गैंडाकोट | नवलपुरको गैंडाकोट नगरपालिका अन्तर्गत विजय चोक नजिकै टाटा योद्धा गाडी र स्कुटर एकआपसमा ठोक्किँदा सडक दुर्घटना भएको छ। घटनामा स्कुटर चालक गम्भीर घाइते भएका छन्।
प्रत्यक्षदर्शीका अनुसार टाटा योद्धा (ना.२च ४१३६ नम्बरको) सवारीसाधनले तीव्र गतिमा रहेको स्कुटरसँग ठोक्किँदा दुर्घटना भएको हो। स्कुटर पूर्णरूपमा क्षतिग्रस्त देखिएको छ भने चालक सडकमा घाइते अवस्थामा फेला परेका थिए।
घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेज (सीएमसी) पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ। स्थानीयवासी र प्रहरीको सक्रियतामा तत्काल उद्धार कार्य सम्पन्न गरिएको थियो।
दुर्घटनापछि केही समय सडकमा ट्राफिक अवरोध भए पनि अहिले स्थिति सामान्य बनाइएको प्रहरीले जनाएको छ।