वीरगन्ज । लालबाबु सिंह । वीरगन्ज लेडिज सर्कल ३ ले आफ्नो स्थापना दिवसको अवसरमा नारायणी अस्पतालमा फलफुल वितरण गरेको छ । अस्पतालमा उपचार गराइरहेका बिरामीका कुरुवालाई ५५ किलो आँप र ३ सय वटा केरा वितरण गरिएको हो ।
फलफुल वितरण कार्यक्रम क्लबकी अध्यक्ष नन्दनी अग्रवालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा उपाध्यक्ष निधि जाटिया, सचिव श्रेया रुङटा, कोषाध्यक्ष नेहा अग्रवाल, पूर्वअध्यक्ष खुशबु सिंघानिया लगायत सदस्यहरूको उपस्थिति रहेको थियो ।
अध्यक्ष नन्दनी अग्रवालले “सेवा नै धर्म हो” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै लेडिज सर्कलले दिनदुःखी र असहायको सेवामा निरन्तर लागिरहेको बताउनुभयो । महिलाहरूको समस्याको समाधान, उत्थान र आत्मनिर्भर बनाउने अभियानसँगै आगामी दिनमा पनि सामाजिक सेवाका विविध कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
लेडिज सर्कलको स्थापना दिवस देशभर विभिन्न सेवामूलक कार्यक्रम गरेर मनाइने प्रचलनअनुसार नारायणी अस्पतालका बिरामी कुरुवालाई फलफुल वितरण गरिएको हो ।