मिनापले होली महोत्सव कार्यक्रममा उपस्थितलाई मास्क वितरण गर्ने
वीरगंज संजाल
२४ फाल्गुन २०७६, शनिबार १२:०८
६१३३
जनकपुरधाम | मिथिला र मैथिलीको क्षेत्रमा निरन्तर काम गर्दै आएको जनकपुरधामस्थित मिथिला नाट्यकला परिषद (मिनाप)ले यस वर्षको होली महोत्सव र महामूर्ख सम्मेलन फरक तरिकाले मनाउन लागेको छ ।
मिनापले यस वर्ष कोरोनालाई मध्यनजर गर्दै कार्यक्रमस्थलमा उपस्थित सबैजनालाई मास्क वित्तरण गर्ने र अविरको सट्टा फूलको प्रयोग गरेर होली महोत्सव एवं महामूर्ख सम्मेलन मनाउन लागेको हो । मिनापले आज (शनिबार) पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा मिनापका अध्यक्ष परमेश झाले २५ गते आईतबार डम्फा वादनबाट उद्घाटन गरिने कार्यक्रममा होली माथि चर्चा परिचर्चा, निश्चित मापदण्ड अनुसार होरी गायन, उत्कृष्टाको चयन र पुरस्कार वित्तरण गरिने जानकारी दिए ।
कार्यक्रमको दोश्रो दिन विशिष्ट शैलीमा उदघाटन गरि होली गायन, मिनापको हास्य शैलीमा व्यङ्गपूर्ण नाट्क प्रस्तुती, हास्य कवि गोष्ठी, मूर्ख एवं महामूर्खको उपाधि वित्तरण, मूर्ख महामूर्खलाई सम्मान तथा प्रेमोपहार वित्तरणसँगै समापन गरिने अध्यक्ष झाले जानकारी दिए ।अध्यक्ष झाले यसपटकको होली महोत्सवमा कोरोनाभाइरसको विषयमा समेत सचेतना कार्यक्रम गरिने जानकारी दिए । मिनापका पूर्वअध्यक्ष सुनिम मल्लिककले यो पर्व एक प्रकारले महोत्सवको साथै परिक्रमाको परिपुरक रहेको बताए । होली पर्वको पौराणिक गाथाका विषयवस्तु, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका मैथिली भाषामा गाइने जोगिरा (फागु गीत) मिथिलाञ्चलमा लोप हुने अवस्थामा रहेको बेलामा त्यसको संरक्षण गर्न जनकपुरधामको मिथिला नाट्य कला परिषदले प्रत्येक वर्ष होली महोत्सव र महामुर्ख सम्मेलनको आयोजना गर्दै आएको छ ।
मिथिला नाट्यकला परिषद (मिनाप)ले २०६१ सालमा महामूर्खको उपाधि कवि नरेश ठाकुर, २०६२ मा एमाले नेता शीतल झा, २०६३ मा जनकपुर नगरपालिकाका तत्कालीन मेयर हरिबहादुर बिसी, २०६४ मा सदभावना नेता ओमकुमार झा, २०६५ मा वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमल, २०६६ मा नेकपाका नेता रामचन्द्र झा,२०६७ मा राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोष कापडि भ्रमर, २०६९ मा नेपाली कांग्रेसका नेता रामसरोज यादव, २०७० मा पूर्वसभासद डा।विजयकुमार सिंह,२०७१ मा नेकपाका नेता शत्रुधन महतो,२०७२ मा समाजसेवी पवन सिंघानिया,२०७३ मा मधेश आन्दोलनका कारण कार्यक्रम स्थगित गरिएको थियो भने २०७४ मा राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लाल र २०७५ सालमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई महामूर्खको उपाधि प्रदान गरेको थियो ।