काठमाडौँ । दीपक थापा नाम गरेका एक नेपाली युवा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
भारतीय प्रहरीले उनलाई फर्जी दस्तावेजका आधारमा भारतको मतदाता नामावलीमा नाम लेखाएको र भारतीय राहदानी लिएको आरोपमा छानबिनका लागि नियन्त्रणमा लिइएको जनाएको छ ।
सोधपुछका क्रममा दीपकले आफूलाई मध्यप्रदेशको जबलपुर निवासी बताएको प्रहरीको भनाइ छ । यद्यपि उनका साथबाट बरामद गरिएका कुनै पनि दस्तावेजले उनी भारतीय रहेको पुष्टि हुन नसकेको बताइएको छ ।
दीपकले सन् २०१९ मा भारतको मतदाता नामावलीमा आफ्नो नाम लेखाएको भारतीय प्रहरीको भनाइ छ । उनले केन्ट विधानसभा क्रमाङ्क ९९ को मतदाता सूचीमा नाम लेखाएको र सोही आधारमा भारतीय राहदानी लिएको प्रहरीको दाबी छ ।
उनी नेपालको कुन ठाउँ निवासी हुन् भन्नेबारे भारतीय प्रहरीले खुलाएको छैन । भारतकै निर्वाचन आयोगको निर्देशनमा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।