बीरगंज : प्रदेश २ का ५९ वटा गाउँपालिका मध्ये १० वटा गाउँपालिकाले अझै गाउँसभा गरेको छैन । सभा नभएपछि ती सबै गाउँपालिकामा काम र विकास निर्माण रोकिएको छ ।
१४ स्थानीय तह रहेको पर्सा जिल्लामा अझै चार गाउँपालिका सखुवा पर्सौनी, विन्दवासीनी, पकाहा मैनपुर र धोविनी गाउँपालिकाले गाउँसभा गरेको छैन । त्यस्तै सिराहाको औरही तथा सप्तरीको राजगढ, महादेवा, बलान विहुल, तिरहुत र छिन्नामस्ता गाउँपालिकामा अझै गाउँसभा हुन सकेको छैन्।
गाउँपालिका महासंघ प्रदेश २ का अध्यक्ष विजयकुमार विजयकुमार चौरसिया प्रमुख रहेको पर्साको पकहा मैनपुर गाउँपालिकाले पनि सभा गराउन सकेको छैन्। सभा नहुनुको कारण कर्मचारीको अटेरी गरेको अध्यक्ष चौरसियाले बताए।
गाउँपालिकामा समस्याको चाङ रहेको र संघले गाउँपालिकालाई दिएको अधिकार पनि कटौती गर्दै लगेकाले अधिकार प्राप्तिका लागि दबाव दिन गाउँपालिका प्रमुख–उपप्रमुखको बैठकले १२ वटा निर्णय गरेको चौरसियाले जानकारी दिए।
विन्दावासिनी गाउँपालिका पर्साकी उपप्रमुख किरणदेवी गुप्ताले पालिकाको कामलाई कर्मचारीले वेवास्ता गरेका कारण सभा हुन नसकेको बताइन्। गुप्ताले गाउँपालिकाका प्रमुखले पनि सभा गराउनेप्रति चासो नदेखाएकाले गाउँपालिकाको कामकाज ठप्प रहेको बताइन्।