अन्नपूर्णकर्मी शान्ति भट्टराई बसेको घरमा पुग्दा उनी सुतेकी थिइन्। दिनभरि टोलाएर बस्छिन्-सुत्छिन्। घरबाहिर टहलिन मन लाग्दैन उनलाई। पीडा सम्झेर धुरुधुरु रुन थाल्छिन्। घटनाबारे कुरा गरे आँखाबाट आँसुको धारा रोकिँदैन। आर्थिक अवस्था कमजोर छ। मानसिक रोगको औषधि पनि सेवन गर्छिन्। औषधि सकिएको छ तर भारतीय बजारमा पाइने औषधि लिन जान सकेकी छैनन्। एक वर्षयता परिवारमा आएको समस्याका कारण उनी यस अवस्थामा पुगेकी हुन्। केही वर्षअघिसम्म उनको परिवारमा खुसियाली थियो। परिवारले भैरहवा क्षेत्रमा खाजा पसलबाट गुजारा चलाउँदै आएको थियो। पति र छोराछोरीसँग बसेर बुढेसकालमा रमाउने कुरा गर्थिन् तर दैवलाई त्यो मञ्जुर थिएन। पतिको मृत्यु भयो। आर्थिक संकटले परिवार घेरिन थालेपछि उनी होटेलमा झाडुपोछाको काम गर्न थालिन्। जेठी छोरी यसुदा र कान्छी छोरी पनि घरको गुजारा चलाउन रोजगार गर्न थाले। माइली छोरीको बिहे भइसकेको छ। छोरा सानै छ।
यसुदा रूपन्देहीको सीमानाका सिद्धार्थनगर नगरपालिका १ बेलहियास्थित रूपन्देही ओमसतिया ४ का ४८ वर्षीय माधवप्रसाद ज्ञवालीले सञ्चालन गर्ने एक मनी एक्सेन्ज काउन्टरमा काम गर्न थालिन्। परिवारका सदस्य काम गरेर रकम जोहो गर्दै परिवार चलाउँदै गरे। परिवारमा पुनः विस्तारै खुसी फर्किन थालेको थियो। तर ०७५ कात्तिक २० गतेको दिन यसुदा र उनको परिवारका लागि ‘कालो दिन’ बन्न पुग्यो। उक्त दिन भारतीय गाडीका चालक राजस्थानका राजेश गुर्जरले तीन लाख नेपाली रुपैयाँलाई भारतीय रुपैयाँमा सटही गरिदिन सटही काउन्टरमा उक्त रकम यसुदालाई दिए। यसुदाका अनुसार ती गाडी चालकसँग विगतदेखि रकम सटहीको कारोबार हँुदै आएको थियो। तर त्यस दिन कमिसनको प्रलोभनमा सीमापारि भारतीय बजार सुनौलीमा सटही गर्न दिएको चालकको रकम समयमा नपाउँदा रकम दिन नसकेको उनले प्रहरी बयानमा भनेकी छन्।
पीडक माधवप्रसाद ज्ञवाली ।
समयमा नोट सटही गरेर नदिँदा ती चालकले एकाएक आपूm ठगिएको भन्दै इप्रका बेलहिया कार्यालयमा (नजिकै रहेको प्रहरी कार्यालय) गए। यसुदालाई प्रहरीले तत्काल पक्राउ गर्यो। उनको पक्राउ रोहबरमा सटही काउन्टरका सञ्चालक माधवप्रसाद ज्ञवाली नै बसे। त्यस्तै साक्षीहरूमा सिद्धार्थनगर नगरपालिका १ का ४६ वर्षीय दीपेन्द्र खतिवडा, सोही स्थानका ४२ वर्षीय दिवाकार पोखरेल र सिद्धार्थनगर नगरपालिका ३ का ३४ वर्षीय हरिनारायण चापागाईं छन्। पक्राउ रोहबर र साक्षीमा बसेका सबै व्यक्ति साथी हुन्।
