जनकपुरधाम । प्रदेश २ का प्रदेश सांसदले अब ल्यापटप पाउने भएका छन् । प्रदेशसभालाई ‘पेपरलेस’ बनाउने उद्देश्यले प्रदेशसभा सचिवालयले सबै सांसदलाई ल्यापटप प्रदान गर्ने भएको हो ।
ल्यापटप आइसकेको र केही दिनभित्रै सबैलाई वितरण गरिने सभामुख सरोजकुमार यादवले जानकारी दिए ।प्रदेशसभालाई ‘पेपरलेस’ बनाउन र सरकारको खर्च जोगाउन सबै सांसदलाई ल्यापटप दिन लागिएको उनले बताए । ‘एउटा विधेयक कितावजस्तो हुन्छ ।
कम्तीमा १५० प्रति फोटोकाँपी गर्नुपर्छ,’ सभामुख यादवले अनलाइनखबरसँग भने, ‘कागज, मसी र पि्रन्टर गरी वर्षको ५ करोड त्यसमै खर्च भइरहेको अवस्था छ । त्यो खर्चलाई रोक्न पनि ल्यापटप दिन लागेका छौं ।’
सभामुख यादवका अनुसार अब सरकारको खर्चको बचत हुने र सबै सांसदले विधेयकमाथि लागेको कुरादेखि संशोधनसम्म ल्यापटपमै लेखेर सिधै इमेल गर्नेछन् ।
कुनै पनि विधेयक कागजी रुपमा अध्ययन गर्दै आएका प्रदेश २ का सांसदले अब ल्यापटपमै अध्ययन गर्ने भएका छन् ।कागज, मसीको खर्चका साथै समयको बचत पनि गर्ने उद्देश्यले ल्यापटप वितरण गर्न लागिएको उनले बताए । स्वकीय सचिवले चलाउन सिकाउने प्रदेश २ मा १०७ जना सांसद छन् ।
तीमध्ये धेरैलाई ल्यापटप चलाउन आउँदैन् । यद्यपि सभामुख यादवले चलाउन नआउनेलाई उनीहरुको स्वकीय सचिवले सिकाउने बताएका छन् ।
‘सबै जना माननीयलाई अधिकृतस्तरको स्वकीय सचिव दिइएको छ । उनीहरुको काम के ?’ सभामुख यादवले भने, ‘उनीहरुले सहयोग गरिदिनुपर्यो ।
’ सभामुख यादवले एक वर्षअघि नै यस्तो गर्न खोजिए पनि विविध कारणले नसकेको बताउँदै प्रदेशसभा दोस्रो वर्ष पूरा गरेको अवसरमा सबै सांसदलाई ल्यापटप दिइने बताए ।