वीरगंज | मार्केटिङको नाममा काममा लगाएर बन्धक बनाइएका १२ जना बालबालिकालाई प्रहरीले इटहरीको एक होटलबाट उद्धार गरेको छ। घटनामा संलग्न रहेको र यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ।
प्रहरीका अनुसार, काठमाडौंको चाबहिलमा कार्यालय रहेको ‘वेल्स ग्लोबल इन्टरनेसनल प्रा.लि.’ नामक कम्पनीले टिकटकमा हर्बल सामग्रीको मार्केटिङका लागि विज्ञापन गरेको थियो।
उक्त विज्ञापन हेरेर धनकुटा, सोलुखुम्बु, सिन्धुली, रामेछाप, गोरखा र बाजुरा लगायतका विभिन्न जिल्लाबाट बालबालिकासहित युवाहरू काम गर्न पुगेका थिए। उनीहरूलाई सुरुमा काठमाडौंमा एक महिना काम गराएर पछि इटहरीलाई केन्द्र बनाई काममा लगाइएको थियो।
सिन्धुपाल्चोककी एक २२ वर्षीया युवतीले आफूलाई असार १ देखि २ गतेसम्म शरीर बन्धक बनाएर यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो।
सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय इटहरीको टोलीले इटहरी उपमहानगरपालिका-९ स्थित बसपार्कमा रहेको बन्दना होटलमा छापा मारेको थियो।
प्रहरीले यौन दुर्व्यवहारको आरोपमा कम्पनीका मार्केटिङ् म्यानेजर ओखलढुंगा, खिजीदिम्बा गाउँपालिका-१ का २९ वर्षीय तिलक श्रेष्ठ र सोलुखुम्बु, नेचाकी २२ वर्षीया टीका कट्टेललाई नियन्त्रणमा लिएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी लक्ष्मी भण्डारीका अनुसार, उद्धार गरिएका १२ जनामध्ये अधिकांश बालिका रहेका छन्। तीमध्ये दुई जना पीडितको स्वास्थ्य परीक्षण गरी सुरक्षित स्थानमा राखिएको छ भने अन्य बालबालिकालाई प्रहरीको निगरानीमा सोही होटलमा राखिएको छ।