भोलिपल्ट कात्तिक २१ गते नै यसुदाकी बहिनी मालती भट्टराईले चालक राजेशलाई तीन लाख रुपैयाँमध्ये २ लाख ७० हजार नगद दिएको र ३० हजार अर्कोपटक आउँदा दिने भनी जिल्ला प्रहरी कार्यालयमै लिखित कागज सहमति नै गरे। जबकि प्रहरी कार्यालयमा नगद लेनदेन हँुदैन। दुवै पक्षबीच लेनदेन भइसके पनि प्रहरीले सोही दिन यसुदाविरुद्ध ठगी मुद्दामा जाहेरी दर्ता गरेर मुद्दा प्रक्रिया अगाडि बढायो। अभियोगपत्र दाखिला हुनुअघि लेनदेन भइसकेको र प्रहरी आफंैले जाहेरी लगेर दस्तखत गराएको चालकले अदालतमा बकपत्र गरेका छन्। उता यसुदा प्रहरी थुनामै थिइन्। यता प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएपछि परिवार तनावमा पर्यो।
‘हामीसँग पैसा थिएन जसोतसो जोहो गरेर चालकलाई रकम तिर्यौं तर पनि प्रहरीले पूर्वाग्रही ढंगले दिदीउपर मुद्दा प्रक्रिया अगाडि बढाइदियो’ बहिनी मालतीले भनिन्, ‘पछि पो थाहा भयो कि रूपन्देहीको तत्कालीन सरकारी वकिललाई फसाउन दिदीलाई योजनाबद्ध रूपमा फसाइएको रहेछ।’
सामान्यतः प्रहरीले भारतीय नागरिकका हकमा यस्तो घटना चाँडै दर्ता गर्दैन। तर यो घटनामा प्रहरी निकै ‘स्पिडली एक्सन’ मा गएको देखिएको छ।
नेपाली नागरिककै रकम लेनदेनका घटना भए पनि प्रहरीले प्रशासन कार्यालयबाट जारी हुने शान्तिसुरक्षा कायम गराउने पत्रका नाममा रकम लेनदेनको छलफल गराई मेलमिलाप गराउने प्रयास गर्छ। तर यो घटनामा चालकले रकम पाए पनि मुद्दा कमजोर हुने जान्दाजान्दै प्रहरीले मुद्दा प्रक्रिया अगाडि बढाएको छ।
यसुदालाई प्रहरीले पक्राउ गर्दा पक्राउ रोहबरमा र साक्षीमा बस्नेहरूको अर्का मित्र हुन् सिद्धार्थनगर नगरपालिका १ का ४८ वर्षीय श्यामकुमार पाठक। प्रहरीको वस्तुस्थिति मुचुल्कामा पाठकले भनेका छन्, ‘यसुदाले चालकको रकम लिएर ठगी गरी फरार भएपछि प्रहरीले पक्राउ गरेको र यसुदाले ठगी गरेको पूर्ण विश्वास रहेकाले उनलाई कानुनबमोजिम सजाय हुनुपर्छ।’
त्यस्तै यसुदाको पक्राउको रोहबरमै बसेका सञ्चालक ज्ञवालीले यसुदाले तीन लाख लिएर राखेको बारे आपूm जानकार भए पनि उनी पक्राउ परेको दिन आपूm सटही काउन्टरमा नभएको र उनले रकम नदिएपछि पक्राउ परेको विषय सुनेर थाहा पाएको कागज गरेका छन्। जबकि यसुदालाई पक्राउ गर्दा उनी नै रोहबरमा बसेका छन्।
चालकले रकम पाएको लिखित सहमति गरे पनि रूपन्देही जिल्ला अदालतले ठगी मुद्दामा यसुदालाई पुर्पक्षका लागि थुनामा पठायो। आर्थिक अवस्था कमजोर भएकाले यसुदाको परिवारले वकिलसमेत राख्न सकेनन्।
यसुदाको बहिनी मालतीका अनुसार दिदीलाई थुनामा पठाएपछि रातको समयमा सञ्चालक ज्ञवाली आपूmहरूको कोठामा आएर यसुदालाई छुटाउन रकम माग गर्न आएका थिए।
