाद्यान्न वितरण गर्ने योजना अहिलेसम्म बनाएका छैनौं,’ उनले सेतोपाटीसँग भने, ‘त्यस्तो अवस्था आयो भने गरौंला।’
आवश्यकता पर्यो भन्नेहरू भेटिएका छैनन्- भक्तपुर महानगर र मध्यपुर थिमी नगरपालिका
पोखराजस्तै भक्तपुर महानगर र मध्यपुर थिमी नगरपालिका पनि मजदुर र खान नपाएकाहरू खोजेर सहयोग गर्न कस्सिएका छैनन्। अहिलेसम्म कुनै त्यस्तो मान्छे नभेटिएकाले सुरसार नगरेको नगरप्रमुखहरूको भनाइ छ।
भक्तपुर नगरप्रमुख सुनील प्रजापतिका अनुसार विभिन्न वडाका सदस्यले त्यस्ता मान्छे पहिचान गर्न पहल गरिरहेका छन्। उनीहरूलाई पर्याप्त खाद्यान्न पुर्याउन आफूहरू तयार रहेको उनले बताए।
कोरोनाको सचेतनाका साथै हरेक दिन औषधि छर्ने काम टोल–टोलमा भइरहेको छ। शुक्रबारबाट विभिन्न स्थानका तरकारी बजार व्यवस्थित गरिएको छ। तर ज्यालादारीमा कमाउने मान्छे उनीहरूले महानगरपालिकामै भेटेका छैनन्।
उता मध्यपुर थिमी नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठ हालसम्म लोकन्थलीस्थित एक अपांगता भएका परिवारबाट मात्र सहयोगको जानकारी आएको बताउँछन्। त्यो परिवारलाई पनि त्यहीँका स्थानीयले सहायता गरिरहेका छन्। आवश्यक परे उनी र उनीजस्तै व्यक्तिलाई सहयोग पुर्याउन तयार रहेको उनले बताए।
‘आर्थिक अवस्था कम भएका र दैनिक ज्यालादारीमा बाँच्नुपरेकालाई नजिकका स्थानीयको समन्वयमा सहायता पुर्याइरहेका छौं,’ उनले भने, ‘चामल, दाल, चिउरा, चाउचाउ लगायत दैनिक उपभोग्य सामग्री हामीले संकलन गरेका छौं। अभावमा हामीसँग किन्न सक्नुहुन्छ, जसका लागि जनप्रतिनिधि खटाएका छौं।’
लक-डाउनमा खान नपाएकालाई सहयोग गर्ने जिम्मा केन्द्र सरकारले स्थानीय सरकारलाई दिए पनि मेयर श्रेष्ठ भन्छन्, ‘आवश्यकता परेका मान्छेका आसपासका मान्छे नै यस्तो समयमा महत्वका हुन्छन्। नगरपालिकाले पनि गरिब, मजदुर पहिचान गरी भोकै बस्नुपर्ने अवस्था भए हरेक वडा कार्यालयमार्फत् खाद्यान्न वितरण गर्ने व्यवस्था गरेको छ।’
तर यस्ता व्यक्ति पहिचान कसरी गर्ने भन्ने कुनै योजना छैन।
ललितपुर महानगर भन्छ- भोकै भए घरबेटीको सिफारिस लिएर वडामा आउनू
ललितपुर महानगरपालिकाले शनिबार विज्ञप्ति जारी गर्यो- दिनभर काम गरेर बिहान-बेलुकाको छाक जोहो गर्नुपर्ने श्रमिक वर्गलाई महानगरले राहत दिने।
विज्ञप्तिमा समस्यामा परेका त्यस्ता नगरवासीले आफ्नो वडाका अध्यक्ष तथा सदस्यलाई सम्पर्क गर्न भनिएको छ।
