वृद्धभत्ता लिन सास्ती, ६ महिनादेखि वृद्धभत्ता नपाएको गुनासो
वीरगंज संजाल
५ चैत्र २०७६, बुधबार १६:१८
४८८७
रौतहट । रौतहट जिल्लाको दुर्गाभवतीका स्थानीयले नेपाल सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता लिन निकै दुःख पाएको गुनासो गरेका छन् । बैंकिङ माध्यमद्वारा सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि सेवाग्राहीले अझ बढी तनाव खेप्नु परेकाे छ । सरकारले सामाजिक सुरक्षा भत्तामा अनियमिता नहोस् भनेर बैंकिङ प्रणाली मार्फत वितरण गर्न सुरु गरेपनि व्यवहारिक रुपमा भने निकै झण्झटिलो रहेको सेवाग्राहीको गुनासो छ । विशेष गरी वृद्धभत्ता लिन आउने यो प्रणालीबाट अझ बढी प्रवाभित बनिरहेका छन् ।
र्गाभगवती गाउँपालिकाका वृद्धवृद्धा आफ्नो वृद्धभत्ता लिन बारम्बार बैंक धाउनु परेकाले आजित भएका छन् । ७० वर्ष उमेर कटेकालाई नेपाल सरकारले प्रदान गर्दै आइरहेको मासिक ३ हजार वृद्धाभत्ता लिनकाे लागि ५/६ बैंक पटक धाउनु परेको सेवाग्राहीको गुनासो छ ।सो गाउँपालिकामा रहेको सनराइज बैंक मार्फत वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता लिन बैंकमा घण्टौ लाइन लाग्नु पर्ने ८३ वर्षीया रिजनी देवी बताउनुहुन्छ । घण्टौ लाइन बस्दा पनि पालो नआएर ३ दिनदेखि लगातार धाइरहेको उहाँको गुनासो छ ।
आफ्नो भत्तालिन ५ दिनदेखि बैंकमा धाउँदा पनि नपाएको रामशरण वैठाको गुनाेसाे छ । ‘जहिले आउँदा पनि बैंकले तपाईको पालो आएको छैन् भन्दै फर्काउछ,’ उहाँले भन्नुभयाे । हिडडुल गर्न पनि समस्या रहेको उहाँ बारम्बार बैंकमा धाउन नसक्ने अवस्थामा हुनुहुन्छ ।आफ्नी आमालाई भत्ता लिनको लागि दैनिक २ सय टेम्पो भाडा खर्च गरेर आउनु परेको भलोहिया निवासी रामनरेश बताउनुहुन्छ । ‘३ दिनदेखि वृद्ध आमालाई लिएर आइरहँदा बैंकले तपाईको नम्बर आएको छैन् भन्दै फर्काउछ, पालाे कहिलाे आउने हाे पत्तै छैन,’ उहाँले भन्नुभयाे ।
राज्यले प्रदान गरेको भत्ता लिन पनि यति धेरै दुःख र झण्झट पाएपछि उनीहरु आक्रोशित बनेका छन् । बैंक र स्थानियतहले राम्रो व्यवस्थापन गर्न नसक्दा सेवाग्राहीले दुःख पाइरहेको स्थानीय नेकपा नगर कमिटी अध्यक्ष शम्भु सिंह बताउनुहुन्छ ।सिंहले गाउँपालिका र बैंकले सम्वन्यन गरेर प्रत्येक वार्डको फरक–फरक दिन भत्ता वितरण गर्ने व्यवस्था मिलाए सेवाग्राहीले यतिधेरै दुःख नपाउने बताउनुभयाे । उहाँले यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराउनुभयो ।
बैंकमा वृद्धभत्ता लिन आउने कतिपय लठ्ठी टेक्दै आइरहेका देखिन्थे भने कतिपय राम्रोसँग उभिननसक्ने पनि थिए । उनीहरुले राज्यले पहिले जसरी घरघरमै आफूले पाउने भत्ता वितरण गरे निकै सजिलो हुने बताए । वृद्धभत्ता बैंकमा दिने गरेदेखि आफूहरुले निकै दुःख पाउँदै आइरहेको उनीहरूकाे गुनासाे थियाे ।
दुर्गा भवगती शाखाका प्रमुख धर्मराज चौधरीले आफूहरुले छिटो छरितो रुपमा सेवाग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न प्रयास गरे पनि एकैपटक धेरै संख्यामा सेवाग्राहीहरु आउँदा समस्याहुने गरेको बताउनुहुन्छ ।
के भन्छ बैंक र गाउँपालिकाका ?
गाउँपालिकामा रहेका ५ वटै वार्डका सामाजिक सुरक्षा भत्ता लिन एकैदिन आउँदा बैंकमा अत्याधिक चाप हुने गरेको जसले गर्दा सेवाग्राहीलाई फर्काउनु परेको उहाँको भनाइ छ ।यस सम्बन्धमा दुर्गा भगवती गाउँपालिकाका प्रमुख अरुण कुमार साहसँग प्रतिक्रिया लिदाँ उहाँले आफूले सामाजिक सुरक्षा भत्ता सहज रुपमले वितरण गर्न प्रयास गरिरहेको बताउनुयभाे । झण्झट रहित ढंगबाट भत्ता पाउने वातावरण मिलाउनकाे लागि पनि गाउँपालिका लागिपरेकाे उहाँले बताउनुभयो ।
सर्वसाधरण बैंकिङ प्रणालीमा अभ्यस्त नभएकाले पनि केही समस्या देखिएको भन्दै उहाँले बैंकसँग सहकार्या गरेर सम्भव भए घरघरमै गएर वृद्धभत्ता बाड्ने आफ्नो योजना रहेको सुनाउनुभयो ।यसैगरी गरि सो गाउँपालिका सामाजिक सुरक्षा भत्ता लिने अधिकासंले ६ महिनादेखि आफुहरुले भत्ता नपाएको गुनासो गरेका छन् । गाउँपालिकाले आफूहरुको खातामा रकम नहालेकाले गत कार्तिकदेखि भत्ता नपाएको सेवाग्राहीको भनाइ छ ।जिल्लाका अधिकासं स्थानीय तहमा विशेषगरी वृद्धभत्ता लिन आउने अधिकांस वृद्धवृद्धाहरुले यस्ताखाले समस्या भोग्दै आएका छन् ।