‘अस्ति जसोतसो गरेर चालकलाई रकम दियौं अब हामीसँग कसैलाई दिनका लागि पैसा छैन भन्दै उनलाई फर्काइदियौं’ बहिनी मालतीले भनिन्, ‘त्यसपछि खै कसरी हामी सरोकारवाला भएको मुद्दामा उनीहरूले तत्कालीन सरकारी वकिलले घुस लिएको भन्दै अख्तियार लगाएर फसाइदिए, हामीलाई केही थाहा भएन।’
उनले थपिन्, ‘न हाम्रो परिवारसँग तत्कालीन सरकारी वकिलले घुस मागेका थिए, न त हामीले कसैलाई रकम दिएका थियौं।’
अख्तियारले तत्कालीन सरकारी वकिललाई पक्राउ गरिसकेपछि कागजअनुसार यसुदाविरुद्ध लागेको देखिएका व्यक्तिहरू नै अदालतमा प्रहरीले ‘सबै’ आफैं गरेको भन्दै ‘यसुदाका पक्षमा’ बयानमा दिएका छन्।
यसुदाले ठगी गरेको कारण सजाय पाउनुपर्छ भनी प्रहरीको वस्तुस्थिति मुचुल्कामा भनेका पाठकले आफ्नो बयान फेर्दै मंसिर १७ गते अदालतमा यसुदाले ठगी नगरेको र उनलाई माग दाबीअनुसार सजाय गर्न नहुने बयान दिए।
बयानमा उनले भनेका छन्, ‘प्रहरीले वस्तुस्थिति मुचुल्का सुनेर नपढाएको र चाँडै छुट्ने भनी सहीछाप गराएका थिए, यसुदाले ठगी गरेकी होइनन् र उनलाई सजाय हुनु हँुदैन।’
त्यस्तै भारत गइसकेका चालक पनि पुनः अदालतसमक्ष ‘यसुदाका पक्षमा’ बकपत्र गरेका छन्। बकपत्रमा उनले भनेका छन्, ‘अभियोगपत्र दाखिल हुनुअघि लेनदेन भइसकेको थियो र प्रहरीले आफंै जाहेरी दरखास्त लेखेर सही छाप गराएका थिए, व्यहोरा के छ थाहा भएन। यसुदाले ठगी पनि गरेका छैनन्।’
सञ्चालक ज्ञवालीले पनि यसुदाले ठगी गर्ने नियतले रकम नलिएको र उनले ठगी गरेकै होइनन् भन्ने बकपत्र गरेका छन्।
त्यसपछि जिल्ला अदालत रूपन्देहीका न्यायाधीश दयाराम ढकालको एकल इजलासले ०७५ माघ १७ गते अभियोग माग दाबीबमोजिमको कसुर गरेको देखिन नआएकाले सफाइको फैसला गर्यो।
थुनछेक आदेशले कारागारमा रहेकी यसुदा तीन महिनापछि थुनामुक्त भइन्। पुनः उनी त्यही सटही काउन्टरमा काम गर्न थालिन्। ‘पहिला पक्राउ गराएर सरकारी वकिल फसाएपछि आपूmलाई मुद्दाबाट किनारा लगाउनमा सञ्चालक ज्ञवालीले सहयोग गरेको जस्तो देखाएका कारण म पुनः त्यहीं काम गर्न पुगें’ यसुदा भन्छिन्, ‘पछि आएर थाहा भयो कि सबै सञ्जाल ज्ञवाली र उनका साथीहरूले तत्कालीन वकिल फसाउन बुनेका रहेछन्।’
काम गर्दै जाँदा प्रहरीले फेरि ०७५ चैत १३ गते उनलाई पक्राउ गर्यो। कारागारबाट निस्किएपछि काम गर्न गएकी आपूmविरुद्ध सुरुमा ठगी मुद्दामा फसाएका दुईजना व्यक्तिसहितले पुनः बैंकिङ कसुर मुद्दा दर्ता गराएको बताइन्। भैरहवा क्षेत्रमा बस्दै आएको यसुदाको परिवार अहिले यहाँबाट विस्थापित भएको छ। यसअघि ठगी मुद्दामा जोडिएका सटही काउन्टरका सञ्चालक माधवप्रसाद ज्ञवाली र श्यामकुमार पाठकले नै उनीविरुद्ध मुद्दा दायर गराएका थिए। साथै यस घटनामा उनीहरूका एकजना अर्का साथी सन्तोषकुमार उपाध्याय (सटही काउन्टर व्यवसायमा ज्ञवालीको साझेदार) पनि जोडिएका छन्।
