वीरगन्ज । लालबाबु सिंह । उपकार सेवा नेपालले वीरगन्ज महानगरपालिका–२ छपकैया तुतबारी निवासी शेख आलमलाई व्हिलचेयर सहयोग गरेको छ ।
७२ वर्षीय आलम केही वर्षअघि बन्दुकको गोली लागेर शारीरिक रूपमा कमजोर भएका थिए । अहिले उनी पूर्णरूपले अपाङ्ग भइसकेका छन् । आर्थिक अवस्था समेत कमजोर बनेपछि दैनिक जीवन कष्टकर भइरहेको भन्दै उपकार सेवा नेपालले उनलाई व्हिलचेयर उपलब्ध गराएको हो ।
“दिन दुखी, असहायको सेवा र सहयोग नै सर्वोत्तम धर्म हो,” उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगीले हस्तान्तरण कार्यक्रममा बताउनुभयो ।
व्हिलचेयर उनको घरमै पुगी एक कार्यक्रमबीच हस्तान्तरण गरिएको थियो । कार्यक्रममा संस्थाका सुमन बगेडिया, सामाजिक अभियन्ता प्रकाश थारू, कपडा बैंकका अध्यक्ष लालबाबु सिंहसहित स्थानीय भद्रभलाद्मीहरूको उपस्थिति थियो ।