यसरी बोलाएर कसरी पहुँच होला भन्ने सेतोपाटीको जिज्ञासामा महानगर प्रवक्ता राजु महर्जनले भने, ‘अहिले वडा सदस्यहरू त्यस्ता व्यक्तिको तथ्यांक संकलनमा लागिसक्नुभएको छ। समस्यामा परेकासँग हामी आफैं सम्पर्कमा आउँछौ। टोल सुधार समिति र अन्य कार्यसमितिसँग मिलेर काम हुँदैछ।’
उनले महानगरको २९ वडामै तथ्यांक संकलन भइरहेको बताए। उनका अनुसार महानगरले शुक्रबारदेखि मन्दिरका असहाय र अपांगता भएकालाई चिउरा, चाउचाउ, स्याउ, पानी लगायत दिएको छ।
‘जो मन्दिरतिर बसेका हुन्छन्, लक-डाउनपछि उनीहरूको व्यवस्था भएको छैन। यस्तोमा अहिले उनीहरूलाई खाजा सहयोग गरेका छौं,’ उनले भने।
ललितपुर वडा नम्बर १२ ले बिहीबारदेखि मजदुर र भिकारीलाई खाजा वितरण सुरू गरेको वडाध्यक्ष नारायणलाल अवालेले बताए। उनका अनुसार विपन्न, ज्याला-मजदुरी र मन्दिरमा मागेर जीविकोपार्जन गर्ने समूहलाई खाजाको प्याकेज बनाएर वितरण गरिँदैछ।
प्याकेजमा एक किलो चामल, आधा पाउ दाल, चिउरा, चाउचाउ, केरा र पानी छ। हालसम्म १४ जना त्यस्ता व्यक्तिलाई यो प्याकेज उपलब्ध गराइएको उनी बताउँछन्।
‘कति मजदुर लिन मान्दैनन्, तर हामी हरेक दिन बाँडिरहेका छौं,’ उनले भने।
वडा नम्बर २९ का वडा अध्यक्ष गणेशकुमार महर्जनसँग पनि कुनै उल्लेख्य योजना छैन। भन्छन्, ‘हामीले आमा समूह, टोल समिति एवम् कार्य समितिमा जानकारी दिइसकेका छौं। आर्थिक समस्यामा रहेका र मजदुरी गरेर खानेसँग सम्पर्कमा रहन भनेका छौं। थप तथ्यांक संकलनका लागि आइतबार सूचना जारी गर्नेछौं।’
ललितपुर मेयर चिरिबाबु महर्जन भने सबै वडाको तथ्यांक नपर्खिने र कुनै वडाले ल्याए तुरून्त उनीहरूलाई राहत दिने बताउँछन्।
‘नामावली पेस गरेपछि वडालाई नै राहत वितरण गर्ने जिम्मा दिन्छौं। नगरभर पन्ध्र सय त्यस्ता समस्यामा परेका व्यक्ति र परिवार होलान्,’ उनले अनुमानमा भने।
हाल एक दिनलाई पुग्ने खाना प्याकेज वितरण गर्ने योजना रहेको उनले बताए। समय यस्तै रहे थप उपलब्ध गराउने उनी बताउँछन्। राहत पाउन कुन व्यक्ति र परिवार मजदुर हो भनेर पुष्टि हुनुपर्नेछ। वडाहरूले घरबेटीको सिफारिसमा मात्र राहत दिने नियम लगाएका छन्।
‘विवरण आउनेबित्तिकै मद्दत गर्न तयार छौ,’ प्रवक्ता महर्जनले भने।
वडा नम्बर २४ मा शनिबार बिहानदेखि तथ्यांक संकलनका लागि जनप्रतिनिधि र स्वयंसेवक खटाइएको वडा अध्यक्ष दिनेश कार्कीले बताए। ती जनप्रतिनिधि र स्वयंसेवकको स्वास्थ्यको पनि ख्याल राख्दै विवरण संकलन गर्नुपर्ने हुदाँ पूर्ण विवरण आउन थप दुई दिन लाग्ने उनको अनुमान छ।
महानगरपालिकाले मजदुरी गरेर खाने व्यक्ति वा परिवारलाई सम्पर्कमा ल्याउन सामाजिक सञ्जाल पनि प्रयोग गरिरहेको बतायो। सबै यसमा जोडिन नसक्ने कुरालाई ध्यानमा राख्दै सूचना टाँस्ने योजना बनाइएको छ।
