काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले अवरोध र विरोधको बेवास्ता गर्दै संसद् बैठक सञ्चालन गर्नु दुःखद भएको बताएका छन् । बिहीबार (असार ५) प्रतिनिधिसभा बैठकमा विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उनले समस्या समाधानतर्फ नेतृत्वको चिन्ता र चासो नहुनु दुःखद भएको बताएका हुन् ।
“संसद्मा उठेको गम्भीर प्रश्नको समाधान नगरी अवरोध र विरोधका बीचमा त्यसको बेवास्ता गर्दै सदन चलाउनु दुःखको कुरा हो, यसप्रति दुःख व्यक्त गर्न चाहन्छु,” उनले भने, “समस्याको समाधान गर्न हामी किन सक्दैनौँ ? नेतृत्वको काम भनेको समस्याको समाधान गर्ने हो । समाधान गर्नेतिर हाम्रो चासो र चिन्ता छैन ।” बजेट वार्षिक कार्यक्रम भएको र यसमा सांसदले आफ्नो धारणा राख्न नपाएको भन्दै उनले आपत्ति जनाए । “वार्षिक कार्यक्रम हो, वर्षभरिलाई कार्यान्वयन हुने कार्यक्रममा सांसदहरूले आफ्नो कुरा राख्न नपाउने हो भने के अर्थ छ हाम्रो ? हाम्रो अधिकार किन कटौती गरियो ? यसप्रति मेरो आपत्ति छ, म आपत्ति जनाउन चाहन्छु,” उनले भने ।
उनले मध्यपूर्वमा युद्धको मारमा रहेका नेपालीको सुरक्षा र उद्धारको तयारीबारे सदनमा जानकारी गराउन सरकारलाई आग्रह पनि गरे । “उनीहरूको सुरक्षाका बारेमा सरकारले के गर्छ भन्ने गम्भीर प्रश्न उठेको छ,” उनले भने, “त्यहाँ चालिसौँ लाख नेपाली हुनुहुन्छ, भोलि युद्ध चर्किंदा फिर्ता कसरी ल्याउँछौँ ? सुरक्षा कसरी गर्छौं ? रोजगारी कसरी दिन्छौँ ? खाना कसरी दिन्छौँ ? धेरै गम्भीर विषय छ ।”