पर्साको ठोरीमा निर्माणाधीन हुलाकी सडकमा निर्माण भैरहेको कल्भर्ट गुणस्तरहिन भएको भन्दै बुद्धनगरका स्थानीय बिरोधमा उत्रिएका छन् ।बिरगंज ठोरी हुलाकी सडक खण्ड अन्तरगत ठोरी -३,बुद्धनगरमा निर्माण भैरहेको कल्भर्टमा सिमेन्ट र बालुवा लगायतको निर्माण सामग्री पर्याप्त प्रयोग नगरी कमसल तरिकाले निर्माण भैरहेको भन्दै स्थानीयले बिरोध गरेका हुन् ।
शनिबार निर्माणाधिन कल्भर्टमा मापदण्डअनुसार निर्माण सामग्री प्रयोग नभएको बिरोधमा स्थानीय उत्रिएपछि कल्भर्ट निर्माणको काम नै अबरुद्ध भएको छ।स्थानीय केहि युवाहरुलाई साथमा लिएर कमसल किसिमले कल्भर्ट निर्माण गर्न लागेको स्थानीयको आरोप छ।न्युनतम रुपमासिमेन्ट र बालुवाको जुन अनुपात हुनुपर्ने त्यो मापदण्ड समेत पूरा नगरेकोले आफुहरु बाध्य भएर बिरोधमा उत्रनुपरेको स्थानीय युवा शिव खडकाले बताए ।उनले कल्भर्ट निर्माणको मापदण्ड अनुसार निर्माण सामग्री प्रयोग गर्न अनुरोध गर्दा कल्भर्ट निर्माण गर्ने ठेकेदारले काम नै बन्द गर्ने धम्की दिएको भन्दै आक्रोश व्यक्त गरे।
सरसर्ती हेर्दा पनि अत्यन्त कमसल किसिमले कल्भर्ट निर्माण हुन लागेको जोकोहीले देख्न सक्ने खड्काले बताए ।स्थानीयले बिरोध गरेपछि कल्भर्ट निर्माणको काम हाललाई रोकिएको र गुणस्तरीय किसिमले निर्माण गर्ने लिखित प्रतिबद्धता ठेकेदार पक्षबाट आएपछि मात्र काम सुचारु गर्न दिने खड्काको भनाइ छ।उता ठेकेदार कम्पनीका फिल्ड इन्चार्ज उद्दव न्यौपानेले आफू बिरगंजमा रहेको र कल्भर्टको बिषयमा विस्तृत रुपमा बुझ्न बाकी नै रहेको प्रतिक्रिया दिए।
ठोरीको चमरीहोलदेखि चौतारासम्मको सडक निर्माणको ठेक्का सकारेको बानियाँ निर्माण सेवाले कल्भर्ट निर्माण गर्न स्थानीय युवाहरूलाई पेटी ठेक्का दिने गरेको छ।यसअघि पनि कल्भर्टको गुणस्तरीयतालाई लिएर पटकपटक स्थानीयले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।यसअघि ठोरी ४ ब्रम्हानगर नयाँवस्तीमा निर्माणाधिन कल्भर्ट गुणस्तरहिन भएको भन्दै भत्काइएको थियो भने नयाँवस्तीकै अर्को कल्भर्ट गएको बर्ष बर्षातमा क्षतविक्षत भएको थियो।