काठमाडौंका वडाध्यक्षहरूः कसैले पसलेलाई सामान दिनू भन्दिए, कोही अलमलमा, कोही फेसबुकबाट बोलाउँदै
काठमाडौं महानगरपालिकामा ठेला, रिक्सा चलाएर, भारी बोकेर गुजारा गर्ने परिवारलाई लक-डाउनका कारण छाक टार्न मुस्किल भएको भन्दै प्रमुख विद्यासुन्दर शाक्यले ‘भोको नराख्ने’ बताएका छन्।
‘हिजो विभिन्न काम गरिरहेको, अहिले काम नभएकाले खान समस्या भए वडा कार्यालय वा वडाध्यक्षलाई सम्पर्क गर्नुस्। हामीले त्यसको व्यवस्थापन गर्ने गरी निर्देशन जारी गरिसकेका छौं,’ शाक्यले शुक्रबार भिडिओ सन्देशमा भने।
शाक्यको उद्घोष सुनेपछि तयारी बुझ्न हामीले भोटेबहाल, क्षत्रपाटी, थापाथली, बौद्ध क्षेत्रका वडाध्यक्षहरूसँग सम्पर्क गर्यौं। काठमाडौंमा धेरै मजदुरको जीवन चलाउने क्षेत्र हुन् यी। उनीहरूले लक-डाउनका कारण भोकै परेको दुखेसो पनि पोखिरहेका छन्।
वडा नम्बर ६ का अध्यक्ष दीपेन्द्र लामा मेयर शाक्यले खाद्यान्न व्यवस्थाको निर्देशन दिए पनि आफू अलमलमा परेको बताउँछन्।
‘महानगरप्रमुखले नागरिकलाई भोको नराख्न त भन्नुभएको छ। कस्ता नागरिकलाई सहयोग गर्ने भनेर मापदण्ड नतोकिएकाले वर्गीकरण गर्न गाह्रो भएको छ,’ लामाले भने।
लामाले आफ्नो वडाभित्र मजदुर, ज्यामी, भरिया धेरै भए पनि उनीहरूको तथ्यांक नराखिएको बताए। जानकारी नराखिएकाले कुन नागरिकको अवस्था के छ? लक-डाउनका कारण भोकै परेको छ कि छैन बुझ्न नसकिएको उनी बताउँछन्।
आफू अलमल परेको भन्दै उनले आइतबारबाट मात्र नागरिकलाई आह्वान गर्ने बताए।
‘आइतबार हामी त्यस्ता नागरिकलाई आह्वान गर्छौं। उनीहरूको नागरिकता, घरधनीको सिफारिस हेरेर व्यवस्थापन गर्छौं,’ लामाले भने।
साताव्यापी लक-डाउनको आज छैठौं दिन हो। दैनिक ज्यालादारी गर्ने न्यून आय भएकाहरूको बिचल्ली छ। लामा भने महानगरपालिकाले निर्देशन नै दिन ढिला भएको बताउँछन्।
११ नम्बर वडाध्यक्ष हीरालाल तण्डुकार भने व्यवस्थापन सुरू गरिसकेको बताउँछन्। यो वडामा भोटेबहालदेखि, बबरमहलसम्मको क्षेत्र पर्छ। थापाथलीको सुकुम्बासी क्षेत्र पनि यहीँ पर्छ। ती ठाउँका मजदुर, सुकुम्बासी, भरियालाई उनले सार्वजनिक आह्वान गरेका छन्।
वडा सदस्य, सुकुम्बासी संघ–समितिले सिफारिस गरेका त्यस्ता न्यून आय भएकालाई दस दिन पुग्ने खाद्यान्न वितरण गर्ने तण्डुकारले बताए।
‘सिफारिस भएका गरिबहरू आए उनीहरूलाई पायक पर्ने पसल तोकेको छु। पाँच किलो चामल, नुन, तेल आदि दस दिनलाई पुग्ने गरी दिन भनेको छु। त्यसको व्यवस्थापन वडाले गरेको छ,’ उनले भने।
