कोरोनाका बारेमा अफवाह नफैलाउन डब्लूएचओको चेतावनी : अहिलेसम्म ज्यान गुमाउनेको संख्या ८ सय ३ पुग्यो
वीरगंज संजाल
२६ माघ २०७६, आईतवार ०६:४३
३७५९
विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले कोरोना भाइरसका बारेमा अफवाह नफैलाउन चेतावनी दिएको छ ।डब्लुएचओ का महानिर्देशक डाक्टर टेड्रोस अडानोम गेबेरियससले ट्रोल र षडयन्त्रले कारण कोरोना भाइरसविरुद्ध लडिरहेकाहरुलाई कमजोर बनाउने भन्दै त्यसो नगर्न चेतावनी दिएको बीबीसीले जनाएको छ ।सही जानकारीबाट मात्र व्यक्ति आफू र अरुको सुरक्षा गर्ने भन्दै महानिर्देशक गेबेरियससले आफूहरु कोरोना भाइरस मात्र नभइ ट्रोल र षडयन्त्रका विरुद्धमा पनि लड्नुपरेको बताउनुभयो ।
उपचारमा संलग्न डाक्टरहरुको तस्विरलाई लिएर ट्रोल बनाउने, कोरोनाको उत्पती र असरबारेमा भ्रमण फैलाउने, संक्रमण र मृत्युबारेमा अनर्गल प्रचार गर्ने लगाएतका क्रियाकलाप बढेपछि डब्लुएचओको यस्तो प्रतिक्रिया आएको हो । चिनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण चीनमा मात्र ८ सय ३ जनाको ज्यान गइसकेको छ । अहिलेसम्म १५४० जना कोरोना संक्रमितहरु उपचारपछि घर फर्किएका बीबीसीले जनाएको छ । कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या सन् २००३ मा फैलिएको सार्सको कारण ज्यान गुमाउनेको संख्याभन्दा धेरै भएको छ । सार्सका कारण ७७४ जनाले ज्यान गुमाएका थिए ।