वीरगन्ज । लालबाबु सिंह । सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलले वडा प्रहरी कार्यालय बिर्ताको सहकार्यमा आइतबार साइबर अपराध सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। वीरगन्ज–१६ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, नगवामा आयोजित उक्त कार्यक्रममा कक्षा ८ र ९ मा अध्ययनरत ७६ जना विद्यार्थीलाई साइबर अपराधबारे जानकारी प्रदान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि प्रहरी निरीक्षक निरोज चौलागाईंले वृत्तचित्रमार्फत साइबर अपराध के हुन्, यसका कारण हुने सम्भावित हानि–नोक्सानी, कानुनी सजाय तथा जरिवाना र त्यसबाट कसरी जोगिन सकिन्छ भन्ने विषयमा विस्तृतरूपमा प्रशिक्षण दिएका थिए। उनले विद्यार्थीहरूलाई सचेत रहन, सुरक्षित इन्टरनेट प्रयोग गर्न र कुनै पनि साइबर जोखिमबाट टाढा रहन आग्रहसमेत गरे।
प्रशिक्षणको क्रममा विद्यार्थीहरूले साइबरसम्बन्धी आफ्ना जिज्ञासाहरू राखेका थिए, जसमा निरीक्षक चौलागाईंले सरल भाषामा उत्तर दिँदै उनीहरूलाई सन्तुष्ट पारेका थिए।
कार्यक्रम सामुदायिक प्रहरी कुम्हालटोलका वरिष्ठ उपाध्यक्ष सियाराम नेपालीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामनारायण मिश्र, वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, मुनलाइट स्कुलका निर्देशक श्याम केसी, सामुदायिक प्रहरी कुम्हालटोलका उपाध्यक्ष सन्जु दहाल, सहकोषाध्यक्ष प्रमोद कुशवाहा, सदस्यहरू सावित्री भुमिहार, तारा विष्ट, ज्ञानमाया रायमाझी, सुशिल श्रीवास्तव, प्रहरी हवल्दार कुमार विक, प्रज रेनु यादव, शिक्षक सरिता खड्गीलगायत शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझीले गरेका थिए। प्रशिक्षणले विद्यार्थीहरूलाई साइबर सुरक्षाको महत्व बुझ्न र सजग बन्ने अवसर दिएको सहभागीहरूको प्रतिक्रिया थियो।