तीनजना व्यक्तिले यसुदाले आपूmहरूसँग रकम सापटी लिएको र भुक्तानीका लागि अलग–अलग चेक काटी दिएकोमा उक्त खातामा रकम नभएको भन्दै बाउन्स रिपोर्टसहित बंैकिङ कसुर मुद्दा जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जाहेरी दर्ता गराएका थिए। तीनजना व्यक्तिहरूले यसुदालाई रकम सापटी दिएको जाहेरीमा उल्लेख गरे पनि रकम दिएको प्रमाणस्वरूप कुनै पनि किसिमको बैंक भौचर, लिखितम कागजको उपलब्ध गराएका छैनन्। सामान्यतः कुनै पनि व्यक्तिले प्रत्याभूतिका लागि कसैसँग लाखौं रुपैयाँको लेनदेनको कारोबार गर्दा बैंकिङ प्रणालीमार्फत वा लिखितम कागज गराएर मात्र कारोबार गर्ने गर्छ, तर यस घटनामा सापटी दिएको भनिएको रकम वा त्यसको स्रोतको अनुसन्धान गरिएको छैन।
नेपाल एसबीआई बैंक लिमिटेडको चेक नम्बर १९०२७८०३ बाट पाठकले ०७५ फागुन १४ गते मितिको ९ लाख ५० हजार, सञ्चालक ज्ञवालीले सोही बैंकको चेक नम्बर १९०२७८०४ बाट अर्को दिन अर्थात् ०७५ फागुन १५ गते मितिको १२ लाख र उपाध्ययले पनि सोही बैंकको चेक नम्बर १९०२७८०५ बाट फागुन ०५ गते मितिको ९ लाख ७५ हजार गरी कुल ३१ लाख २५ हजारबराबरको रकम र सजाय माग गरेका थिए।
तीनैजनाले भुक्तानीका लागि विभिन्न मितिमा ती चेकहरू क्लियरिङमार्फत सटही गर्न गएका थिए। तर ती चेक फिर्ता भए। बैंकले चेक फिर्ताको मुख्य कारण (रिर्टन रिजन) को मुख्य शीर्षकमा ‘खातामा पर्याप्त मौज्दात नभएको’ उल्लेख गरेर अर्को खाली स्थानमा ‘नोट’ लेखेर ‘सो चेक नम्बर नष्ट गराइएको’ बाउन्स रिपोर्ट दियो।
तर सञ्चालक ज्ञवालीले तीनपटक क्लियरिङका लागि हालेको चेकमा बैंकले अन्तिम पटक ०७५ चैत १० गतेमा ‘खातामा पर्याप्त मौज्दात नभएको’ मात्रका कारण चेक फिर्ता गरेको रिपोर्ट दिएको थियो, जसमा ‘नोेट’ भनेर केही उल्लेख गरिएको छैन।
बैंकले क्रमशः पत्र संख्या एनएसबीएल-बीएचडब्लू-२०७५–०७६-३४६, ३६० र ३६१ बाट प्रहरीलाई चैत ११ गते र १८ गते पठाएको पत्रमा पहिलो बुँदामा ‘खातामा पर्याप्त मौज्दात नभएको’ र दोस्रो बँुदामा ‘सो चेक नम्बर नष्ट गराइएको’ भन्दै भुक्तानी नहुनुको कारण उल्लेख गरेको छ।
यस मुद्दाको बयानमा यसुदाले भनेकी छन्, ‘ठगी मुद्दामा प्रहरीले पक्राउ गरेर ल्याउने क्रममा सटही काउन्टरमै चेक र अन्य कागजपत्रसमेत भएको ब्याग त्यही छुटेकाले त्यहींबाट चेक हराएको थियो, मैले कसैलाई चेक काटेर दिएको होइन।’
