रौतहट । रौतहट प्रहरीले अवैध रुपमा संचालन भइरहेको घरेलु मदिरा भट्टी नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको गस्ती टोलीले २ वटा अवैध घरेलु मदिरा भट्टी नष्ट गरेको हो ।प्रहरीले विशेष सुराकीको आधारमा जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं ६ मिलनचोकमा रहेका ती भट्टी नष्ट गरेको जनाएको छ । सो स्थानबाट १ सय ५० लिटर मदिरा, मदिरा बनाउन प्रयोग गर्ने ६ सय ५० लिटर कच्चा पदार्थ र भाडाहरू समेत बरामद गरेको कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक हेमराज शाहीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले अवैध घरेलु मदिराविरुद्ध अभियान सञ्चालन गरेको बताए । उनका अनुसार विभिन्न सवारी साधनमा राखेर अवैध मदिरा रौतहट सदरमुकाम गौरसम्म पुग्दै आएको छ ।चन्द्रपुर नगरपालिकाका विभिन्न इलाकाहरुबाट अवैध घरेलु मदिरा सवारीसाधनमा हालेर जिल्लाको सीमावर्ती क्षेत्रहरुसम्म पनि ओसारपसार हुँदै आएको छ । भारत सरकारले मदिरामा प्रतिबन्ध लगाएपछि ठुलो संख्यामा सीमावर्ती क्षेत्रका भारतीयहरु मदिरा सेवन गर्नको लागि नेपालमा आउने गरेका छन् । जसले गर्दा अवैध घरेलु मदिराको ओसारपसार बढेको पाइन्छ ।
प्रहरी नायव उपरीक्षक शाहीले अवैध मदिराको ओसारपसार रोक्न राजमार्गमा रहेका प्रहरी चौकीहरुलाई नियमित चेकजाँच गर्न निर्देशन दिइसकेको बताउँदै प्रहरीले शंकास्पद स्थानहरुमा छापा मार्ने काम पनि नियमित गरिरहेको जानकारी दिए ।चन्द्रपुरको चुरेफेदीमा रहेका गाँउ, चन्द्रनिगाहपुर, वसन्तपुर, सन्तपुर र गुजरा नगरपाकिलाको कोठीयार, रंगपुर र कटानीमा धेरै घरेलु मदिरा उत्पादन हुने स्थानीयको गुनासो छ ।