पर्सा ।श्रुति साह। सशस्त्र प्रहरी बल नेपाल, प्र.सी.सु. गुल्म वीरगञ्जबाट खटिएको टोलीले छ लाख नेपाली रुपैयाँसहित एक जना पुरुष र मोटरसाइकल नियन्त्रणमा लिई वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।
मिति २०८२ साल जेठ १४ गते सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ स्थित त्रिभुवन राजपथको वीरगञ्जतर्फ जाने सडक खण्डमा चेकजाँचको क्रममा प्रदेश २–०३–००४ प ५६६४ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त रकम फेला परेको हो। भारतबाट नेपालतर्फ आइरहेको उक्त मोटरसाइकलमा सवार बारा जिल्लाको बिश्रामपुर गाउँपालिका–३ बरैनिया निवासी अन्दाजी ४० वर्षीय पुरुषको शरीर तथा जुत्तामा लुकाएर ल्याइएको स्रोत नखुलेको नेपाली नगद रकम फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
स्रोत नखुलेको उक्त रकमसहित मोटरसाइकल र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलका सूचना अधिकारी, सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिएका छन्।
सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा अवैध रूपमा भित्र्याइने सामान तथा नगद कारोबार रोकथाममा निगरानीलाई अझ सशक्त बनाएको जनाएको छ।