यसुदाले चेकबुक हराएको विषय उल्लेख गर्दै ०७५ फागुन ९ गते चेक नष्ट गर्न एसबीआई बैंकमा निवेदन दिएको बैंकले ०७५ चैत १८ गते (पत्र संख्या एनएसबीएल-बीएचडब्लू-२०७५–०७६-३५९) रूपन्देही प्रहरीलाई पठाएको पत्रले पुष्टि हुन्छ।
बैंकमा पत्रमा भनिएको छ, ‘…खाता नम्बरको चेकबुक हराएको भनी मिति २१-०२-२०१९ (फागुन ९ गते) मा यस बैंकसमक्ष निवदेन पेस गरेको जानकारी गराउँछांै।’
फागुन ९ गतेको निवेदनका आधारमा चेक नष्ट गर्न बैंकले शुल्कस्वरूप दुई सय रुपैयाँ र नयाँ चेकबुक जारीका लागि ५० रुपैयाँ गरी सोही दिन एकमुष्ठ यसुदाको खाताबाट २ सय ५० रुपैयाँ शुल्कसमेत लिएको छ।
बैंकले चेक नष्टबापत शुल्क लिएपछि चेक बाउन्सको रिपोर्टको भुक्तानी रोक्ने शीर्षकमा ‘एस’ उल्लेख गर्नुपर्ने हुन्छ। तर एसबीआई बैंकले चेक नष्टको निवेदन र त्यसबापत शुल्क लिए पनि ‘स्टप पेमेन्ट’ को शीर्षकमा ‘नो’ नै उल्लेख गरेको छ। अर्थात् उसले ग्राहकबाट चेक नष्टका लागि शुल्क लिए पनि भुक्तानी रोक्का गरेको छैन, जहाँ बैंकको बदमासी देखिएको छ।
बैंकले चेक नष्ट गर्न निवेदन र त्यसबापतको शुल्क लिइसकेको छ भने चेक भुक्तानीका लागि आएको अवस्थामा सम्बन्धित बैंकले बाउन्स रिपोर्टको भुक्तानी रोक्काको शीर्षकमा ‘एस’ उल्लेख गरेर चेक फिर्ता कारणको मुख्य शीर्षकमै चेक नष्ट गरिएको-चेक हराएको कारण मात्र दिन मिल्ने बैंकर्स बताउँछन्।
उनीहरूका अनुसार कुनै पनि व्यक्तिले चेक नष्ट गराइसकेको अवस्थामा बैंकले चेक फिर्ता हुनुको मुख्य कारणमा मौज्दात भए-नभएको विषयमा उल्लेख गर्न मिल्दैन।
‘मैले चेक नष्ट गर्न निवेदन र शुल्क दिइसकेको अवस्थामा बैंकले कसरी मेरो खातामा रकम नभएको विषय उल्लेख गर्न मिल्छ ? ’ यसुदाले प्रश्न गर्दै भनिन्, ‘मेरो खाता पर्याप्त रकम थिएन त्यसैले बैंक पर्याप्त रकम नरहेको मुख्य कारण दियो, के मेरो खाता पर्याप्त रकम भएको भए बैंकले भुक्तानी दिन्थ्यो त ? दिँदैनथ्यो। चेक नष्ट गराइएकाले भुक्तानी दिन मिल्दैन भन्थ्यो।’
चेक नष्ट गर्न कुनै बैंकले निवेदन लिएर सोबापत शुल्क पनि लिइसकेको अवस्थामा ग्राहकका खातामा मौज्दात रकम नरहे पनि बैंकले चेक फिर्ता हुनुको कारणको मुख्य शीर्षकमा मौज्दात रकम नभएको कारण उल्लेख गर्न नमिल्ने नेपाल राष्ट्र बैंक भैरहवा शाखाका सहायक निर्देशक रमेश न्यौपाने बताउँछन्।
उनले पनि उक्त अवस्थामा बैंकले मुख्य कारणको शीर्षकमै चेक हराएको-चेक नष्ट गरिएको कारण उल्लेख गर्नुपर्ने बताए।
उता बैंकले चेक नष्ट गर्नका लागि शुल्क लिइसकेको छ भने यता चेक फिर्ताको शुल्कका नाममा तीनवटा चेकको दुई सय ५० रुपैयाँको दरले सात सय ५० रुपैयाँ यसुदाको खाताबाट काटिएको छ।
