वीरगन्ज | भारतले सम्झौताअनुसारको परिमाणमा पानी नदिएपछि पर्सा, बारा र रौतहटका किसानलाई धान रोपाइँमा समस्या भएको छ । बीउ तयार रहे पनि नहरमा पानी नआउँदा रोपाइँमा ढिला भएको छ । विशेष गरी बारा र रौतहटका किसानलाई रोपाइँमा समस्या भएको छ । नेपाल र भारतबीचको गण्डक सम्झौताअनुसार, नहरमा भारतीय पक्षले ८ सय ५० क्युसेक पानी दिनुपर्नेमा हाल औसतमा ५ सय ५० क्युसेक मात्र पानी दिएको छ । नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जका प्रमुख मनोजकुमार पटेलले, यस वर्ष भारतीय पक्षले निर्धारित समयमै पानी दिए पनि किसानलाई चाहिएका बेला भने कम पानी दिएको बताए । ‘सम्झौताअनुसार सुरुदेखि नै भारतले ८ सय ५० क्युसेक पानी दिनुपथ्र्यो,’ उनले भने, ‘तर यस वर्ष असार १३ गतेदेखि ५ सय ५० क्युसेक र असार १९ गतेदेखि २३ गतेसम्म सम्झौताअनुरूपकै ८ सय ५० क्युसेक पानी दिएको थियो ।’ असार २४ गतेदेखि भने सम्झौतालाई उल्लङ्घन गर्दै पुनः औसतमा ५ सय ५० क्युसेक मात्र पानी भारतले दिएको उनले बताए ।
कार्यालयका सूचना अधिकारी एवं इञ्जिनियर सुरेश साहका अनुसार सम्झौताभन्दा कम पानी दिएको विषयमा भारतीय दोन शाखा नहर प्रमुख महेन्द्र चौधरीलाई टेलिफोनमार्फत औपचारिक रूपमा जानकारी गराएर सम्झौताको इमानदारीपूर्वक पालना गर्न आग्रह गरिएको छ । ‘हामीले भारतीय पक्षलाई सम्झौताको इमानदारीपूर्वक कार्यान्वयन गर्न आग्रह गरिसकेका छौँ,’ उनले भने, ‘नहरमा पानी कम हुँदा नहर प्रणालीमा आश्रित विशेष गरी बारा र रौतहटका किसानको रोपाइँमा ढिला भइरहेको छ ।’ बिहीबार नहरको ८ नम्बर ब्लक अर्थात् बाराको पसाहा खोला क्षेत्रसम्म मात्र पानी पुग्न सकेको साह बताउँछन् । बिहीबार नै कार्यालयको सम्पूर्ण प्राविधिक टोली स्थलगत रूपमा नहरको शून्य आरडी (पर्साको जगरनाथपुर) देखि पुछारमा रौतहटको बागमती खोला क्षेत्रसम्म निरीक्षण गरेर नहरमा पानी प्रवाह सम्भव भएसम्म पूर्ण रूपमा गर्न लागिपरेको उनले बताए । भारतसँगको गण्डक सम्झौता अनुसार, नेपालतर्फको गण्डक नहरमा भारतले बर्षेनी धान बालीका लागि असार १५ गतेदेखि र गहुँ बालीका लागि पुस १० गतेदेखि ८ सय ५० क्युसेक पानी पक्षले दिनुपर्छ । नवलपरासीको भैंसालोटनस्थित नेपाल–भारत सीमामा निर्मित ब्यारेजबाट भारतीय पक्षले नेपालतर्फको गण्डक नहरमा पानी छोड्ने गर्छ । भारतमै ९२ किलोमिटर यात्रा गरेर यो नहर पर्साको जगरनाथपुर गाउँपालिकाको जानकीटोलाबाट नेपालमा प्रवेश गर्छ । पर्सा, बारा र रौतहट गरी १५ ब्लकमा विभाजित गण्डक नहरको लम्बाइ नेपालतर्फ ८१ किलोमिटर रहेको छ ।
गण्डक ब्यारेजको निर्माण भारतले आफैं गरेको र सञ्चालन पनि भारतीय पक्षले आफैं गर्छ । उसले ब्यारेजबाट नेपालभन्दा भारतीय भूमिमा बढी पानी लग्ने गरी नहरको संरचना निर्माण गरेको छ । सन् १९७५ र ७६ मा दुई चरणमा भारत सरकारले नेपाल सरकारलाई गण्डक नहर हस्तान्तरण गरेको हो । गण्डक नहरबाट पर्सा, बारा र रौतहट गरी तीनवटा जिल्लामा ३७ हजार ४ सय हेक्टर जमिन सिँचाइ गर्ने लक्ष्य भएपनि बर्र्षेनि कुनै न कुनै समस्या देखाएर भारतले नेपाललाई सम्झौताअनुरूपको ८ सय ५० क्युसेक पानी दिएको छैन । किसान हकहित संघर्ष समिति, पर्साका सचिव पृथ्वी साह कानुका अनुसार मधेस प्रदेशमै वर्षा हुन नसकेको अवस्थामा गण्डक नहरले थोरै भए पनि तीनवटै जिल्लाका किसानलाई राहत हुने गरेको छ । तर यस वर्ष फेरि नहरमै पानी कम भएकाले नहर प्रणालीमा आश्रित किसानलाई रोपाइँमा समस्या भएको उनि बताउँछन् ।