दोषीलाई कारवाहीको मांग गर्दै नेपाली कांग्रेस बाराद्वारा प्रदर्शन
वीरगंज संजाल
११ फाल्गुन २०७६, आईतवार २२:२४
५५८३
बारा I नेपाली कांग्रेस बाराले दोषीलाई कारवाहीको मांग गर्दै र्यालि प्रदर्शन गरेको छ । नेपाली कांग्रेस विपि स्मृति भवन कलैयाबाट निस्केको र्यालि ले कलैया बजार हुंदै जिल्ला प्रहरी कार्यालय बारा अगाडी पुगी प्रदर्शन गरेको थियो । प्रर्दशनका सहभागीहरुले दोषीलाई कारवाही गर, साईबर अपराध गर्नेलाई कानुनी कारवाही गर, बरियारपुर घटनाको निष्पक्ष छानबिनको मांग गर्दै प्रदर्शन गरेका थिए ।
बाराका सभापति जयचन्द्र चौरसियाको नेतृत्वमा निस्केको र्यालि प्रदर्शनमा उपसभापति सुरेन्द्र गुप्ता, सचिवद्वय मनोज भट्ट, हरेन्द्र यादव, कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव, महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादव, उपप्रमुख तारादेवी कानु, नेपाली कांग्रेसका नेता राजेश यादव, रामप्रवेश यादव, भैयाराम यादव, नेपाल तरुण दल बाराका अध्यक्ष लुकेश सिंह, नेविसंघका नेता राकेश पाण्डेय, नेजामुद्दिन अंसारी लगायत सयौको संख्यामा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
घटनाको दोषीलाई राजनिति रुप दिएर बारा प्रहरीले बचाउ गर्न खोजेपछि र्यालि प्रदर्शन गरिएको र घटनाको निष्पक्ष छानबिन नगरीए चरणबद्ध आन्दोलनमा उत्रिने नेपाली कांग्रेस बाराका कोषाध्यक्ष चन्द्रशेखर यादवले बताए । प्रदर्शन पछि सभापति चौरसियाको टोलीले बाराका प्रहरी उपरिक्षक कृष्ण पंगेनीसंग भेटघाट गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न मांग गरेका थिए ।