यता प्रहरीले पनि मुद्दाको पूर्वाग्राही ढंगले अनुसन्धान गरेको पाइएको छ। हराएको चेक नष्ट भइसके पनि सोही चेकका आधारमा मुद्दा दायर गरी प्रक्रिया अघि बढाएको प्रहरीले मुद्दाको मुख्य हराएको चेक नष्ट गरिएको विषयतर्फ खासै अनुसन्धानै नगरेको पाइएको छ। बैंकका साथसाथै जिल्ला प्रहरी कार्यालय रूपन्देहीका तत्कालीन अनुसन्धान अधिकृत एवं प्रहरी निरीक्षक कृष्ण राना मगरले पनि मुद्दाको पूर्वाग्राही ढंगले अनुसन्धान गर्दा परिवार विस्थापित हुन पुगेको छ।
बैंकिङ कसुर मुद्दाको अनुसन्धानका क्रममा प्रहरीले नेपाल राष्ट्र बैंकसँग समेत कुनै परामर्श र सल्लाह नगरेको पाइएको छ।
यसुदाले आफूले चेक काटी नदिएको भनी इन्कारी बयान दिँदा प्रहरीले चेकमा उल्लिखित हस्ताक्षर, अंक र दस्तखतको वैज्ञानिक-प्राविधिक परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाउनुपर्ने भए पनि नपठाएको पाइएको छ। प्रहरीले उक्त विवादित देखिएको दस्तखत परीक्षणका लागि बैंकलाई नै पत्राचार गरेको पत्र अन्नपूर्णलाई प्राप्त भएको छ।
अनुसन्धान अधिकृत मगरको दस्तखत जिल्ला प्रहरी कार्यालय रूपन्देहीको अपराध अनुसन्धान तथा कारबाही शाखाले ०७६ वैशाख ३ पत्र संख्या नम्बर ०७५-०७६ को चलानी नम्बर ६०७४ बाट एसबीआई बैंक भैरहवा शाखालाई पठाएको पत्रमा भनिएको छ, ‘…उक्त चेकमा भएको दस्तखत यसुदा भट्टराईले त्यहाँ बैंकमा खाता खोल्दा पेस गरेको दस्तखतसँग आपसमा मेल खान्छ-खाँदैन ? सो कुरा खुलाई उक्त चेकहरू यस कार्यालयमा पठाइदिनुहुन…।’
मुद्दा अनुसन्धानमा अनुसन्धान अधिकृतले पूर्वाग्रही ढंगले प्रयोगशालामा नपठाई बैंकलाई परीक्षण गर्न लगाउनु र बैंकको कर्मचारीले पनि दस्तखत विज्ञबाट परीक्षण गरी प्रहरीलाई पत्र पठाएको छ। एसबीआई बैंकले ०७६ वैशाख १० गते पत्र संख्या एनएसबीएल-बीएचडब्लू-२०७५–०७६-३९० नम्बरबाट प्रहरीलाई पठाएको पत्रमा भनिएको छ, ‘…दस्तखत नमुना मेल खाएको व्यहोरा अवगत गराउँछौं।’
मुद्दा अनुसन्धान गर्न प्रहरीले दस्तखत परीक्षणका लागि सम्बन्धित बैंकलाई पठाउन मिल्दैन’ नेपाल राष्ट्र बैंक भैरहवा शाखाका सहायक निर्देशक रमेश न्यौपानेले अन्नपूर्ण पोस्ट्सँग भने, प्रहरी अनुसन्धानका लागि दस्तखत परीक्षण गर्न राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मात्र पठाउनुपर्ने हुन्छ। दस्तखत परीक्षणको सम्बन्धित बैंक आधिकारिक निकाय होइन।’
प्रहरीले सोही दस्तखत परीक्षणको बैंकको पत्रलाई आधार बनाएर मुद्दाको मिसिलमा समेटेको छ। जबकि एसबीआईको बैंक भैरहवा शाखामा दस्तखत परीक्षण गर्ने कुनै पनि विज्ञ नियुक्त छैनन्। भए पनि बैंकले परीक्षण गरेको दस्तखत कानुनतः मान्य नहुने रूपन्देही बार एसोसिएसनका अध्यक्ष नरसिंह चौधरी बताउँछन्।
