काठमाडौँ | सरकारले नाकाबाट आवागमन रोक्ने र लकडाउनको २५ गते मध्यरातिसम्म गर्ने भएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले देशव्यापी लकडाउनको अवधि ८ दिन बढाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि सरकारले चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियो । तर, कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउनको अवधि थपेको हो ।
कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार अपराह्न बसेको बैठकले लकडाउनको अवधि बढाउन सरकारलाई सिफारिस गरेको थियो ।