जनकपुरधाम | प्रदेश २ मा ३४ सय किलोमिटर सडक निर्माणको योजना प्रदेश सरकारले बनाएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रादेशिक सडक सञ्जाल गुरुयोजना तथा प्राथमिकतामा आधारित लगानी योजनासमेत तयार गरेको छ।
मन्त्रालयद्धारा आर्थिक वर्ष २०७५/७६ मा सम्पादन गरिएका कामको संक्षिप्त विवरणमा आधारित वार्षिक प्रगति पुस्तक सार्वजनिक गर्दै भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले सडक मुख्य प्राथमिकतामा रहेको बताए। सडक सम्वृद्धिले आर्थिक सबलीकरणमा टेवा पुग्ने हुनाले ग्राहयता दिइएको उनले बताए। गत आर्थिक वर्षमा प्रदेशभित्र ११०३ किलोमिटर सडकमा काम गरिएको छ। जसमध्ये ३७५ किलोमिटर पक्की र ग्राभेल भएका छन् भने ७२७ किलोमिटर मर्मत र कच्ची सडक निर्माण गरिएको छ।
प्रदेश सरकारले सदनबाट ‘प्रादेशिक सडक ऐन’ पास गरिसकेको छ। जसमा प्रदेश लोकमार्ग, प्रदेश सहायक मार्ग र अन्य गरी तीन किसिमले सडकलाई बाँडिएको छ। प्रादेशिक लोकमार्ग एक हजार चार सय ९७ किलोमिटर, सहायक लोकमार्ग एक हजार दुई सय ६१ किलोमिटर र प्रादेशिक अन्य सडक ६ सय ३४ गरी जम्मा तीन हजार चार सय किलोमिटर सडक निर्माण गरिने योजना रहेको सोनलले बताए।
योजना अनुरूपका सडकहरू निर्माणका लागि चाहिने लगानीको प्रारम्भिक अनुमानअनुसार तीन चरणमा १५ वर्षको योजना बनाएर काम गर्दा ८३ अर्ब १६ करोड खर्च लाग्ने छ। हाल उपलब्ध तथ्यांकको आधारमा प्रति १५.७ किमी सडकका लागि एउटा पुल छ। पुल निर्माणको लागत प्रतिमिटर १३ लाख ५० हजार हुन्छ। यस्तोमा पहिचान भएका तीन हजार चार सय किमी सडकका लागि दुई सय १६ पुल आवश्यक हुन्छ। ती पुलहरूको लागत १० अर्ब ५६ करोड हुन जान्छ।
सडक मर्मत सम्भारका लागि तीन अर्ब ७२ करोड हुन जान्छ। कूल लगानी ९७ अर्ब ४१ करोड हुन जाने अनुमान गरिएको मन्त्रीको भनाइ छ। ‘प्रदेश सरकारसँग विभिन्न स्रोतबाट सडक तथा पुलका लागि प्राप्त बजेट यस आर्थिक वर्षमा एक अर्ब ४२ करोड मात्रै छ’, उनले भने, ‘बजेटमा वार्षिक दुई प्रतिशतले वृद्धि हुने हो भने १५ वर्षमा जम्मा २४ अर्ब ५२ करोड पुग्छ। करिब ७२ अर्ब ८९ करोड नपुग हुन्छ।’ प्रदेश सरकारले यस नपुग रकमको लागि आवश्यक पहलकदमी गर्ने उनले बताए।