तण्डुकारले पनि वडासँग त्यस्ता नागरिकको सूची नभएको बताए। कोठा सरिरहने, प्रायः वडामा काम पनि लिएर नआउने हुँदा उनीहरूको सूची राख्न कठिन भएको उनी बताउँछन्।
रिक्सा, ठेला चालकहरू बसोबास गर्ने क्षत्रपाटी, ढल्को, नयाँबसपार्क पनि हो। यो क्षेत्रका मजदुरलाई भने २३ वडाका अध्यक्ष खेमराज तिवारीले फेसबुकमा सन्देश छाड्दै सम्पर्कमा आउन भनेका छन्। अहिलेसम्म कुनै नागरिक फेला नपरेको उनले बताए।
‘नगरप्रमुखले निर्देशन दिनुभएसँगै मैले फेसबुकमा आह्वान गरेको छु। वडासँग त्यस्ता नागरिकको सूची नभएकाले पहिचान गर्न गाह्रो भएको छ। उनीहरू पनि अहिलेसम्म सम्पर्कमा आएका छैनन्,’ उनले भने, ‘उपभोक्ता, टोल सुधार समिति, क्लबलाई त्यस्ता नागरिकको सहयोग गर्न भनेका छौं। उहाँहरूले सिफारिस गरेका विपन्न नागरिकलाई आवश्यक सहयोग गर्न वडा तत्पर छ।’
खान नपाउने वर्गले फेसबुकको सूचना कसरी देख्लान्! सम्पर्कमा आउन भने पनि वडाले खाद्यान्न वितरणको प्रबन्ध भने अहिलेसम्म नमिलाएको वडाध्यक्ष तिवारीले बताए।
धनगढीका मेयरः एक-दुई दिन भोको बसेर भए पनि लक-डाउन सफल पारौं
भारतबाट धेरै मान्छे आएकाले कोरोना त्रास बढेको र लक-डाउन व्यवस्थापनमा मुश्किल भएको भन्दै धनगढी उपमहानगरपालिकाले मजदुर र विपन्नका निम्ति कुनै योजना बनाएको छैन।
‘भारतबाट हजारौं मान्छे सुदूरपश्चिम आएका छन्। कोरोना संक्रमणको त्रास नै धेरै छ। यस्तो बेला विपन्न, मजदुरलाई अहिले नै खाद्यान्न वितरण व्यवस्था गर्न समस्या भइरहेको छ,’ धनगढी उपमहानगरपालिका मेयर नृपबहादुर वडले भने।
खाद्यान्न वितरण सुरू गर्दा लक-डाउन फितलो हुने डर रहेको उनको भनाइ छ, ‘यता लक-डाउनमा कडाइ गर्न जरूरी छ। त्यही बेला अरू व्यवस्थापनमा ध्यान दिन सकिएको छैन। अझै एक-दुई दिन समय लाग्न सक्छ।’
स्थानीय तहबाट स्वयंसेवकहरू खटिने तयारीमा भए पनि पहिले लक-डाउनमै कडाइ गर्न जरूरी रहेको उनले बताए।
उनले अर्काको भोकको पीडा नबुझेझैं गरी भने, ‘हामी एक-दुई दिन भोको बसेर भए पनि लक-डाउनलाई सफल पारौं। त्यसपछि केही दिनमै खाद्यान्न व्यवस्थापनको दोस्रो चरणमा जानेछौं।’
कसलाई राहत खाँचो छ भन्ने हामीलाई थाहा छ- दुहबी मेयर
दुहबी नगरपालिकाले केन्द्र सरकारको निर्देशनपछि खान नपाएकाहरूका लागि खाद्यान्न व्यवस्थापनको तयारी थालेको छ। नगरपालिका प्रमुख वेदनारायण गच्छदारका अनुसार १२ वटै वडा कार्यालयसँग समन्वय गरी विपन्न मजदुरको तथ्यांक संकलन गर्ने योजना बनेको छ।
