अचानक ब्रेक लगाउँदा १० सवारी साधन ठोक्किए, विद्यार्थीसहित १५ जना घाइते
वीरगंज संजाल
२४ फाल्गुन २०७६, शनिबार ११:५८
४२३५
भक्तपुर । सूर्यविनायक नगरपालिका- ५ चुनदेवीमा १० वटा सवारी साधन एक-आफसमा ठाेक्किँदा १५ जना घाइते भएका छन् ।शुक्रबार साँझ सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको प्रदेश नं. ३–०१–००३ प ४६४७ काठमाडाैँ वर्ल्ड स्कुलको भ्यानले सडकमा अचानक ब्रेक लगाउँदा पाँचवटा मोटरसाइकल, दुईवटा टाटा अटाेमाेबाइल, दुईवटा भ्यान र एउटा कार एक-आफसमा ठोक्किएका थिए ।
तीब्र गतिको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा काभ्रेपलाञ्चोक पाँचखाल न.पा. ६ बस्ने मोटरसाइकल चालक ३१ वर्षीय रामचन्द्र बिक, स्कुटर चालक ओखलढुंगा घर भएर हाल पेप्सीकोला बस्ने २८ वर्षीय गुनाकेशरी बस्नेत, स्कुटरको पछाडि रहेकी ३० वर्षीय शर्मिला के.सी, टाटा मोबाइल चालक मकवानपुर भिमफेदी गाउँपालिका ५ बस्ने ३८ वर्षीय सुदिपलाल डंगोल घाइते भएको प्रहरीले जनाएको छ ।
त्यस्तै काठमाडाैँ वर्ल्ड स्कुलका शिक्षक आशिष न्यौपाने, स्कुलका २१ वर्षीय छात्र डिल्ली बुढा, काठमाडाैँ पेप्सीकोला बस्ने विद्यार्थीहरु १२ वर्षीय नरगना थापा, १० वर्षीय शाहिसा सेढाई, ११ वर्षीय साहिस सेढाई, १३ वर्षीय अनुभव क्षेत्री, १० वर्षीय जेनिफर बस्नेत, १३ वर्षीय आरुप चौलागाई, १० वर्षीय आदित्य गिरी, पुरानोठिमी बस्ने ६ वर्षीय शान्ति प्रजापति र १० वर्षीय शिलदिया प्रजापति घाइते भएका छन् ।घाइतेहरुको सल्लाघारीस्थित डा. इवामुरा अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।