वीरगन्ज । केही सातादेखि यता छिमेकी राष्ट्र चीन हुँदै भारतमा समेत कोरोना बढेपछि नेपाल सरकारले पनि सतर्कता अपनाउन सुरु गरेको छ । विगतका वर्षहरूमा पनि भारतमा कोरोना बढेपछि नेपालमा फैलिएको अनुभवको कारण नेपाल समयमै सतर्क हुनु पर्ने इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रबल झाले बताए । ‘भारतमा बढेको देखेपछि हामीले पनि आफ्ना संयन्त्रणहरु तयारी अवस्थामा राखेका छौ’उनले भने ।
केही दिन अघि स्वास्थ्यमन्त्री प्रदिप पौडेलसँग तयारीको लागि छलफल गरेको र सीमा नाका, हवाई नाकाहरूमा हेल्थ डेस्क राखिसकेको जानकारी दिए । ‘सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई तयारी अवस्थामा रहन भनिसकेका छौ, आवश्यक परेमा परीक्षण कीट तुरुन्तै पठाउने गरी तयारी गरेका छौ’उनले भने । यसको साथै परीक्षण कीट खरिदको लागि मन्त्रालयसँग अनुरोध गरिसकेको झाले जानकारी दिए ।
भारतमा फैलिएको देखिएपछि नेपालको कोरोनाको स्थिति बारेमा पनि हेरिरहेको झाले बताए । नियमित परीक्षण गरिएको तथ्याकं अनुसार पछिल्लो समय ७ जनामा कोरोना पुष्टि भएको छ। ती मध्येमा १ जना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको तथ्याकं हो भने ६ जना छिमेकी जिल्ला काभ्रेका हुन । काभ्रेका सक्रमितहरु भारतीय यात्रामा नदेखिएको हुनाले उनीहरूको स्थानीय कोरोना देखिन्छ ।
‘संक्रमितहरुलाई फोन सम्पर्क गरेर स्थितिको बारेमा जानकारी लिइसकेका छौ, उनीहरु सामान्य अवस्थामा छन्’उनले भने । संक्रमित पुष्टि भएका मध्ये सबै जना नियमित परीक्षणको क्रममा पुष्टि भएका हुन । अहिलेसम्म नेपालमा संक्रमित संख्या ह्वात्तै नबढेको हुनाले जिन सिक्वेन्सिङ नगरिएको निर्देशक झाले बताए । धेरैको संख्यामा पुष्टि भएको खण्डमा जिन सिक्वेन्सिङ गर्ने उनले जानकारी दिए ।
भारतमा देखिएको कोरोना कडा असर नदेखिएको र कडा प्रजातिको नभएको तर यसको असर वृद्धा तथा दीर्घ रोगीमा हुन सक्ने भएकोले सर्तक हनु पर्ने उनको सुझाव छ । डा. झाको अनुसार सबै नागरिकहरूले भिडभाडमा जाँदा पहिलाको जस्तै मास्कको प्रयोग गर्ने, हातको सफाइ राख्ने काम गर्न अनुरोध गरे ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसन्धान शाखाका संयोजक डा. शेर बहादुर पुनले अहिले छिमेकी देशहरूमा देखिएको कोरोनाको असर कडा रुपमा नदेखिएको बताए । तर जोखिम उमेर समूह र दीर्घरोगीहरुलाई असर गर्न सक्ने भएकोले यी समूह सतर्क हुनु पर्ने डा. पुनको सुझाव छ । पुनको अनुसार विश्व स्वास्थ्य सङ्गठनले हाल विभिन्न देशमा देखिएको कोरोनालाई कडा कोरोना नभएको भनाइ सार्वजनिक गरेको हुनाले आत्तिइहाल्न आवश्यक नभएको बताए । ‘जुन स्तरमा हल्ला त्यो अनुसारको कडा भएको देखिँदैन’ उनले भने।