नुवाकोट : नुवाकोटको शन्तिबजारमा करेन्ट लागेर बिहीबार एक मजदुर युवकको ज्यान गएको छ । किस्पाङ गाउँपालिका–५ मा निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत आयोजनाको निर्माण सामग्री ओसार्ने क्रममा करेन्ट लागेर ट्रिपरका सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
मृतक कालिका गाउँपालिका-२ का १९ वर्षीय विक्रम थिङ रहेको प्रहरी निरीक्षक विष्णु फुयालले जानकारी दिए । उनका अनुसार शान्तिबजारस्थित ‘हिम्दुङ एण्ड थोकर कन्सट्रक्सन’ कम्पनीको क्रसर उद्योगमा ट्रिपरको ढाला खोलेर बालुवा भर्ने क्रममा करेन्ट लागेर थिङ गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारको लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूली ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको हो । उनी बा ४ ख ८७१८ नम्बरको ट्रिपरका सहचालक थिए । उनको मृत्यु भएपछि चालक विष्णुबहादुर थिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विष्णुबहादुर सहचालकका काका हुन् । सो घटना रहस्यमय रहेको जनाउंदै मृतकका आफन्त तथा स्थानीयले विरोध जनाउंदै घटनामा लापरवाही गर्नेलाई कारवाहीको माग गरेका छन् । मृतक युवकको शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ । तीन साताको अवधिमा करेन्ट लागेर नुवाकोटको छुट्टाछुट्टै स्थानमा तीन जनाको ज्यान गएको छ ।