शेर्पा समुदायले विविध कार्यक्रम आयोजना गरी मनाउँदै
वीरगंज संजाल
१२ फाल्गुन २०७६, सोमबार १२:१६
४६२७
काठमाडौं | हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ ।
नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१ सय ४७ औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पोे ल्होसारलाई विभाजन गरिएको छ । आज बराह वर्ष पूरा भई आजदेखि मुसा वर्ष सुरु भएको छ ।
ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरूपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो ।
विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाउँछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्बो ल्होसार पर्वको अवसरमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना दिनुभएको छ । nepalpostdaily