काठमाडौं । पतञ्जली जग्गा प्रकरणमा विशेष अदालतमा आज ९शुक्रबार० चार जना प्रतिवादीहरूको बयान सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध दायर गरेको मुद्दाकै सन्दर्भमा उनीहरूको बयान लिन सुरु गरिएको हो ।
विशेष अदालतका न्यायाधीशद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासमा बयान लिइएको छ । बयान दिनेहरूमा भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव स्वर्गीय माधवप्रसाद घिमिरेकी पत्नी कमला घिमिरे, मालपोत कार्यालय काभ्रेका तत्कालीन नायब सुब्बा रामकाजी श्रेष्ठ, केदारनाथ भट्टराई र खरिदार मोनराम शर्मा रहेका छन् ।
यी चार जनाले आज विशेष अदालतमा उपस्थित हुने सूचना दिएका थिए, सोही अनुसार बयान सुरु भएको हो । बयान सकिएपछि उनीहरूको सम्बन्धमा थुनछेक बहस हुनेछ । बहसपछि अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने निर्णय लिनेछ । यो प्रकरण अख्तियारले दर्ता गरेको ठूलो भ्रष्टाचार मुद्दा मध्ये एक हो, जसमा विभिन्न तहका सरकारी अधिकारीहरू र अन्य व्यक्तिहरूलाई प्रतिवादी बनाइएको छ ।