पर्सा । पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिकाले आफ्नो १५ औँ गाउँसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८२/८३ का लागि ४१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाका अध्यक्षले गाउँसभा समक्ष आगामी वर्षका योजना र प्राथमिकता सार्वजनिक गर्दै आर्थिक, सामाजिक र पूर्वाधार विकासमा बजेट केन्द्रित गरिएको जानकारी दिएका छन्।
गाउँसभामा प्रस्तुत गरिएको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, सडक तथा खानेपानीलगायतका क्षेत्रहरूमा विशेष प्राथमिकता दिइएको छ। कुल बजेटमध्ये सर्वाधिक रकम पूर्वाधार विकासका योजनाहरूमा विनियोजन गरिएको छ। गाउँपालिकाले आगामी वर्षलाई “स्थानीय उत्पादन, रोजगारी र पूर्वाधार विकासको आधार वर्ष”को रूपमा घोषणा गरेको छ।
गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, जनप्रतिनिधि, स्थानीयवासी, शिक्षक, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको गाउँसभा शान्तिपूर्ण र सकारात्मक वातावरणमा सम्पन्न भएको थियो।
अध्यक्षले बजेट कार्यान्वयनमा पारदर्शिता, जवाफदेहिता र जनसहभागिता सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। गाउँपालिकाले जनतासँग सल्लाह लिएर स्थानीय आवश्यकताअनुसार योजना निर्माण र कार्यान्वयनमा ध्यान दिने जनाएको छ।
यस आर्थिक वर्षमा गाउँपालिकाले शिक्षा र स्वास्थ्यको पहुँच बढाउँदै कृषिमा आत्मनिर्भरता ल्याउने र युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने उल्लेखनीय योजना प्रस्तुत गरेको छ।