‘हरेक वडाका निर्वाचित पदाधिकारी हुनुहुन्छ। पहिल्यै भइसकेको घरधुरी सर्वेक्षणका आधारमा कुन वडा र गाउँको कुन टोलमा कस्ता मानिस बस्छन्, कसको कति जमिन छ भन्ने जानकारी छँदैछ। मजदुरी गर्नेहरूमध्ये कसलाई राहत बढी खाँचो छ र छैन भन्ने हामीलाई थाहा छ,’ उनले भने, ‘विपद कोषमा भएको पैसामार्फत् पहिला पनि सहयोग गर्दै आएका थियौं। अरू आर्थिक स्रोत खोजी के कसरी गर्ने भन्नेबारे पनि सोचिसकिएको छ।’
पूर्वी नेपालको विराटनगर र इटहरीबीच पर्ने दुहबी दर्जनौं ठूला कलकारखाना भएको औद्योगिक क्षेत्र हो। लक-डाउन हुँदा यहाँका हजारौं ज्यालादारी मजदुर आर्थिक मारमा परेका छन्।
तथ्यांक संकलन नसकिएको भए पनि खाना वितरण गर्नुपर्नेको संख्या कम्तिमा पाँच हजार हुने मेयर गच्छादारको अनुमान छ। नगरपालिकाको कुल जनसंख्या नै ५६ हजार हाराहारी हो।
लक्षित वर्गसम्म राहत पुगोस् र अरूले फाइदा नउठाउने गरी वितरण कसरी गर्ने भन्नेबारे सचेत हुनुपर्ने उनले बताए। लक-डाउनसँगै धेरै सरकारी कार्यालय बन्द हुनु र आवतजावतमा कठिनाइ भएकाले वडा र प्रशासनको सहयोगमा खाना वितरण गरिने उनले बताए।
वितरण गरिने खानामा दाल, भात, तरकारी, चिउरा, भुजिया, प्याज खुर्सानी लगायत पर्ने पनि उनले जानकारी दिए।
सरकारी निर्देशनपछि चलमलाउँदै धुलिखेल
धुलिखेल नगरपालिकाले पनि बल्ल गरिब नागरिकको तथ्यांक संकलन मात्र सुरू गरेको छ। नगरपालिकाले शुक्रबार जनप्रतिनिधिसँग छलफल गरेर खान-लाउन समस्या परेकाको सहयोगका लागि शनिबारदेखि तथ्यांक संकलन सुरू गरेको हो।
‘हिजो सबै वडाका जनप्रतिनिधिसँग बस्यौं, गरिबको तथ्यांक लिएर उनीहरूलाई आर्थिक सहयोग गर्ने कि खाद्यान्न र लत्ताकपडा सहयोग गर्ने भन्ने छलफल भएको छ,’ धुलिखेल नगरपालिकाका मेयर अशोककुमार ब्यान्जुले भने।
मेयर ब्यान्जुका अनुसार वडा सदस्यले तथ्यांक संकलन गर्नेछन्। आइतबारसम्म गरिब नागरिक संख्या पत्ता लाग्ने उनले बताए।
‘सोमबारदेखि उनीहरूलाई चाहिने खानपिन व्यवस्था गर्न लागेका छौं,’ उनले भने।
नेपाल नगरपालिका संघका अध्यक्षसमेत रहेका मेयर ब्यान्जुले गरिब कति छन् भनेर बुझ्न सबै नगरपालिकालाई आह्वान गरिसकेको बताए।
‘गरिबको तथ्यांक निकालेर उनीहरूका समस्या, अवस्था समग्रमा बुझ्न सबै नगरपालिकालाई भनेको छु,’ उनले भने।
– युवराज श्रेष्ठ (पोखराबाट), सबिना श्रेष्ठ (भक्तपुर), समिक्षा अधिकारी (काठमाडौं), जुना श्रेष्ठ (ललितपुर), अनुषा अधिकारी (धनगढीमा टेलिफोन सम्पर्क), प्रभाकर गौतम (दुहबीमा टेलिफोन सम्पर्क) र सुजना ढकाल (धुलिखेल) को सहयोगमा यो रिपोर्ट तयार पारिएको हो।