रोटी र कविता
जो रोटी बनाउँछ, ऊ कविता लेख्दैन
जो कविता लेख्छ, ऊ रोटी बनाउँदैन
दुवैबीच एकापसमा कुनै सम्बन्ध देखिँदैन ।
तर त्यो के हो
जब एउटाले रोटी खाँदै गर्दा– लाग्छ
ऊ कविता पढिरहेको छ
र, कोही कविता पढिरहेको जस्तो लाग्छ
ऊ रोटी खाइरहेको छ ।
० ० ० पिताजीको चस्मा
बुढ्यौलीमा पिताजीका चस्मा एकएक गरेर बेकार हुँदै गए
आँखाका कयौं डाक्टरलाई देखाइयो, विशेषज्ञसँग भेटियो
अन्त्यमा सबैले भने– तपाईंको आँखाको अब कुनै उपचार छैन
आँखाका जुन भागमा वस्तुको तस्बिर बन्छ
त्यहाँ रगत जान बन्द भएको छ
यति भनेर डाक्टरले अर्को कुनै ठूलो डाक्टरको नाम बताए ।
पिताजीलाई कहिल्यै निश्चित भएन
नयाँ–पुराना जति पनि चस्मा उनले जम्मा पारेका थिए
सबै फेरिफेरिकन लगाउँथे
बढी पावरयुक्त शिशा पनि केहीबेर
अखबार पढ्न मात्र काम लाग्थ्यो
एक दिन उनले भने– मलाई एउटा यस्तो चस्मा ल्याइदेऊ
जुन फुटपाथमा बेचिन्छ
त्यस्ता चस्मा बच्चाका लागि मात्र हुन्छन् भन्ने
उनलाई सम्झाउन कठिन थियो–
ठूला मानिसलाई त्यो काम लाग्दैन ।
पिताजीको अन्तिम समयमा जब म घर गएँ
उनले भने– संसार छाड्न मलाई अब कुनै दुःख छैन
जबकि, तिमीले घरलाई कम बुझेका छौ
तर मेरो हेरचाह–औषधि सबैले निकै राम्रोसँग गरेका छन्
केवल एउटा यही इच्छा बाँकी रह्यो
तिमीले फुटपाथमा बेचिने चस्मा ल्याइदिएको भए
तीमध्ये कुनै एउटा त
मेरो आँखामा निश्चित रुपमा ‘फिट’ हुन्थ्यो ।
(सन् १९४८ मा भारतमा जन्मिएका मङ्गलेश डबराल विशेष गरी कवितामा चर्चित छन् । उनका ‘पहाड पर लालटेन’, ‘हम जो देखते हैं’, ‘आवाज भी एक जगह है’लगायत कविताङ्ग्रह प्रकाशित छन् । संसारका विभिन्न भाषामा उनका कविता अनुदित छन्, उनले थुप्रै पुरस्कार पनि पाएका छन् । )