प्रहरी, अदालतलगायतले विवादित देखिने दस्तखतको परीक्षण गर्न राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा नमुना पठाउँदै आएको छ। गत आव ०७५-०७६ मा मुलुकभरिबाट विवादित दस्तखत परीक्षणका लागि ७२ वटा मुद्दा प्रयोगशालाको विवादित प्रलेख एकाइमा आएको प्रयोगशालाको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ। तर तत्कालीन अनुसन्धान अधिकृत मगर र उच्च अदालतले यस मुद्दामा विवादित देखिएको दस्तखत परीक्षणका लागि प्रयोगशालामा नपठाएको फैसलाको ठहर खण्डबाट पुष्टि हुन्छ।
उच्च अदालत तुलसीपुर बुटवलको न्यायाधीशद्वय रमेशकुमार खत्री र गोकर्ण डाँगीको संयुक्त वाणिज्य इजलासले ०७६ वैशाख ९ गते चेकबुक हराएको र चेकमा दस्तखत आफ्नो होइन भन्ने यसुदाको बयानलाई मुख्य आधार मान्दै मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा ७९ बमोजिम ५ लाख धरौटीमा छाड्न आदेश गरेको थियो।
यसुदाले धरौटी बुझाउन नसक्दा तत्कालका लागि थुनामा परेकी थिइन्। पक्राउ परेको चार महिनापछि साउन १४ गते उनी धरौटी बुझाएर थुनामुक्त भएकी थिइन्।
जाहेरीकर्ताहरू पाठक, सञ्चालक ज्ञवाली र उपाध्यायले तीन पटकसम्म बैंकमा जाँदा यसुदाको खातामा पर्याप्त रकम छैन भनी बैंकले चेक बाउन्स गरी दिएको अदालतमा बकपत्र गरेका छन्। सरकारको तर्फबाट उच्च सरकारी वकिल कार्यालय बुटवलका शाखा अधिकृत विमल पन्थीले चेक फिर्ता हुनुको कारणमा खातामा पर्याप्त मौज्दात नभएको भन्ने बैंकको जवाफलाई नै मुख्य आधार मानेर अभियोगबमोजिमको माग दाबी गरेका थिए।
आफूसँग वकिललाई दिने शुल्क नभएकाले फैसला हुने दिन बहसमा आफ्नो तर्फबाट वकिल राख्न नसकेको यसुदाले बताइन्।
न्यायाधीशद्वय खत्री र डाँगीले चेकबुक हराएको र दस्तखतको इन्कारी बयानलाई मुख्य आधार मानेर धरौटीको आदेश गरे पनि उच्च अदालतका अर्का न्यायाधीशद्वय केशवराज जोशी र अच्युतप्रसाद भण्डारीको संयुक्त वाणिज्य इजलासले फैसला गर्दा भने चेक हराएर नष्ट गराइएको विषय, बैंकले चेक नष्ट गरेपश्चात् दिनुपर्ने मुख्य कारणलाई पूर्णरूपमा नजरअन्दाज गर्दै फैसला गर्यो। साथै इजलासले फैसलामा बैंकले नै गरेको दस्तखत परीक्षणलाई आधार मानेको छ।
०७६ पुस १६ गते न्यायाधीशद्वय जोशी र भण्डारीको संयुक्त इजलासले कसुरको ठहर खण्डको रूपमा बैंकले खातामा पर्याप्त मौज्दात नभएको दिएको कारण, बैंकले परीक्षण गरेको दस्तखत र खातामा पर्याप्त रकम नभएको जानकारी हुदाँहुँदै पनि चेक हस्ताक्षर गरेर दिएको पुष्टि हुन आएको भन्दै कसुर ठहरिने फैसला गर्यो।
