कोरोना त्रासले रगत संकलन घट्यो : दैनिक माग ३५० युनिट, संकलन सय युनिट
वीरगंज संजाल
२८ फाल्गुन २०७६, बुधबार ०७:३१
४०७३
काठमाडौं । दैनिक तीन सय ५० युनिट ताजा रगत माग रहेको काठमाडौंमा अहिले सय युनिट मात्रै संकलन हुन थालेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रासका कारण रक्तदान कार्यक्रमहरू नहुँदा रगत संकलनमा कमी आएको हो ।
रक्तसञ्चार केन्द्रका उपनिर्देशक डा. प्रकाश यादवका अनुसार कोरोनाको त्रासले नियमित रक्तदानका कार्यक्रम हुन छाडेका छन् । यही कारण रगत संकलनमा गिरावट आएको हो । रक्तदान कार्यक्रमहरू रगत संकलनको प्रमुख स्रोत हो ।
रगत संकलनमा गिरावट आउँदा बिरामीले माग गरेअनुसार रगत पाउन छाडेका छन् । कोरोनाकै कारण पूर्व निर्धारित रक्तदान कार्यक्रमहरू स्थगित भएको डा. यादवको भनाइ छ । सरकारले भेला, सभा, समारोह नगर्न भनेसँगै रक्तदान कार्यक्रम रद्द भएका हुन् ।
विगत दैनिकजसो ५० युनिट रगत संकलन हुने स्थानबाट अहिले बढीमा १२ युनिट मात्रै संकलन भइरहेको डा. यादवले बताए । रगत संकलनबारे सबैले ध्यान नदिएको खण्डमा ठूलो समस्या आउन सक्ने उनले बताए ।
ताजा रगतको माग दिनहुँ बढ्दै गएको छ । तर, रक्तदानका कार्यक्रमहरू रद्द भइरहेका छन् । दैनिक चार वटा मात्रै रक्तदान कार्यक्रम भए बिरामीको मागलाई धान्न सक्ने अवस्था केन्द्रसँग रहने थियो ।
चार वटा कार्यक्रमबाट दुई सय युनिट ताजा रगत संकलन गर्न सकिने उपनिर्देशक डा. यादव बताउँछन् । उनले भने, ‘ताजा रगत अभाव हुन नदिन दैनिक कम्तीमा चार कार्यक्रम हुनैपर्छ । धेरैजसो शनिबार हुने रक्तदानका कार्यक्रम पनि रद्द भएकाले समस्या भएको छ ।’
केन्द्रले उपत्यकाका १५० अस्पतालमा रगत वितरण गर्छ अहिले दैनिक सय युनिट रगत मात्रै संकलन भइरहेको र यो क्रम घट्दो रहेको रक्तसञ्चार केन्द्रले जनाएको छ । केन्द्रले उपत्यकाका १ सय ५० अस्पतालमा रगत वितरण गर्दै आएको छ । रक्तसञ्चार केन्द्रले ६० प्रतिशत बिरामीलाई सेवा दिँदै आएको छ ।
केही दिनदेखि ताजा रगत अभावले मागअनुसार दिन नसकेको उनले बताए । उपलब्ध हुँदै आएका रगत पनि ए र ओ पोजेटिभ रगत समूहका छन् । धेरैजसो मानिसमा ए र ओ पोजेटिभ समूहका रगत हुने भएकाले यी समूहका रगत पाइए पनि अन्य रक्त समूहका रगत पाउन निकै कठिन छ । नयाँ पत्रिका दैनिकबाट