इजलासले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) बमोजिम कसुरको दफा १५ (१) अनुसार दस दिन कैद सजाय, ३१ लाख २५ हजार जरिमाना, ३१ लाख २५ हजार रुपैयाँ बिगो साथै अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम क्षतिपूर्तिबापत जरिमानाको चार प्रतिशत एक लाख २५ हजार रुपैयाँसमेत बुझाउने फैसला गरेको छ।
बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को परिच्छेद दुई दफा ३(ग) मा ‘आफ्नो खातामा मौज्दात रकम नभएको जानीजानी चेक काटी दिन’ उल्लेख छ।
‘दुई वर्ष काम गरेकी छोरीलाई नराम्री फसाए’ आँसु पुछ्दै यसुदाकी आमा शान्ति भट्टराई भन्छिन्, ‘न्यायालयले न्याय गर्ला भन्ने आशा थियो तर उसैले नै नखाएको विष खुवायो। अब न्याय खोज्न कहाँ जाऊँ ? ’
आफूहरूसँग मुद्दाको पुनरावेदन गर्न रकमसमेत नरहेकाले केही गर्न नसक्ने अवस्था रहेको उनले पीडा पोखिन्।
यसुदाले आफूमाथि दुवै मुद्दा दायर गराउने व्यक्तिहरूले योजनाबद्ध रूपमा आफ्नो साथीमार्फत आमाउपर पनि ०७६ वैशाख १७ गते बैंकिङ कसुर मुद्दा दायर गराएको दाबी गरिन्। आमाउपर मुद्दा दायर गर्ने व्यक्ति सिद्धार्थनगर नगरपालिका ३ का ३४ वर्षीय हरिनारायण चापागाईं हुन्। यी तीनै व्यक्ति हुन्, जब यसुदालाई ठगी मुद्दामा पक्राउ गर्ने क्रममा पक्राउ मुचुल्काको साक्षीमा बसेका थिए। चापागाईंले दिएको जाहेरीमा घरायसी कारोबार मिलाउनका निम्ति ९ लाख ९० हजार रुपैयाँको शान्तिले लिएको उल्लेख छ। उनले पनि उक्त रकम शान्तिलाई दिएको प्रमाणस्वरूप कुनै कागज प्रमाण उपलब्ध गराएका छैनन्। शान्तिका नामबाट जारी एनआईसी एसिया बैंकको चेक भुक्तानीका लागि जाँदा खातामा पर्याप्त मौज्दात नभएको बैंकले दिएको बाउन्स रिपोर्टका आधारमा उनले मुद्दा दर्ता गराएका हुन्।
यसुदाले ठगी मुद्दामा आफूलाई प्रहरीले पक्राउ गरेर ल्याउने क्रममा सटही काउन्टरमा छुटेको ब्यागमा आफ्नो चेकहरूसँगै आमाको चेक पनि रहेकाले त्यहींबाट सबै हराएको दाबी गरिन्।
आपूmमाथि लागेको मुद्दा पनि ठहर भए छोरी र आफू दुवै जेल जानेबाहेक कुनै उपाय नरहेको आमा शान्ति बताउँछिन्। ‘हामी गरिबलाई नराम्री फसाइयो’, आँसु पुछ्दै उनले भनिन्, ‘हाम्रो नाउँमा निर्दाेष सरकारी वकिललाई पनि फसाए, छोरीको घटनामा सम्बन्धित निकायहरूले सही काम नगर्दा हाम्रो जीवन नै बर्बाद भयो।’
बैंकिङ कसुर मुद्दाको घटनामा एसबीआईको भैरहवा शाखाले केन्द्रमा र केन्द्रले शाखामा सम्पर्क गर्न भन्दै प्रतिक्रिया दिन चाहेनन्। यता सञ्चालक ज्ञवाली, पाठक र उपाध्यायले यसुदाले आफूहरूसँग रकम लिएको र माग्दा नदिएपछि कानुनी प्रक्रियामा गएको बताए।